लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित कृष्ण माध्यमिक विद्यालयमा लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक विद्यालयस्तरीय कार्यक्रम सम्पन्न भएको छ । समाज सेवा संस्था नेपालको आयोजना र ईलाका प्रहरी कार्यलय कोहलपुर बाँकेको सहकार्य तथा कोहलपुर नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

सचेतनामूलक कार्यक्रमको सहजीकरण ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख चक्रबहादुर डम्मपाल र समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले गरेका थिए । ईप्रका कोहलपुरका प्रमुख डम्मरपालले लागूऔषध दुव्र्यसन समाजमा फैलिँदो अवस्थामा रहेको बताए ।
उनले प्रमुख सामाजिक समस्याका रूपमा रहेको लागूऔषध दुव्र्यसनविरुद्ध शसक्त अभियान आवश्यक रहेको बताए ।

कार्यालयले नागरिक साझेदारी कार्यक्रमअन्तर्गत राज्यका विभिन्न कार्यालय र संघसंस्थाहरूसँग मिलेर सचेतनामूलक कार्यक्रम गर्दै आएकोसमेत बताए । विद्यालय तथा कलेज तहका विद्यार्थीहरू बढी दुव्र्यसनमा लाग्ने जोखिम रहेकोले उक्त समूहलाई लक्षित गरेर कार्यक्रम गर्दै आएको उनको भनाइ थियो ।

यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष थापाले पनि विभिन्न सामाजिक समस्याविरुद्ध स्थानीय सरकारसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको बताए । उनले कोहलपुर क्षेत्रका विभिन्न विद्यालयहरूमा सचेनामूलक कार्यक्रम गरिरहेको समेत जानकारी दिए ।

आइतबार पनि लागूऔषध दुव्र्यसन न्यूनीकरणसम्बन्धी सचेतनामूलक विद्यालयस्तरीय कार्यक्रम सडक नाटक प्रदर्शन गरिएको थियो । कार्यक्रमको समापनमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष बद्रीप्रसाद जैशीले वडा कार्यालयले समृद्ध वडाको सपनालाई पूरा गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताएका थिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार