अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने



नेपालगन्ज ।

नेपालगन्जमा पाश्र्व संगीतसहित कविता प्रस्तुतिको कार्यक्रम आयोजना हुने भएको छ । अन्तरालले कवि बीपी अस्तुका एक दर्जनबढी कविताहरू पाश्र्व संगितसहित प्रस्तुत गर्ने कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम पुस १९ गते शनिबार आयोजना हुनेछ । प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए ।

नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समयदेखि सञ्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो ।

कवि अस्तु साहित्य र पत्रकारिताका सशक्त कलम चलाउँछन् । ‘मैले कविता लेख्न सिकेको सहरमै पहिलोपटक एकल कविता प्रस्तुति हुन लागेकोमा म उत्साहित छु,’ कवि बीपीले भने, ‘पाश्र्व संगीतले कविता श्रवणलाई थप प्रभावकारी बनाउनेछ भन्ने विश्वास छ ।’ पाश्र्व संगीतका लागि गायक महेन्द्र सेडाईसहितका संगीतकर्मीहरूले साथ दिनेछन् । हाल कार्यक्रमका लागि रिहर्शल भईरहेको छ ।

अन्तराल श्रृंखला अब हरेक महिना निरन्तरता दिने ढंगले तयारी भइरहेको आयोजकले जनाएको छ । ‘कविता र संगीतको बेजोड प्रस्तुति दर्शक तथा स्रोताहरूले मन पराउने हाम्रो विश्वास छ,’ अन्तरालका प्रमुख कार्यकारी शाह भन्छन्, ‘अन्तरालको यो मञ्चमा आगामी महिनाहरूमा कला, साहित्य, गीतसंगीत र खेलकुदका विशिष्ट व्यक्तित्वलाई प्रस्तुत गरिनेछ ।’

कार्यक्रम निर्धारित समयमा सुरु हुने र दर्शकहरू पलेँटीमा बस्ने प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ । कार्यक्रमअघिको आधा घण्टा भलाकुसारी र जलपानका लागि छुट्याइएको छ । कार्यक्रम सुरु हुनु १० मिनेटअघि हलको ढोका खुल्ने र एक घण्टा कविता प्रस्तुतिको कार्यक्रम रहनेछ । पाँच सय रूपैयाँको टिकट सुरुमा बुकिङ गर्नेहरूलाई ५० प्रतिशत छुटको व्यवस्था पनि मिलाइएको आयोजकले जनाएको छ । टिकट अन्तरालको कार्यालय र विभिन्न क्याफेहरूमा उपलब्ध छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार