बैंक घोटालाका प्रतिवादी मिश्र समानुपातिक उम्मेदवार सिफारिस



नेपालगन्ज ।

नेपालगन्जस्थित कर्णाली विकास बैंकमा बचत अपचलन मुद्दाका प्रतिवादी एवं हाल थुनामा रहेका पशुपतिदयाल मिश्रलाई नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ । स्रोतका अनुसार एमाले बाँकेका अध्यक्ष निरक गुरुङले समानुपातिकतर्फको उम्मेदवारका लागि मिश्रसहितका व्यक्तिहरूको नाम सिफारिस गरेका हुन् ।

मिश्र कर्णाली विकास बैंकमा भएको तीन अर्ब २० करोड ११ लाख ५४ हजारको घोटाला मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । हजारौँ बचतकर्ताहरूको बचत अपचलनमा मुछिएका, अदालतमा मुद्दा विचाराधीन रहेका मिश्रलाई एमाले बाँकेले मधेशी समूहबाट समानुपातिकतर्फको प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउन सिफारिस गरेको हो । उक्त समूहमा बाँकेबाट जयराम यादवको नाम पनि सिफारिस गरिएको छ ।

मिश्र आफ्नो स्वार्थअनुकूल विभिन्न राजनीतिक दल हुँदै पटक–पटक चुनावमा प्रत्यक्ष उम्मेदवार बने पनि असफल बनेका व्यक्ति हुन् । उनी बाँकेको राजनीतिक वृत्तमा दलबदलुका रूपमा परिचित छन् । २०७९ को स्थानीय तह निर्वाचनको ठिक अघि एमालेका अध्यक्ष केपी शर्मा ओली आफैँ आएर पार्टी प्रवेश गराएका र लगत्तै नेपालगन्ज उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार बनाइएका उनी उक्त निर्वाचनमा पनि असफल बनेका थिए ।

उनी हरेक चुनावको बेला चर्चामा आइरहने पात्र हुन् । उनी प्रतिनिधिसभा निर्वाचन २०७४ वाम दलका साझा उम्मेदवार थिए । उनलाई एमाले, माओवादी लगायतका दलहरूले साझा उम्मेदवार बनाएका थिए । तर, उनी त्यसबेला मधेशी जनअधिकार फोरमका इश्तियाक राईसँग पराजित भएका थिए ।

२०७९ को चुनावअघि एक स्वतन्त्र राजनीतिक समूहमा रहेका मिश्रलाई एमालेका अध्यक्ष ओली आफैँ नेपालगन्ज आएर पार्टी प्रवेश गराएका थिए । त्यसपछि एमालेको केन्द्रीय सदस्य बनेका मिश्र २०७९ को स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको नगरप्रमुखका लागि एमालेका उम्मेदवार बनेका थिए । उनी उक्त निर्वाचनमा नेपाली काँग्रेसका प्रशान्त विष्टसँग पराजित भएका थिए ।

मिश्रको राजनीतिक यात्रा पनि नेपाली काँग्रेस, विभिन्न मधेशी दल राजपा, लोसपा हुँदै अन्तमा एमालेकहाँ आइपुगेका थिए । उनलाई जीवन नै एमालेको राजनीतिमा खर्चिएका नेताहरूलाई पाखा लगाउँदै एमालेका अध्यक्ष ओलीले आफ्नो विश्वासपात्रका रूपमा उभ्याउँदै आएका छन् ।

कर्णाली विकास बैंकको बचत अपचलन प्रकरणमा मुछिएपश्चात् पनि उनलाई मधेशी समूहबाट पार्टीको जिल्ला तहबाट समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । बैंकको बचत अपलचन मुद्दामा मिश्रका दाई, २ जना छोरा र एकजना भतिजसमेत पाँच जनालाई प्रतिवादी छन् । मिश्रबाट मात्रै ८२ करोड ४६ लाख २९ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ । २०६० सालदेखि कर्णाली डेभलपमेण्ट बैंकको सञ्चालक समितिको सदस्य रहेका मिश्र २०६६ साल साउन २ गतेदेखि मिति २०७५ साल फागुन ५ गतेसम्म बैंकको अध्यक्ष रहेका थिए ।

पशुपति दयालले ‘आर्थिक हैसियत समेत नभएका’ सन्तोषकुमार सिंहको नाममा अनाधिकृत रूपमा ऋण लिन मानसरोवर अम्युज्मेन्ट पार्क प्रालि खडा गरेको र उक्त कम्पनीलाई १५ करोड कर्जा दिएको आरोप छ । उक्त कम्पनीबाट ब्याज वापतको रकम संस्थामा दाखिला नगरी नगराई कृत्रिम रूपमा सिष्टममा चढाई ऋणको ब्याज भुक्तानी गरेको समेत आरोप छ । ऋणको ब्याज वापतको एक करोड छ्यालीस लाख उन्नाईस हजार नौ सय एकहत्तर रूपैयाँ नतिरी संस्थालाई हानिनोक्सानी गरेको समेत पाइएको अभियोगमा भनिएको छ ।

मिश्रले आफ्नै कम्पनीमा ऋण लिन नपाउने व्यवस्थालाई छल्न सिंहको नाममा कम्पनी खडा गरेका थिए । जब ऋण प्राप्त भयो त्यसपछि उक्त कम्पनीको शेयर पशुपतिदयाल मिश्रको श्रीमती विमला मिश्र, छोराहरू रामकरन मिश्र र ओमप्रकाश मिश्रको नाममा हासिल गराएका थिए ।

मिश्रले २० लाख रूपैयाँ संस्थाकै निक्षेप अपचलन गरी गराई हकप्रद शेयर वापत रकम जम्मा गरेको गराएको देखिएको अभियोगपत्रमा उल्लेख छ । यसबाहेक अपचलनका अरु घटनामा पनि मिश्रसहितले मिलोमतो गरेको आरोप उनीमाथि छ । जसबारे उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा मुद्दा विचाराधीन छ ।

अरु को को भए सिफारिस ?

स्रोतका अनुसार मधेशी समूहबाट मिश्र र यादव सिफारिस गर्दा एमाले बाँकेले खुला समूहबाट होमप्रकाश सुवेदी, बेदनिधि प्याकुरेल, सनत रेग्मी र भक्तबहादुर केसी सिफारिस गरेको छ ।

यसैगरी जनजाति समूहबाट बलदेव पुन र लालबहादुर थापा तथा मुस्लिम समूहबाट मो. हारुन हलवाइलाई अघि सारिएको छ । यस्तै महिला समूहबाट विजया धिताल, थारू समूहबाट रामदास थारू र दलित समूहबाट नन्द विश्वकर्मा सिफारिस गरिएका बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार