शिवु खनाल । दाङ ।
दाङको देउखुरीसहित तराईमा चिसो बढेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तराईमा केही दिनदेखि सुरु भएको शीतलहरले देउखुरीलगायत तराईका जिल्लामा जनजीवन प्रभावित बनेको हो । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । केही दिनदेखि दिनभर बाक्लो हुस्सु र कुहिरो लागेपछि घाम नै देखिएको छैन ।
बाक्लो हुस्सु र कुहिरोले राजमार्गमा सडक दुर्घटना हुने भन्दै सवारीसाधन सीमित गतिमा चलाउन अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीले आग्रह गरेको छ । चिसोबाट बच्न अहिले बजार क्षेत्रका चोक र घरघरमा आगो ताप्न थालिएको छ । चिसो बढेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको छ । चिसोले रिक्सा चलाउने मजदुर बढी मर्कामा परेका छन् ।
विद्यालयमा बालबालिकाको सङ्ख्या पनि जाडोकै कारण घटेको देउखुरी पब्लिक अंग्रेजी माध्यमिक विद्यालयका प्रधानध्यापक भुमाण्डप केसीले जानकारी दिए । जाडोका कारण बजारमा बाक्लो कपडा किन्नेको सङ्ख्या बढेको छ । लमहीको बजार आसपास लगायतका बजारमा बाक्लो कपडा किन्नेको भीड देखिन्छ । लमहीमा चार दिनदेखि निरन्तर शीतलहर सुरु भएपछि जनजीवन पूर्णरूपमा प्रभावित भएको छ ।
शीतलहर चल्न थालेपछि बजार पसलहरू समेत कम खुलेका छन् भने राजमार्गमा चहलपहल पातलिएको छ । चिसोले गर्दा मानिसहरू घरभित्र बस्न बाध्य भएका छन् । अत्यधिक जाडो बढेपछि स्थानीयहरूले चोकचोकमा मुढा बालेर शरीर न्यानो बनाउने प्रयास गरिरहेका छन् । विशेषगरी बजारका पसले, व्यापारी तथा दैनिक मजदुरी गर्ने वर्गलाई चिसोले बढी सताएको छ । लामो समयदेखि घामको मुख देख्न नपाएपछि उनीहरू कामसँगै आगोको सहारा लिन बाध्य छन् ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले आगो ताप्न ठाउँठाउँमा मुढा राखिदिएको छ । अत्यधिक शीतलहर बढेपछि लमहीका विभिन्न स्थानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोकचोकमा आगो बाल्न दाउरा वितरण गरेका छन् । नेपाली सेना ज्वाला दल गण अर्जुनखोलाका प्रमुख दिपक बुढाथोकीको कमान्डमा चिसो प्रभावित स्थानीय तथा यात्रुलाई दाउरा वितरण गरि आगो बाल्ने व्यवस्था गरिएको हो ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले लमही बजार क्षेत्रको मुख्यचोक, लमही बसपार्क, धमिला बोटा, गोल घर, साहा मार्ग, वि.सि.यो. रोड, कान्छी रोड, लमही गल्ली र हाइवे सडक छेवैमा दाउरा बाल्न थालिएको जानकारी दिए । उनले भने, ‘बढ्दो चिसोबाट स्थानीय र यात्रुवर्गलाई जोगाउन तत्काल राहतको कार्यक्रम सुरु गरिएको हो । लमही ५ नम्बर वडा कार्यालय, नेपाली सेना ज्वाला दल गण, वडा प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा गण अर्जुन खोलाको समन्यमा लमही क्षेत्रमा दाउराको व्यवस्थापन गरिएकोे हो । बजार क्षेत्रका आवश्यक स्थानमा दाउरा वितरण गरिरहेका छौँ ।’
समूहका उपाध्यक्ष रवि श्रेष्ठले चिसोबाट कसैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले लमही बजार क्षेत्रका चोकचोकमा दाउरा बाल्ने काम सुरु गरिएको बताए । उनले जाडो छल्न आवश्यक परेमा सामुदायिक वनले थप सुकेका दाउरा व्यवस्था गर्ने बताए । चिसोले खासगरी गरिब विपन्न र दलित बालबालिका र वृद्धहरूलाई झन् समस्या भएको छ । उनीरुसँग लगाउने न्यानो लुगा नभएपछि बाटोमै बसेर आगो ताप्नुको विकल्प नभएको समूहका रिजाल बताउँछन् । उनले भने, ‘चिसो र शीतलहर एक्कासि बढेपछि जाडो छल्न स्थानीय, यात्रुहरू चोकमा काठका मुढा बालेर ताप्न बाध्य भएका छन् ।’









प्रतिक्रिया दिनुहोस्