बुटवलमा भेनेजुएलामाथि अमेरिकी आक्रमणको विरोध



बुटवल ।

अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमणविरुद्ध बुटवलमा विरोध प्रदर्शन गरिएको छ । उक्त आक्रमणको चौतर्फी विरोध भइरहेको अवस्थामा बुटवलमा चार राजनीतिक दलहरूले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी विरोध जनाएका हुन् । रुपन्देहीस्थित पार्टीहरू नेपाल कम्युनिस्ट पार्टी मसाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी कम्युनिस्ट पार्टीले आइतबार बुटवलमा संयुक्त कार्यक्रमको आयोजना गरी विरोध गरेका हुन् ।

अमेरिकी आक्रमणविरुद्ध विश्वभरका आमजनतालाई सचेत हुन आग्रह गर्दै अमेरिकी साम्राज्यवादले साना र कमजोर मुलुकहरूलाई आफ्नो कब्जामा ल्याउने गरी भेनेजुएलामाथि आक्रमण गरेको नेताहरूले बताएका छन् । विरोध कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता पे्रम सुवेदी र नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता शरद वलीले भेनेजुएलामाथिको अमेरिकी सैन्य काक्रमण बन्द गर्न माग गरेका छन् ।

उनीहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तुरुन्त सकुसल रिहाइ गर्नुपर्ने बताउँदै अमेरिकी साम्राज्यवादबाट संसारका मानवजाती आक्रान्त भएको बताए ।भेनेजुएलामा भएको खनिज पदार्थ, तेल लगायतका पदा र्थमाथि आँखा लगाएको अमेरिकाले भोलिका दिनमा नेपालमाथि पनि आक्रमण गर्न सक्ने बताउँदै अमेरिकाले नेपाललाई प्रान्त बनाउन खोजेकाले समयमै सचेत हुनका लागि आमनेपालीलाई आग्रह गरेका छन् ।

कम्युनिस्ट संग्रालयका अध्यक्ष तथा वामपन्थी नेता चेतनाथ आचार्यले अहिले भेनेजुएलामाथि ड्रग्स कारोबारसम्बन्धी आरोप अमेरिकाको बहाना भएको बताउँदै अमेरिकी साम्राज्यवादका कारण तेस्रो विश्वयुद्धको खतरा बढ्दै गएको बताए । युद्धको स्रोत अमेरिकी साम्राज्यवाद भएको दाबी गर्दै त्यसका विरुद्ध विश्वका शान्तिप्रेमी जनता एकीकृत हुनुपर्नेमा उनले जोड दिए ।

बाँकेमासमेत विरोध 

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हमलाविरुद्ध नेकपा(बहुमत)ले बाँकेमा विरोध प्रदर्शन गरेको छ । अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको विरोधमा नेकपा (बहुमत)ले बाँकेका विभिन्न पालिकामा विरोध प्रदर्शन गरेको हो । जिल्ला इन्चार्ज विष्णु परियारका अनुसार अमेरिकी साम्राज्यवादी हस्तक्षेपविरुद्ध जिल्लाका नेपालगन्ज, खजुरा, कोहलपुर र राप्ती सोनारी गाउँपालिकामा विरोध कार्यक्रम र कोणसभा गरेर अमेरिकी हमलाको विरोध गरिएको हो ।

पार्टीको केन्द्रीय कार्यक्रमअनुसार बाँके जिल्लाका स्थानीय तहमा विरोध प्रदर्शनका साथै कोणसभा कार्यक्रम आयोजना गरिएको उनले बताए । जिल्लास्तरको कार्यक्रमअनुसार कोहलपुरको नापी र मालपोत कार्यालय नजिकै सडकमै कार्यक्रम गरेर मदुरो दम्पती बिनासर्त रिहाइ गर्न माग गरिएको थियो । ‘भेनेजुएलामाथि साम्राज्यवादी अमेरिकाले हमला गरेको छ । एक स्वतन्त्र देशको स्वतन्त्रतामाथि नै धावा बोलेको छ । त्यहाँ जनताको अधिकार खोसिएको छ । यो अमेरिकाले भेनेजुएलामाथि गरेको दमन हो । यस दमनविरुद्ध हामी विरोध गर्न चाहन्छौँ,’ इन्चार्ज परियारले भने ।

अमेरिकाले गरेको अन्याय र अत्याचारकाविरुद्ध सम्पूर्ण विश्वले विरोध गर्नुपर्ने उनको भनाइ छ । भेनेजुएलाका जनताको पक्षमा आफ्नो पार्टीले अमेरिकाको विरोध गरेको भन्दै त्यहाँको शासन व्यवस्था र शासकमाथि गरिएको दमनको उनले निन्दासमेत गरे । नेकपा (बहुमत) बाँकेका जिल्ला सचिव तिलक गिरीले आफ्नो पार्टीले देशमा व्याप्त भ्रष्टाचार, बेथिति तथा बिचौलियनपनविरुद्ध निरन्तर संघर्ष गर्दै आएको बताए । राज्यका निकायहरूमध्ये मालपोत र नापी कार्यालयमा बिचौलियाहरूले जनतालाई दुःख दिने र कर्मचारीले समेत सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेकोले त्यस्ता व्यक्ति र कर्मचारीविरुद्ध भौतिक कारबाही गरिनेसमेत चेतावनी दिए । नेकपा (बहुमत) बाँकेले राष्ट्रपति निकोलस मादुरोलाई बिनासर्त रिहा गर्न माग गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार