कोहलपुर (बाँके) ।
कोहलपुर उद्योग वाणिज्य संघले वरिष्ठ लोक गायक कमल विके ‘निर्मोही’को उपचारका लागि नगद ३० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। मृगौला रोगसँग संघर्ष गरिरहेका लोक गायक विकको जीवनरक्षाका लागि संघले सामाजिक उत्तरदायित्वअन्तर्गत नगद ३० हजार रूपैयाँ आर्थिक सहयोग गरेको हो । कोहलपुर महोत्सवमा उनको उपचार सहयोगमा सघाउने उद्देश्यले महोत्सवस्थलमा छुट्टै स्टल नै राखिएको संघका अध्यक्ष प्रदीप भट्टराईले जानकारी दिए ।
दुवै मृगौला फेल भएर हाल उपचारका क्रममा रहेका निर्मोही हिड्डुलसमेत गर्न सक्ने अवस्थामा छैनन् । शनिबार विकेलाई कोहलपुर महोत्सवमा संघका तर्फबाट आर्थिक सहयोग गरिएको उनले बताए । ‘उहाँले बाँकेसहित पश्चिम क्षेत्रको लोक साहित्यको क्षेत्रमा योगदान गर्नु भएको छ । अहिले दुवै मृगौला फेल भएर उपचारका क्रममा हुनुहुन्छ । उहाँको उपचारमा सहयोग पुगोस् भनेर स्टलसमेत व्यवस्थापन गरेका छौँ । महोत्सव अवलोकन गर्न आउनेहरूले स्वेच्छिक रुपमा सहयोग गर्न सक्नेछन्,’ उनले भने ।
गायक निर्मोहले भावुक हुँदै आफूले बाँच्न चाहेको बताए । उनले भावकु हुँदै मसिनो स्वरमा भने, ‘म बाँच्न चाहन्छु । आवाजमा दम छ । तर खुट्टा उचाल्न सकिरहेको छैन । ह्वीलचियरको सहायताले यताउता गर्छु । फेरि मलाई स्टेज चढ्न मन छ ।’ उनले आफूले १६ वर्षको उमेरदेखि उद्घोषण सुरु गरेकोसमेत जानकारी दिए । कोहलपुर उद्योग वाणिज्य संघले आफ्नो उपचारका लागि सहयोग गर्नुका साथै स्टलसमेत प्रदान गरेको भन्दै कृतज्ञता समेत प्रकट गरे ।
निर्मोहीकी श्रीमती हेरमदेवी विकसमेत मृगौला रोगबाट पीडित छन् । उनले शनिबार मात्रै कोहलपुर महोत्सवमा करिब ८०–९० हजार रूपैयाँ सहयोग संकलन भएको बताइन् । ‘संघले हामीलाई सहयोग गरेको छ । हाम्रोतर्फबाट धन्यावाद दिन चाहन्छौँ । उहाँको हप्ताको दुई पटक डायलासिस गर्नुपर्छ । म आफैँ पनि बिरामी छु । आर्थिक अभाव छ,’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्