कम्बोडियाले मंगलबार सीमापार मोर्टार फायर गरी थाई सैनिकलाई घाइते बनाएको उल्लेख गर्दै थाइल्यान्डले कम्बोडियालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरू बिचको दशकौँ पुरानो सीमा विवाद गत वर्ष धेरै पटक सैन्य झडपमा परिणत भएको थियो भने डिसेम्बरमा भएको लडाइँमा दर्जनौँ मानिसहरूको मृत्यु हुनुका साथै दुवै पक्षका करिब १० लाख विस्थापित भएको जनाइएको छ ।
दुई देशले तीन हप्ताको झडपको अन्त्य गर्दै डिसेम्बर –२७ मा युद्धविराममा सहमती जनाएका थिए । कम्बोडियाको सेनाले थाइल्यान्डको उबोन रत्चथानी प्रान्तमा मोर्टार राउन्ड फायर गरेको आरोप लगाउँदै थाई सेनाले मंगलबार विज्ञप्ति मार्फत कम्बोडियाले युद्धविराम उल्लंघन गरेको जनाएको छ । गोली हानाहानमा एक जना थाई सैनिक घाइते भएको थाई सेनाले जनाएको छ ।
थाई सेनाले कम्बोडियन पक्षले थाई सैन्य एकाईलाई सम्पर्क गरी थाई क्षेत्रमा गोली चलाउने मनसाय नभई कम्बोडियन कर्मचारीहरूको हतियार परिचालन त्रुटिको कारण विस्पोट भएको दाबी गरेको छ । थाई सेनाले भने कम्बोडियन सेनालाई सावधानी अपनाउन चेतावनी दिदै यदि यस्तै घटना दोहोरियमा थाइल्यान्डले बदला लिने जनाएको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मंगलबार कम्बोडियाको प्रेह विहार प्रान्तमा दुई कम्बोडियन सैनिकहरू घाइते भएको र एक जना गम्भीर घाइते भएको बताएका थिए ।
एमराल्ड ट्राएङ्गल भनेर चिनिने सीमा क्षेत्रमा विस्फोट भएको जनाउदै सोचेटाले यो दुवै देश र लाओसको सीमा भएको बताए । गत मे महिनामा, यस क्षेत्रमा थाई सेनासँगको गोली हानाहानमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि सीमा द्वन्द्व पुनः स्थापित भएको थियो ।









प्रतिक्रिया दिनुहोस्