हन्टिङटनलाई फेल गराउने सी–पुटिन दोस्ती



कसैको ‘मृत्यु एकदमै उपयुक्त समयमा भयो’ भनेको सुन्दा साह्रै नराम्रो लाग्छ । तर, हन्टिङटन आजको दिनसम्म बाँचेको भए उनले खुब आलोचना खेप्नुपर्ने थियो । जसरी संसारलाई गलत तरिकाले बुझेकोमा बिचरा फ्रान्सिस फुकुयामाले गाली भेटिरहेका छन् । आज सबैभन्दा महत्वपूर्ण द्वन्द्वहरू सभ्यताहरूको बीचमा होइन, सभ्यताभित्रै चलिरहेको छ । सभ्यता शब्द यति लोकप्रिय र यति निरर्थक कहिल्यै थिएन ।

जनन गणेश

स्यामुएल हन्टिङटनको मृत्यु २००८ मा भयो । मृत्यु हुनुअघिसम्म उनले भन्न सक्थे, ‘देख्यौ त, मैले भनेको पुग्यो कि पुगेन !’ त्यसमा मान्छेले खासै असहमति जनाउने थिएनन् । किनकि अमेरिका इराक र अफगानिस्तान युद्धमा संलग्न भएको धेरै वर्ष भइसकेको थियो । पश्चिमा र मुस्लिम विश्वबीचको त्यस्तो हिंसाले हार्वर्डका यी विद्वानको सिद्धान्तलाई सही साबित गरेको देखिन्थ्यो । किनकि हन्टिङटनले कुनै बेला विश्वलाई सभ्यताका आधारमा विभाजन गरेका थिए र ती सभ्यताहरूबीच टकराव हुने भविष्यवाणी गरेका थिए । र, जसै हाम्रो यो उथलपुथलयुक्त सहस्राब्दी अघि बढ्यो, हन्टिङटनलाई ‘भविष्यद्रष्टा’ उपनामले पछ्याउन थाल्यो । कसैको ‘मृत्यु एकदमै उपयुक्त समयमा भयो’ भनेको सुन्दा साह्रै नराम्रो लाग्छ । तर, हन्टिङटन आजको दिनसम्म बाँचेको भए उनले खुब आलोचना खेप्नुपर्ने थियो । जसरी संसारलाई गलत तरिकाले बुझेकोमा बिचरा फ्रान्सिस फुकुयामाले गाली भेटिरहेका छन् । आज सबैभन्दा महत्वपूर्ण द्वन्द्वहरू सभ्यताहरूको बीचमा होइन, सभ्यताभित्रै चलिरहेको छ । सभ्यता शब्द यति लोकप्रिय र यति निरर्थक कहिल्यै थिएन । विश्वमा जहाँजहाँ द्वन्द्व छ, त्यहाँ हेरौँ न । युक्रेन युद्ध ‘अर्थोडक्स’ क्रिस्चियन सभ्यताभित्रको युद्ध हो । कमसेकम हन्टिङटनले गरेको वर्गीकरणअनुसार । जनवादी गणतन्त्र चीन र ताइवानबीच बेलाबेलामा हुने तनाव अर्को उदाहरण हो– एउटै संस्कृति र सभ्यताभित्रको द्वन्द्वको । यो क्षेत्रलाई हन्टिङटनले ‘चीनमण्डल’ भनेका थिए ।

यतिबेला पृथ्वीमा सबैभन्दा धेरैको ज्यान लिइरहेको जारी द्वन्द्व सुडानको गृहयुद्ध हो । यो द्वन्द्व पनि कुनै दुई स्पष्ट धार्मिक वा साँस्कृतिक समूहको लडाइँ होइन । द्वन्द्वरत दुई पक्षका विदेशी संरक्षकधरी एउटै सभ्यताभित्रका हुन् । उनीहरूलाई एकातिर यूएईले सघाइरहेको छ भने अर्कोतिर इजिप्टले । दुवै मुस्लिम मुलुक हुन् । बरु इजरायल–प्यालेस्टाइनबीचको मुद्दा चाहिँ दुई सभ्यताबीचको द्वन्द्वजस्तो लाग्छ । तर, यो विश्वका अन्य द्वन्द्वग्रस्त क्षेत्रजस्तो सामान्य उदाहरण होइन । वास्तवमा, मलाई के लाग्छ भने दुई सभ्यताबीचको द्वन्द्वका रूपमा बुझ्न सजिलो हुने भएकैले यो स्थानीय द्वन्द्वप्रति धेरै बाहिरिया मान्छेहरू चाख लिन्छन् । किनकि, यो चाहिँ ‘हुनैपर्ने’ द्वन्द्व हो जस्तो लाग्छ । तर, आजका अधिकांश द्वन्द्वग्रस्त क्षेत्रहरूको विभाजन रेखा यति स्पष्ट छैनन् । ‘इस्लामका सीमा रक्तरञ्जित छन्’, हन्टिङटनले गरेको सबैभन्दा कुख्यात दाबी यही थियो । अर्थात्, जब इस्लामले अर्को सभ्यतालाई छुन्छ, तब लडाइँ सुरु हुन्छ । तर, गएको दशकका प्रमाणहरूलाई नियाल्ने हो भने मुस्लिम मुलुकहरूको खास निसाना गैरमुस्लिम होइन, मुस्लिम मुलुकतिरै सोझिएको देखिन्छ । नपत्याए इरान र साउदी अरबबीचको छद्म युद्ध हेरे हुन्छ । अथवा, इजिप्ट र अरु खाडी मुलुकले कतारलाई लगाएको नाकाबन्दी र यमनमा जारी संघर्षलाई हेरौँ, जहाँ यसै हप्ता यूएईले सघाएको विद्रोही समूहले साउदी समर्थित सरकारविरुद्ध लडाइँमा प्रगति गरेको छ । यही प्रमाणको खातमा सिरियाको गृहयुद्धलाई पनि थपिदिऊँ र त्यसअघिको अरब स्प्रिङलाई पनि हेरौँ । सबैभन्दा ‘रक्तपात’पूर्ण लडाइँ कुनै एक सभ्यताभित्रै भएको छ, नकि दुई सभ्यताबीच ।

कसले कोसँग लडाइँ गर्छ भन्ने भविष्यवाणी सभ्यताले गर्न सक्दैन। त्यसमाथि कसले कोसँग सहकार्य गर्छ भन्ने अनुमान त यसले झन् गर्न सक्दैन। पश्चिमा उदारवादीहरूलाई सबैभन्दा छक्क पार्ने द्विपक्षीय सहकार्य हो– रुसका भ्लादिमिर पुटिन र चीनका सी चिनफिङबीचको सम्बन्ध । उनीहरूको सहकार्यले सभ्यताको सीमा मेटाएको छ । हन्टिङटनले धर्मलाई सभ्यताको महत्वपूर्ण हिस्सा मानेका छन् । तर, ईयूको रुससँग निकट रहेको आफ्नै सदस्य राष्ट्रसँग भन्दा सिन्तो–बौद्ध धर्म मान्ने जापानसँग राम्रो सम्बन्ध छ । उत्तर र दक्षिण कोरिया सभ्यताले मात्रै होइन, जातीय रूपमै एकै हुन् । तर, उनीहरूको भूराजनीतिक सहयोगी अलगअलग छन् । (र, यी दुई मुलुक कानुनी रूपले अझै युद्धमै छन्)। कुनै पनि मुलुकको विदेश नीति प्राचीन साँस्कृतिक पहिचानले होइन, वर्तमान अनुभवले तय गर्छ भन्ने कुरा कोरियाली प्रायद्वीपले पुष्टि गर्छ ।
तर, वर्तमान अमेरिकी सरकारको अडान अनौठो छ । ‘युरोप पर्याप्त रूपमा पश्चिमा बन्न सकेन। त्यसैले अब रुस र साउदी अरबलाई अँगालौँ ।’ नबंग्याई संक्षिप्तमा भन्नुपर्दा अमेरिकी सरकारको रवैया यही हो । तानाशाहलाई पूजा गर्ने नैतिकता जेसुकै होस्, यो कुरा आफैँमा असंगत छ । जो मान्छेहरू पश्चिम अरुभन्दा अलग्गै सभ्यता हो भनेर सबैभन्दा बढी गफ गर्छन्, व्यवहारमा तिनै मान्छेले जोसँग पनि लसपस गर्छन् ।
उसोभए हन्टिङटनले यो कुरा किन बुझेनन्, उनी यति गलत किन हुन पुगे त ?

द्वन्द्वलाई बुझ्न आफैँले त्यसको स्वाद चाखेको हुनुपर्छ । यही कारणले हुनसक्छ, बन्दुक बोक्न रुचाउने चर्का राष्ट्रवादी विन्स्टन चर्चिल र उपनिवेशकालमा प्रहरी अधिकृत बनेका जर्ज अर्वेलले १९३० को दशकमा तानाशाहरूको मनसाय प्रस्ट बुझे । जबकि ‘श्रेष्ठ’ ठानिएका थुप्रै मान्छेले बुझेनन् । हन्टिङटन एकदम शान्त स्वभावका थिए । त्यसैले सायद उनी युद्धको भविष्यवाणी गर्न उपयुक्त पात्र थिएनन् । खासगरी, राजनीतिको हरेक तहमा लागू हुने एउटा सत्य उनले बुझ्नै सकेनन् । त्यो हो– कट्टरपन्थीहरूले सबैभन्दा बढी घृणा प्रत्यक्ष शत्रुलाई गर्दैनन् ।
बरु, उनीहरू त कुरा बुझेर आफूमाथि शंका गर्नेहरू, विचलित भएका समर्थकहरू र विभाजनकारीहरूलाई सबैभन्दा घृणा गर्छन् । किनकि, पराइलाई बेवास्ता गर्न सजिलो हुन्छ । आफूलाई समर्थन गर्नेहरू विचलित भएको कुरा सहन उनीहरूलाई मुस्किल हुन्छ । ‘वोक’ एक्टिभिस्टहरूले सबैभन्दा बढी कसलाई ‘क्यान्सिल’ गर्न खोजे त ? जेके रोलिङजस्ता उदारवादीलाई, नकि कट्टर दक्षिणपन्थीहरूलाई । किनकि दक्षिणपन्थीहरूसँग त उनीहरूको सम्पर्क नै सीमित हुने गर्छ ।

यही सिद्धान्तलाई राष्ट्रको स्तरमा लागू गरेर हेर्नुहोस्– बल्ल २०२५ को यो संसारलाई बुझ्न सकिन्छ । जहाँ विचलन देखा प¥यो, त्यहीँ द्वन्द्व भएको छ । अर्थोडक्स हुँदाहुँदै पश्चिमतिर फर्केको युक्रेन, साँस्कृतिक रूपमा चिनियाँ तर लोकतान्त्रिक ताइवान अनि इस्लामभित्रकै अलग मत । हिंसाको सम्भावना त छैन, तर अमेरिकी पपुलिस्टहरूले युरोपमाथि गरेको आक्रमण सानो भिन्नताबाट जन्मिने ठूलो कटुताको अर्को उदाहरण हो । सेप्टेम्बर ११, २००१ को आतंकवादी आक्रमणलाई लामो समयसम्म २१औँ शताब्दी सुरु भएको क्षणका रूपमा हेरियो । तर, अहिले पछि फर्केर हेर्दा २१औँ शताब्दीको वास्तविक सुरुवात त्यसको सात वर्षपछि पुटिनले जर्जियामाथि गरेको आक्रमण थियो । किनकि सोभियत संघको हिस्सा रहेको जर्जिया पश्चिमतिर ढल्किँदै थियो । एउटै सभ्यताभित्र पनि द्वन्द्व हुन सक्छ, धर्मले समेत एकता कायम राख्न सक्दैन, त्यो युद्धले हामीलाई यो महत्वपूर्ण पाठ सिकाएको थियो । तर, त्यो साल गर्मीमा आएको वित्तीय संकटको होहल्लाले यसलाई छोपिदियो । यस्तो पाठ फेरि सिक्ने मौका हामीले पटकपटक पाइरहनेछौँ । (फाइनान्सियल टाइम्सबाट)

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार