कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा जारी कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी कोहलपुर महोत्सव–२०८२ मा बाँके राष्ट्रिय निकुञ्जलाई चिनाउन स्टलदेखि जंगल सफारीसम्मको व्यवस्था गरिएको छ । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा पुस ९ गतेदेखि सुरु भएको महोत्सवमा ‘भिजिट बाँके नेशलन पार्क–२०२६’ अभियान सुरु गरिएको थियो ।
अभियानको नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । बाँकेको पर्यटन प्रवद्र्धनका लागि महोत्सवस्थलमा बाँके राष्ट्रिय निकुञ्जको छुुट्टै स्टल राखिएको छ । महोत्सवस्थलमा बाँके राष्ट्रिय निकुञ्ज र कोहलपुर उद्योग वाणिज्य संघको सहकार्यमा स्टल राखिएको हो । महोत्सव हेर्न तथा भ्रमण गर्न चाहनेहरूका लागि आयोजकले जंगल सफारीको व्यवस्था गरेको छ ।
महोत्सवलाई मनोरञ्जन मात्रै नभएर पर्यटन प्रवद्र्धनसँग जोड्ने र बाँके राष्ट्रिय निकुञ्जको प्रचारप्रसारका लागि सफारीको व्यवस्था गरिएको हो । आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईका अनुसार बाँकेको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि संघको अगुवाइमा अभियान नै सञ्चालन गरिएको हो ।
उनका अनुसार महोत्सव अवलोकन गर्न आउनेहरूलाई विशेष छुटमा जंगल सफारीको व्यवस्था गरिएको छ । महोत्सव सञ्चालन भएदेखि महोत्सवमा प्रस्तुति दिन आउने कलाकार, व्यवसायीदेखि प्रकृतिप्रेमीहरूलाई जंगल सफारी गराइएको उनले बताए । उनका अनुसार अहिलेसम्म दुई दर्जनभन्दा बढीले जंगल सफारी गरेका छन् ।
महोत्सवमा आउने राष्ट्रिय कलाकारहरूलाई निकुञ्ज घुमाउने उद्देश्य भए पनि उनीहरूको सेड्युल प्याक हुने भएका कारण सबैलाई घुमाउन नसकिएको तर केही कलाकारले जंगल सफारी गरेको उनले बताए । अहिलेसम्म चर्चित कलाकारहरूमध्ये कोहलपुर महोत्सव अवलोकन गर्न आएकी शान्ति श्री परियारले जंगल सफारीका साथै गाभर भ्याली अवलोकन गरेको अध्यक्ष भट्टराईको भनाइ छ ।
‘मनोरञ्जन मात्रै हाम्रो उद्देश्य होइन । यहाँको व्यावसायिक उत्थानका साथै पर्यटन प्रवद्र्धन गर्ने समेत लक्ष्य हो । त्यसैले हामीले पर्यटन प्रवद्र्धनका लागि स्टल नै राखेका छौँ,’ उनले भने । यस्तै सन् २०२६ मा कोहलपुर उद्योग वाणिज्य संघ बाँकेको आन्तरिक पर्यटन प्रवद्र्धनमा लाग्ने उनले बताए । भिजिट बाँके नेशलन पार्क अभियानको प्रचारप्रसारका लागि जमुनाहदेखि कोहलपुरको चौराहासम्म २५ हजार स्टिकर टाँस्ने कार्यक्रमसमेत रहेको उनले बताए ।
महोत्सव अवधिभर पनि विभिन्न रूपमा महोत्सवको प्रचारप्रसार गरिरहेको उनले बताए । अभियानले बाँके जिल्लाको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिमा नयाँ गति दिने अपेक्षा गरिएको अध्यक्ष भट्टराईले बताए । यता, बाँके राष्ट्रिय निकुञ्जले समेत स्टलका लागि कर्मचारी नै खटाएर प्रचारप्रसार गरिरहेको छ । निकुञ्जको प्रचारप्रसार, आन्तरिक पर्यटन, प्राकृतिक स्रोत साधनको प्रवद्र्धन र निकुञ्जलाई विश्वसामु चिनाउने उद्देश्यले संघसँगको सहकार्यमा स्टल राखिएको निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रि निकुञ्जका रेन्जर जयहरी धितालका अनुसार बाँके राष्ट्रिय निकुञ्ज चौका, पाटेबाघ, जंगली हात्ती, वनस्पति, हात्ती सफारी र जंगल सफारीका लागि चर्चित छ । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने, ‘महोत्सवमा निकुञ्जको स्टल राखिएको छ । महोत्सवको उद्देश्य रमाइलो र मनोरञ्जन गर्ने हो । तर हाम्रा गतिविधि प्रचारप्रसारका लागि राखिएको हो । यहाँ आउने अधिकांशले स्टल अवलोकन गर्नुभएको छ ।’
वन्यजन्तु र निकुञ्जका विषयमा जान्न चाहनेहरू व्यक्तिगत रूपमा र सामूहिक रूपमा समेत स्टल अवलोकनका लागि आउने गरेका छन् ।
विशेषगरी विभिन्न विद्यालयका विद्यार्थीहरूसमेत स्टल अवलोकनका लागि आउने गरेको उनको भनाइ छ । स्टलमा निकुञ्जका गतिविधि, निकुञ्जमा पाइने जंगली जनावर, वनस्पति र त्यसको महत्व झल्किने विभिन्न स्टल राखिएको छ । यस्तै बाँके जिल्लाका प्रमुख पर्यटकीय स्थलहरूको समेत फोटा राखिएको छ । निकुञ्जले खटाएका कर्मचारीले निःशुल्क परामर्शसमेत प्रदान गर्ने गरिएको छ ।
यस्तै निकुञ्जले प्रकाशन गरेका विभिन्न प्रकाशनसमेत निःशुल्क वितरण गर्ने गरिएको छ । अहिलेसम्म सयौँले अवलोकन गरिसकेको उनले बताए । बाँके राष्ट्रिय निकुञ्जको पहिचान स्थापित गर्नका लागि निकुञ्जले भ्रमण वर्षको रूपमा घोषणा गरेको भन्दै त्यसलाई सफल बनाउन सबैको भूमिका अहम रहेको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्