‘माया लुकी लुकी’लाई ‘रूकुम मैकोट’ले उछिन्यो



काठमाडौँ ।

एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको गीत ‘रूकुम मैकोट’ युट्युबमा अहिलेसम्मकै धेरै हेरिने दोस्रो नेपाली गीत बनेको छ । फिल्म ‘खुस्मा’ मा समावेश गीतले रिलिजको १६ महिनाको छोटो समयमै युट्युबमा यो सफलता हात पारेको हो । गीतलाई बिहीबारसम्म युट्युबमा १६ करोड ३९ लाख ७२ हजारभन्दा बढी पटक हेरिएको छ । यसअघि धेरै हेरिने दोस्रो नम्बरमा टीका प्रसाईंको गीत ‘माया लुकी लुकी’ थियो ।

सात वर्षअघि सार्वजनिक यो गीतलाई १६ करोड ३८ लाख ५१ हजारभन्दा बढीपटक हेरिएको छ । भ्युजमा ‘रूकुम मैकोट’ अगाडि आएसँगै ‘माया लुकी लुकी’ युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको सूचीमा तेस्रो नम्बरमा पुगेको छ । ‘रूकुम मैकोट’ का शब्द सुरेन्द्र रानाका हुन् भने संगीत निर्देशक एसडी योगी र संगीत निर्माता रिकेश गुरूङ हुन् । यसको भिडिओमा फिल्मका शीर्ष कलाकार धीरज मगर र उपासना सिंह ठकुरीको नृत्य छ ।

त्यस्तै, ‘माया लुकी लुकी’ टीका प्रसाईंले कार्टुन क्रुसँगको सहकार्यमा ल्याएकी थिइन् । यसको शब्द आनन्द अधिकारीको हो भने संगीत र एरेन्ज आशिष अविरलको छ । भिडिओमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा छन् । युट्युबमा अहिलेसम्म सबभन्दा धेरै हेरिने नेपाली गीत भने ८ वर्षअघि सार्वजनिक ‘कुटुमा कुटु’ हो । यसलाई अहिलेसम्म युट्युबमा २३ करोड १० लाखभन्दा बढीपटक हेरिएको छ ।

फिल्म ‘दुई रूपैयाँ’ मा समावेश यो गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर छ । यसको शब्द तथा संगीत राजनराज स्वयंको हो भने संगीत संयोजक राजन इशान हुन् । भिडिओमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङलगायत फिचर्ड छन् । कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीको स्वर रहेको ‘साली मनपर्यो’, दुर्गेश थापाको ‘दुश्मन हेरेको हे¥यै’ लाई पनि १५ करोडभन्दा बढीपटक हेरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार