मिसन संवाददाता,कोहलपुर
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाँकेको प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस विवादित बनेको छ । प्रतिनिधिसभातर्फ तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस विवादित बनेको हो । क्षेत्रीय कमिटीले बाँके क्षेत्र नम्बर १ र ३ मा जिल्ला कार्यसमितिलाई एकल उम्मेदवार सिफारिस गरेका थिए ।
बाँके क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य सूर्यप्रसाद ढकाल र क्षेत्र नम्बर ३ मा पुराना नेता दलबहादुर सुनारको नाम एकल सिफारिस गरिएको थियो । क्षेत्र नम्बर १ को उम्मेदवार सिफारिसको विषयमा नरैनापुर गाउँपालिका कमिटीको बहिस्कारका बाबजुद उम्मेदवार सिफारिस गरिएको भन्दै सच्याउन माग गरिएको छ ।
बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट गरिएको सिफारिसप्रति असहमति जनाउँदै उम्मेदवारका आकांक्षी नेताहरूले निर्णय सच्याउन माग गरेका छन् । उक्त क्षेत्रबाट उम्मेदवार हुन इच्छुकहरूले उम्मेदवार छनौट कार्यविधि र अन्तरपार्टी निर्देशनविपरीत निर्णय गरिएको भन्दै उक्त निर्णय सच्याउन माग गरेका हुन् ।
उक्त क्षेत्रका सातजना नेताले सामूहिक रूपमा विज्ञप्ति जारी गर्दै पुस १९ गतेको क्षेत्रीय समन्वय कमिटीको निर्णयमा पुनर्विचार गरिनुपर्ने माग गरेका छन् । उनीहरूले नेकपा एमाले बाँकेका अध्यक्षलाई सम्बोधन गर्दै कार्यविधि र अन्तरपार्टी निर्देशनविपरीत उम्मेदवार छनौट निर्णय बदर गर्न माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय समन्वय कमिटीले आगामी निर्वाचनका लागि एकल सिफारिस गरेको भन्ने सुनिन आएकोले पार्टीको विधिविपरीत अधिकार हनन भएको छ । सरोकारवाला कमिटी, नेतृत्वलाई आवश्यक कारबाही र विधानविपरीत गरिएको उक्त उम्मेदवार सिफारिस गर्ने निर्णय बदर गराइ विधिपूर्वक सिफारिस गर्न व्यवस्था मिलाउन माग गर्दछौँ ।’
निर्णय सच्याउन माग गर्नेहरूमा किस्मतकुमार कक्षपति, चन्द्रबहादुर चौधरी, भक्तबहादुर केसी, अब्दुल करिम खान, लालबहादुर खत्री, पदम धिताल र इन्जिनियर विवेक लामिछाने रहेका छन् । विज्ञप्ति केन्द्रीय अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरू शान्ति ढकाल, मोहम्मद हारुन, आरती पौडेल र बसन्ती अधिकारीलाई बोधार्थ गरिएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष भइसकेका पूर्वजिल्ला अध्यक्ष कक्षपति अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।
क्षेत्र नम्बर ३ मात्रै नभएर क्षेत्र नम्बर १ मा समेत विवाद भएको छ । उक्त निर्णय प्रक्रिया नै नरैनापुर गाउँपालिका कमिटीले नै बहिस्कार गरेको पाइएको छ । नेता सोहनलाल यादवले नेकपा एमाले बाँके क्षेत्र नम्बर १ क्षेत्रीय समन्वय कमिटीको बैठकमा नरैनापुर गाउँपालिकाअन्तर्गत रहेका जिल्ला कमिटीका सदस्य तथा सिंगो गाउँपालिका कमिटी बैठकमा उपस्थित नै नभएको र बहिस्कार गरेको बताए । उनले एकल सिफारिस गरिएको भनेर प्रचारप्रसार गरिएको विषयमा गाउँपालिका कमिटीले नै बहिस्कार गरेकाले यसको जवाफ जिल्ला कमिटीले दिनुपर्ने उल्लेख गरेका छन् ।
क्षेत्र नम्बर १ र ३ मा देखिएको विवाद सामान्य भएको जिल्ला अध्यक्ष निरक गुरुङले बताए । उनले असन्तुष्टि जनाएका नेतापहरूसँग छलफल भएको र विवाद समाधान भएको बताए । ‘केही साथीहरूले चित्त दुखाउनु भएको थियो । बोलाएर सम्झाई बुझाई गरेर पठाइयो । विवाद समाधान भइसक्यो,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । यस्तै क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेका नामहरू जिल्लाबाट अनुमोदन गरेर प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई बुझाइएको नेकपा एमाले बाँकेले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्