पाटेबाघको आक्रमणमा परी भण्डारीको मृत्यु



बाँके ।

बाँकेको राप्ती सोनारी गाउँपालिका– १ कुसुमस्थित सौरी जंगलमा पाटेबाघको आक्रमणबाट गोठाला गएका एकजनाको मृत्यु भएको छ ।बाघको आक्रमणबाट स्थानीय ६२ वर्षीय मरिचमान भण्डारीको शनिबार दिउँसो ज्यान गएको हो । सौरी सामुदायिक वन मध्यवर्ती क्षेत्रको देसीमारे चौर क्षेत्रमा गाई चराउन गएका बेला उनीलाई बाघले आक्रमण गरेको थियो ।

भण्डारीको शव नजिकै करिब ५० मिटरको दूरीमा एउटा गाईलाईसमेत बाघले मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कुसुमले जनाएको छ । गाई चराउन जंगल गएको समयमा बाघले आक्रमण गर्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय कुसुमका प्रमुख एवम् सहायक संरक्षण अधिकृत कुन्नारायण चौधरीले जानकारी दिए ।

मृतकको शव जंगलभित्र फेला पारेर घटनास्थलको मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि नेपालगन्ज पठाइएको उनले बताए । बाघले मृतक भण्डारीको घाँटी र टाउकोमा आक्रमण गरेको र शरीरका अन्य भागमा चोट कतै नदेखिएको चौधरीले जानकारी दिए । उनका अनुसार बाघले करिब ५० मिटरको दूरीमा एउटा गाईलाई समेत मारेको फेला परेको छ ।

बाघले मान्छेलाई आक्रमण गरेपछि गाईलाई पनि मारेको बताइएको छ । भण्डारीसँगै अन्य तीनजना पनि सँगै गाई चराउन जंगल गएका थिए । प्रत्यक्षदर्शीका अनुसार गाई चराउन गएका बेला शनिबार दिउँसो साढे १ बजेतिर उनलाई बाघले आक्रमण गरेको थियो । गाई चराउन सँगै जंगल गएका अर्का स्थानीयबासिन्दा पिमलाल डाँगीले भण्डारीलाई बाघले एक्कासि आक्रमण गरेको र आफूहरूले हो–हल्ला गर्दा पनि बाघले घिसार्दै लगेको जानकारी दिए ।

‘हामीले एक्कासि आक्रमण गरेको देख्यौँ, हामीहरू चिच्याउँदा बाघले उल्टै हामीलाई पनि झम्टिन खोज्यो,’ डाँगीले भने । बाघले आफूहरूलाईसमेत आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाउन सफल भएको उनले बताए । घटनालगत्तै बाँके राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली पुगेर मृतकको शवलाई फेला पारेको थियो । त्यो क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलाबाट उत्तरतर्फ पहाडमा पर्छ । केही वर्षअघि पनि बाघले राप्ती सोनारी–१ गाभरमा मान्छे मारेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार