लुम्बिनी प्रदेशकै पहिलो वर्डप्रेस सम्मेलन रुपन्देहीमा हुँदै



बुटवल ।

वर्डप्रेस सम्मेलन ‘वर्ड क्याम्प नेपाल’ यस वर्ष रुपन्देहीमा हुने भएको छ । मोफसलमा वर्डप्रेसको ज्ञान र अवसरहरू पु¥याउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । रुपन्देहीको तिलोत्तमा मणिग्रामस्थित विश्राम बाटिकामा आगामी माघ ९ र १० गते वर्ड क्याम्प नेपालको आठौँ संस्करण हुने भएको हो ।

राजधानीबाहिर लुम्बिनी प्रदेशमै पहिलो पटक आयोजना गरिएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रम संयोजक कृष्ण न्यौपानेले जानकारी दिए । सन् २०१२ देखि नेपालमा वर्ड क्याम्प आयोजना हुँदै आएको वर्ड क्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापी रूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । संयोजक न्यौपानेका अनुसार डेभलपर, प्लगइन र थिम निर्माता, डिजाइनर, सर्च इन्जिन विशेषज्ञ, व्यवसाय सञ्चालक, कन्टेन्ट क्रिएटर, विद्यार्थीलगायत सबै वर्डप्रेससँग सरोकारवालाले भाग लिन पाउने छन् ।

वर्डप्रेससँग सम्बन्धित विभिन्न विषयबारे जानकारी र प्रविधिको विकासबारे बुझ्ने, नेटवर्क निर्माण गर्ने, आफ्नो करियरका लागि नयाँ अवसरको खोजी गर्ने, एआईको प्रयोग, वर्डप्रेस र यसको इकोसिस्टममा के भइरहेको छ भन्ने जानकारी प्राप्त गर्नका लागि सम्मेलन महत्वपूर्ण हुने जनाइएको छ । वर्डप्रेसलाई एआइसँग जोडेर कसरी अझै आधुनिक र सजिलो बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने मिडिया संयोजक लक्ष्मण भट्राईले बताए ।

वेबसाइट निर्माण, सामग्री व्यवस्थापन र ई–कमर्स समाधानमा महत्वपूर्ण भूमिका खेलिरहेको वर्डप्रेसको माध्यमबाट नेपालको बढ्दो डिजिटल अर्थतन्त्रलाई टेवा पुग्ने उनले बताए । मोफसलमा पहिलो पटक हुन लागेको सम्मेलनमा ८ सय जना सहभागी हुन सक्ने र अहिलेसम्म ५ सय जनाले अनलाइनको माध्यमबाट नाम दर्ता गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, युरोपेली मुलुकबाट स्वदेशी तथा विदेशी सहभागिहरू उपस्थित हुने वर्ड क्याम्प नेपाल २०२६ का ग्लोबल संयोजक राकेश लावाजुले जानकारी दिए । सम्मेलन सम्पन्न गर्नका लागि करिब २८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । वर्डप्रेस प्रोजेक्टमा प्रोग्रामर र गैरप्रोग्रामर दुवै खालको योगदान कसरी गर्न सकिन्छ भन्नेबारे सिक्न र बुझ्न पाइने कार्यक्रम संयोजक कृष्ण न्यौपानेले बताए । पत्रकारहरूका लागि पनि यो राम्रो अवसर भएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार