बाघ संरक्षक कि भक्षक ?



विश्वव्यापी रूपमा बाघको सङ्ख्याको कुरा गर्दा पछिल्ला केही वर्षहरूमा संरक्षणका प्रयासहरूले गर्दा बाघको सङ्ख्यामा केही सुधार देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरू जस्तै डब्लुडब्लुएफ र ग्लोबल टाइगर फोरमको सन् २०२३–२०२५ का पछिल्ला तथ्यांकहरू अनुसार विश्वमा जंगली बाघको कूल सङ्ख्या करिब ५,५७४ को हाराहारीमा रहेको अनुमान गरिएको छ ।

जीतबहादुर शाह

केही दिनअघि मात्र कक्षा १२ मा अध्ययन गर्ने किशोरीलाई बिहान ट्युसन पढ्न जाँदै गर्दा बाघले बर्दियाको मधुवन नगरपालिकाको वडा नं. १ को खातामा आक्रमण ग¥यो । सुरक्षाकर्मीहरूलगायत स्थानीयहरूले बाघलाई भगाएर नानीलाई आफ्नो जिम्मामा लिएर अस्पतालमा लिन त सफल भए तथापि नानीलाई बचाउन भने सफल भएनन् । यो पुस १५ गतेको घटना हो । पुस १६ गते मधुवन नगरपालिकाका सबै विद्यालयहरू बन्द गरेर शोक मनाउने काम भयो । यस्ता घटनाहरू पटक–पटक घटिरहेका छन् अक्सर गरी बर्दिया र बाँकेमा । त्यसो त विभिन्न सरकारी तथा सञ्चारमाध्यमका तथ्यांकहरू अनुसार बर्दियामा पछिल्लो ५ वर्षमा करिब ३६ जनाले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । यसको वार्षिक औसत करिब ७ जना हुन आउँछ, तर कुनै वर्ष यो सङ्ख्या निकै उच्च देखिएको छ । नेपालभर पछिल्लो ३ वर्षमा बाघको आक्रमणबाट ५३ जनाको मृत्यु भएकोमा त्यसको झण्डै ६५ प्रतिशत हिस्सा (३४ जना) बर्दिया जिल्लाको मात्रै रहेको देखिन्छ । बर्दियाका विद्यार्थी लगायतका अन्य मानिसहरू कहिले बाघ त कहिले हात्तीको आक्रमणबाट मृत्यृवरण गरेका दुखद खबरहरू आइरहन्छन् हाम्रा यी अभागी कानहरूसम्म । तथापि आवेगमा आएर भन्न गाह्रो छ । यसरी मानिसहरूले बाघ र हात्तीको आक्रमणमा परेर ज्यान गुमाउनुमा गल्ती कसको हो ?

बाघलाई प्रकृति र वातावरण संरक्षणको द्योतक मानिन्छ । कारण स्पष्ट छ कि बाघ जङ्गलमा बस्छ, बाघलाई पानी चाहिन्छ । बाघले जङ्गलमा बसेर गर्ने आहार भनेको मृग, बाँदरलगायत अन्य जङ्गली जनावरहरूको शिकार हो । त्यसमा पनि मृग मुख्य शिकार हो । मृगलाई बाँच्नको लागि घाँसे मैदान चाहिन्छ । यी सबै बीचको इकोसिस्टमले गर्दा बाघ बचाउनु भनेको प्रकृति र वातावरण बचाउनु भन्ने स्वयम्सिद्ध देखिन्छ । अर्को कुरा बाघ विश्वमा लोपोन्मुख जनावर भएकोले पनि यसलाई अन्तर्राष्ट्रियस्तरबाटै बढाउने अभियान चालिएको छ । नेपालले सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर (१२१ बाट २५०) पु¥याउने प्रतिबद्धता जनाएको थियो, जसलाई सफलतापूर्वक पूरा गरी लक्ष्यभन्दा पनि बढी सफलता हासिल गरेको छ । सन् २०२२ को राष्ट्रिय बाघ गणनाको नतिजाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ । निकुञ्जगत हिसाबले हेर्नुपर्दा यो सङ्ख्या चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेका देखिन्छ । विश्वव्यापी रूपमा बाघको सङ्ख्याको कुरा गर्दा पछिल्ला केही वर्षहरूमा संरक्षणका प्रयासहरूले गर्दा बाघको सङ्ख्यामा केही सुधार देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरू जस्तै डब्लुडब्लुएफ र ग्लोबल टाइगर फोरमको सन् २०२३–२०२५ का पछिल्ला तथ्यांकहरू अनुसार विश्वमा जंगली बाघको कूल सङ्ख्या करिब ५,५७४ को हाराहारीमा रहेको अनुमान गरिएको छ । विश्वमा सबैभन्दा बढी बाघ भएको देश भारत हो जहाँ हामीले राष्ट्रिय जनावरको रूपमा गाईलाई मानेजस्तै भारतमा बाघलाई मानिन्छ ।

भारतमा विश्वका कूल बाघहरूमध्ये ७० प्रतिशतभन्दा बढी बाघहरू भारतमा पाइन्छन्, जहाँ पछिल्लो गणनाअनुसार बाघको सङ्ख्या ३,६८२ पुगेको अनुमान गरिएको छ । नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको बहराइच जिल्लास्थित कतर्नियाघाट वन्यजन्तु आरक्षको सिमाना जोडिएको छ । खाता जैविक मार्ग (करिडोर) मधुवन नगरपालिकाको वडा नंं १ मा पर्दछ जहाँ बाघ र मानिसहरूको आवतजावत गर्ने बाटो जोडिने भएकोले मानिसहरू बाघको आक्रमणको शिकार पनि बढी मात्रामा त्यही करिडोर वरिपरि हुने गरेको देखिन्छ । बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखिएकोमा नेपालले दोब्बरभन्दा बढी बनाएकोमा अन्तर्राष्ट्रियस्तरबाट पुरस्कार र सम्मान पनि पाएको छ । यसमा पनि बर्दिया राष्ट्रिय निकुञ्जले यी सफलता र सम्मानहरूमा अग्रभागमा देखिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जकै कारण नेपालमा सन् २०१० मा १२१ को सङ्ख्यामा रहेका बाघहरू सन् २०२२ मा आएर ३५५ पुगेको अवस्था देखियो, जुन राम्रो र प्रशंसनीय पनि छ । तथापि बाघले मानिसलाई पु¥याउने क्षतितर्फ पनि गम्भीर हुनु त्यत्तिकै जरुरी देखिन्छ । एउटा बाघको लागि न्यूनतम ६० वर्ग किमि क्षेत्रफल चाहिने र बर्दियाको निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किमि मात्र देखिएकोले यो निकुञ्ज त १५÷१६ वटा बाघको निम्ति मात्र पर्याप्त हो कि ! जब कि यहाँ १२५ भन्दा बढी वयस्क बाघहरू छन् । यसतर्फ पनि गम्भीर हुनुपर्छ कि ! यसरी क्षेत्रफल कम भएको कारणले शक्तिशाली बाघहरूले कमजोर बाघहरूलाई आफ्नो क्षेत्रमा बस्न नदिएका कारणले वृद्ध र हारेका कमजोर बाघहरू गाउँबस्ती नजिक आउनु पर्ने अवस्थाको सिर्जना भएको हुनसक्छ, जसकारण मानिसहरू बाघको शिकार हुनु परेको अवस्थाको सिर्जना भएको हो कि !

नेपालमा बाघको संरक्षणका लागि निकै कडा कानुनी व्यवस्थाहरू छन् । बाघ मार्ने मानिसलाई हुने सजाय र बाघको आक्रमणबाट हुने क्षतिपूर्तिको व्यवस्था राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (र यसका संशोधनहरू) र वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकाअनुसार हुने गर्दछ । नेपालमा बाघ एक ‘संरक्षित वन्यजन्तु’ हो । यदि कसैले अवैध रूपमा बाघ मार्छ, घाइते बनाउँछ वा यसको अंग (छाला, हड्डी आदि)को व्यापार गर्छ भने उक्त व्यक्तिलाई ५ वर्षदेखि १५ वर्षसम्म जेल सजाय एवम् रु. ५ लाखदेखि १० लाखसम्मको जरिवाना वा सजाय र जरिवाना दुवै हुने व्यवस्था छ । यदि कसैले आफ्नो वा अरूको ज्यान बचाउनका लागि अचानक भएको आक्रमणमा परी बाघलाई मारेको हो र सो कुराको जानकारी २४ घण्टाभित्र सम्बन्धित अधिकारीलाई दिएको हो भने, त्यसलाई अपराध मानिँदैन । तर, यो प्रमाणित हुनुपर्छ। भारतमा बाघको शिकार वा व्यापार गर्नेहरूलाई ३ वर्षदेखि ७ वर्षसम्म सजाय वा ५० हजार देखि ५ लाख भारतीय रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । बाघ वा अन्य वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भएमा वा घाइते भएमा नेपाल सरकारले ‘वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका’अनुसार राहत रकम उपलब्ध गराउने व्यवस्था छ । पछिल्लो व्यवस्थाअनुसार बाघको आक्रमणबाट मानिसको मृत्यु भएमा निजको परिवारलाई रु. १० लाख राहत उपलब्ध गराइन्छ । गम्भीर घाइते भएमा, अस्पतालको उपचार खर्चअनुसार अधिकतम रु. २ लाखसम्म राहत दिइन्छ ।

त्यसैगरी अशक्त हुने अवस्थामा राहतको विशेष व्यवस्था छ । सामान्य घाइते भएमा, उपचार खर्चबापत अधिकतम रु. २० हजारसम्मको व्यवस्था छ । राहत पाउनका लागि घटना भएको ३५ दिनभित्र सम्बन्धित निकाय (राष्ट्रिय निकुञ्ज वा वन कार्यालय)मा निवेदन दिनुपर्छ । यदि मानिस निषेधित क्षेत्र (निकुञ्जको कोर एरिया)मा अवैध रूपमा प्रवेश गरेको अवस्थामा आक्रमण भएको हो भने राहत पाउन कठिन हुन सक्छ ।
बाघले मानिस मारेको अवस्थामा मानिसलाई जस्तो कानुनी सजाय नभए पनि यदि कुनै बाघले बारम्बार मानिसलाई आक्रमण गर्न थाल्यो भने त्यसलाई ‘नरभक्षी’को रूपमा चिनिन्छ । यस्तो अवस्थामा प्राविधिकहरूले बाघलाई डार्ट (बेहोस) गरेर नियन्त्रणमा लिन्छन् । यसरी नियन्त्रणमा लिइएको बाघलाई मानव बस्तीभन्दा टाढाको जङ्गलमा छाडिन्छ वा धेरै खतरनाक देखिएमा उद्धार केन्द्र वा चिडियाखानामा राखिन्छ ।
वन्यजन्तु (विशेषगरी बाघ, हात्ती, चितुवा, गैँडा, बँदेल आदि)ले मानिसको पशुधन र बालीनाली नष्ट गरेमा सरकारले राहत प्रदान गर्नेसम्बन्धी व्यवस्था गरेको छ । यदि बाघ वा अन्य वन्यजन्तुले गोठमै आएर वा चरिचरनको क्रममा घरपालुवा जनावर मारेमा गाई, भैँसी वा गोरु मरेमा, प्रतिपशु अधिकतम रु. ६० हजारसम्म, भेडा, च्याङ्ग्रा वा बाख्रा मरेमाः प्रतिपशु अधिकतम रु. १० हजारसम्म, सुँगुर वा बँदेल मरेमाः प्रतिपशु अधिकतम रु. १० हजारसम्म र गधा, खच्चड वा घोडा मरेमाः प्रतिपशु अधिकतम रु. ३० हजारसम्म पाउने व्यवस्था छ ।

व्यवस्था जेजस्तो भए पनि एउटा परिवारले एक आर्थिक वर्षमा पशुधनको क्षतिबापत अधिकतम रु. ६० हजारसम्म मात्र राहत पाउन सक्छ । साथै, निकुञ्जभित्र अवैध रूपमा चराउन लगिएका पशुको हकमा राहत उपलब्ध हुँदैन । त्यसरी नै जङ्गली जनावरले खेतमा लगाएको अन्नबाली (धान, मकै, गहुँ आदि) वा फलफूल खेती नष्ट गरेमा प्रतिपटकको क्षतिको लागि अधिकतम रु. १० हजारसम्म र एउटा परिवारले एक आर्थिक वर्षमा बालीनाली क्षतिको राहतबापत अधिकतम रु. २० हजारसम्म प्राप्त गर्न सक्छ । हात्ती वा अन्य ठूला वन्यजन्तुले मानिसको घर वा गोठ भत्काइदिएमा भौतिक क्षतिको मूल्यांकनअनुसार अधिकतम रु. १० हजारसम्म राहत दिने व्यवस्था छ । तुलनात्मक रूपले बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (वफर जोन)मा बस्ने मानिसहरू बढी मात्रामा बाघ र हात्तीको शिकार भएको अवस्था छ । सरकारले सिसिटिभी क्यामेरा जडान गरेर बाघको अनुगमन गर्ने व्यवस्था पनि गरेको छ । बस्ती नजिक बाघ वा हात्ती देखिएको खण्डमा उक्त बस्तीका मानिसहरूलाई सावधानी अपनाएर बस्नेगरी सूचना प्रवाह गर्ने व्यवस्था पनि गरिएको छ । समयसमयमा मध्यवर्ती क्षेत्रका मानिसहरूका निम्ति जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने गरिएको छ । तथापि यत्तिले मात्रै वफर जोन क्षेत्रका मानिसहरूको सुरक्षा हुने देखिँदैन । अहिलेसम्म पनि मध्यवर्ती क्षेत्रका बासिन्दाहरूलाई नियमित रूपमा मोबाइल÷फोन सम्पर्क हुने गरी आवश्यक पर्ने टावरको समेत व्यवस्था गर्न सकिएको देखिँदैन । बर्दियाको खाता र डल्लागाउँ क्षेत्रमा कहिलेकाहीँ मात्र मोबाइलको टावरले काम गर्ने गरेको छ । सबैभन्दा महत्वपूर्ण कुरा, बाघलाई जति क्षेत्रफल आवश्यक पर्ने हो त्यत्तिको व्यवस्था गर्नुपर्दछ । यसका लागि कि त बाघलाई अन्यत्र सार्नु प¥यो कि त भने मध्यवर्ती क्षेत्रको मानव बस्ती सार्नु प¥यो ।

हामीले मानिसको व्यवस्थापन मनपरी किसिमले गरेका छौँ । कुनै नियम कानुन छैन, जता मन लाग्यो उतै बस्न दिएका छौँ । खेतीयोग्य जमिनहरूमा घर र महलहरू ठडिएका छन् । एउटा विषय वा क्षेत्रको दक्ष र विज्ञ मानिसलाई अर्को विषय वा क्षेत्रको विज्ञ पनि बनाएकै छौँ । कुनै पनि विषय वा क्षेत्रको विज्ञ नभएको मानिसलाई पनि सबै क्षेत्रको विज्ञ बनाएर काम लगाएकै छौँ । तर त्यसरी बाघको व्यवस्थापन गर्न थालेर त बाघले मान्छ र पो कसरी ? कि त बाघले पनि सत्ताधारी पार्टीको सदस्यता लिएको हुनु प¥यो । त्यो सम्भवै भएन । त्यसैले पनि मानिसलाई जस्तै लथालिङ्गे किसिमको व्यवस्थापन बाघको गरेर बाघले हाम्रो व्यवस्थापन स्वीकर गर्ने कुरा पनि भएन । कैदीलाई जस्तै खाँदेर राख्न खोजेर बाघले कहाँ मान्छ होला र ! त्यही भएरै अप्रत्यक्ष रूपले हाम्रो संरक्षकको भूमिकामा रहेको बाघ प्रत्यक्ष रूपमा हाम्रो भक्षक भएर गाउँबस्तीतिर प्रवेश गरेको हुनु पर्दछ र यसको शिकार मानिस हुनु परेको छ । केही कमीकमजोरी हामी ज्यान फाल्न तयार हुने मानिसहरूका पनि होलान् । बाँकी जो हजुरहरूको मर्जी ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार