सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल



सुदूरपश्चिम ।

सुदूरपश्चिम प्रदेश सरकारद्वारा तयार पारिएको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि धनगढीमा व्यापक छलफल गरिएको छ । प्रदेशको दीर्घकालीन विकासका लागि ठोस आधार निर्माण गर्ने, भावी नीतिहरूलाई दिशानिर्देश गर्ने र समावेशी तथा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश सरकारको नेतृत्वमा आगामी पाँच वर्षमा अपनाइने नीति, कार्यक्रम र रणनीतिहरूलाई स्पष्ट र परिणाममुखी बनाउने उद्देश्यसहित आयोजना गरिएको छलफल कार्यक्रममा प्रदेशका उच्च पदस्थ अधिकारी, मन्त्री, नीति निर्माता, विज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीति तथा योजना आयोगकी उपाध्यक्ष डाक्टर जीवन रानाले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि प्रकाश पार्दै योजनाको पृष्ठभूमि, आवश्यकता र प्राथमिकताबारे जानकारी गराइन् । उनले सुदूरपश्चिम प्रदेशका सामाजिक, आर्थिक तथा भौगोलिक विशेषतालाई ध्यानमा राख्दै योजनाको मस्यौदा तयार गरिएको बताइन् । प्रदेशको विकास यात्रालाई व्यवस्थित, समावेशी र दिगो बनाउने लक्ष्यका साथ योजनाले विभिन्न क्षेत्रलाई समेटेको उनको भनाइ थियो ।

पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण टोलीका टिम लिडर डाक्टर हेमराज लामिछानेले अवधारणापत्र प्रस्तुत गर्दै प्रदेशको दीर्घकालीन समृद्धि, सुशासन, समावेशी विकास र दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा योजनाले मार्गचित्र तय गरेको बताए । उनले आर्थिक वृद्धि, सामाजिक न्याय, मानव विकास र वातावरणीय सन्तुलनलाई योजनाको मूल आधार बनाइएको उल्लेख गरे ।

साथै, प्रदेशको आन्तरिक सम्भावना उपयोग, स्रोतसाधनको प्रभावकारी परिचालन र संस्थागत क्षमताको विकासमार्फत समग्र विकास हासिल गर्न सकिने धारणा राखे । छलफल कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश सचिव विमलप्रसाद बराल तथा सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमलगायत वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए ।

वक्ताहरूले लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । कृषि, पशुपालन तथा ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग तथा उद्यमशीलता प्रवद्र्धनमार्फत रोजगारी सिर्जना, पर्यटन विकास र प्रदेशलाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विषयमा पनि विस्तृत छलफल भयो ।

यसैगरी, शिक्षा सुधार, सीप विकास, अनुसन्धान तथा नवप्रवर्तन प्रवद्र्धन, स्वास्थ्य सेवाको पहुँच विस्तार र मानव विकास सुदृढीकरणलाई योजनाको प्रमुख अङ्ग बनाउनुपर्ने सुझाव दिइयो । समावेशी सामाजिक विकास, सामाजिक न्याय, महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायको सशक्तीकरणलाई योजनामा प्रभावकारी रूपमा समेट्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

सन्तुलित पूर्वाधार विकास, ऊर्जा उत्पादन तथा वितरण, वन, वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण र विपद् जोखिम व्यवस्थापनलाई समेत योजनाको महत्वपूर्ण क्षेत्रका रूपमा प्रस्तुत गरिएको थियो । साथै, सुशासन, पारदर्शिता, संस्थागत क्षमता विकास, संघ–प्रदेश–स्थानीय तहबीचको समन्वय र सहकार्यलाई मजबुत बनाउनुपर्ने विषयमा पनि गहन छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्य प्राप्तिलाई केन्द्रमा राखेर योजनाहरू अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले प्रदेशको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, दिगो नीति र परिणाममुखी कार्यक्रम अपरिहार्य रहेको बताए । योजनाहरू कागजमा सीमित नभई कार्यान्वयनमा प्रभावकारी देखिनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको भौगोलिक चुनौती, विकासको अवस्था र जनताको अपेक्षालाई ध्यानमा राखी दोस्रो पञ्चवर्षीय योजना तयार पारिएको उल्लेख गर्दै यसले प्रदेशको समृद्धि यात्रामा नयाँ गति दिने विश्वास व्यक्त गरे । साथै, सबै सरोकारवालाको सुझावलाई समेटेर योजनालाई अझ परिमार्जन गरिने जानकारी पनि दिए । छलफल कार्यक्रमले सुदूरपश्चिम प्रदेशको विकासलाई व्यवस्थित, समावेशी र दिगो बनाउने दिशामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार