‘डिजिटाइजेसन’का लागि चलचित्र बोर्डद्वारा आवेदन आह्वान



काठमाडौँ ।

‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका पुराना नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’ कार्यका लागि इच्छुक निर्माता वा अधिकारप्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ ।

बोर्डले एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको हो । बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना चलचित्रको गुणस्तर सुधार हुनुका साथै ती चलचित्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ ।

यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरू ‘डिजिटाइजेसन’ गरिसकेको छ । ती चलचित्रमा अंग्रेजी भाषामा ‘सबटाइटल’ पनि राखिएका छन् ।

यस्तै, बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण पनि सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’मा पुस १२ गतेसम्म रहेको तथ्यांकअनुसार मंसिर र पुसमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन । गत मंसिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ले गत पुस १२ गतेसम्म रु २८ लाख ७८ हजार ८३६ मात्र कमाइ गरेको छ ।

एकता पौडेलले निर्देशन गरेको चलचित्र ‘हर्ष’का लागि जम्मा आठ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गरेका छन् । मंसिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू ः च्याप्टर १’ले सोही अवधिसम्म रु २१ लाख ५० हजार ४०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गरेको उक्त चलचित्रको छ हजार ८६१ वटा टिकट बिक्री भएका छन् ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायतका कलाकारले अभिनय गरेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र निर्माण गरेका निर्माता विनोद पौडेलले निर्माण गरेको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ । मंसिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ले सोही अवधिमा रु छ लाख ७५ हजार ३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १४१ वटा टिकट बिक्री भएका छन् ।

शोभित बस्नेतले निर्देशन गरेको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।
मंसिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ले रु चार लाख १२ हजार ५४० र ‘चिराग’ले रु ६८ हजार ४५० कमाइ गरेको तथ्यांक ‘सिनेपा २ बक्सअफिस’मा उल्लेख छ । उल्लेखित कमाइ गएको पुस १२ गते बेलुकी ११ः५९ मिनेटसम्म नेपालभर भएको हो । चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्ने गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार