किशोरकिशोरीका लागि एकदिने मोटिभेसनल कार्यक्रम



कोहलपुर (बाँके) ।

जिल्लाको कोहलपुरमा किशोरकिशोरीका लागि एकदिने मोटिभेसनल कार्यक्रम सम्पन्न भएको छ । सञ्चारिका समूह बाँकेको आयोजनामा किशोरकिशोरीका लागि एकदिने मोटिभेसनल कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर ११ की वडाध्यक्ष कल्पना अधिकारी शर्माले कार्यक्रमको उद्घाटन गरेकी छन् । उद्घाटन सत्रमा बोल्दै किशोरकिशोरीहरूमा सकारात्मक धारणा आवश्यक रहेकोमा जोड दिइन् ।

‘अहिलेका किशोरकिशोरी नै भोलिका जिम्मेवार नागरिक हुन् । उनीहरूलाई सही मार्गदर्शन दिन स्थानीय तहले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । स्थानीय सरकारले वार्षिक रूपमा यस्ता कार्यक्रम गर्दै आएको छ,’ वडाध्यक्ष शर्माले भनिन् । आगामी दिनमा पनि किशोरकिशोरी लक्षित सशक्तीकरण तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाइ थियो । उनले स्थानीय तहले किशोरकिशोरी लक्षित रचनात्मक तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा चर्चित उद्घोषक तथा कार्यक्रमका वक्ता कोष खड्काले किशोर अवस्थालाई जीवनको निर्णायक समय भएको बताए । यही उमेरमा सही सोच र अनुशासन विकास गर्नसके त्यसपछिको जीवन सफल हुने उनको भनाइ थियो । जीवनका कठिन मोडहरूमा निराश नहुन, आफ्ना सपना चिन्न र लक्ष्यप्रति दृढ रहन सहभागीहरूलाई उनले अपिलसमेत गरेका थिए ।

मोटिभेसनल स्पिकर तथा शिक्षक प्रमोद सुवेदीले विद्यार्थीको अध्ययनशैली तथा परीक्षा तयारीबारे प्रशिक्षण दिएका थिए । उनका अनुसार विद्यार्थीको सफलताको मानक परीक्षा मात्रै होइन । किशोर अवस्थामा देखिने सोच, व्यवहार र निर्णय क्षमताले व्यक्तिको सम्पूर्ण जीवनमा प्रभाव पार्ने सुवेदीको भनाइ थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार