नेपालगन्ज ।
बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा फेरि चोरीका घटना बढ्न थालेका छन् । केही महिनाअघि व्यापाक रूपमा चोरीका घटना हुने गरेको थियो । प्रहरी सक्रियतापछि चोरीका घटनामा थेरै कमी आए पनि चिसोको मौका छोपेर पछिल्ला केही दिनयता फेरि चोरीका घटना बढ्न थालेका छन् । विशेषतः चोरहरूले पसलहरूमा चोरी गर्न थालेका छन् ।
शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ बुलबुलिया शान्तिनगरस्थित दुई पसलमा एकै समयमा चोरी भएको छ । सो वडामा रहेको नीलसागर आश्रमको ठिक अगाडीको सरिया, सिमेन्ट र पेन्ट पसल र रक्सी पसलमा चोरी भएको छ । चोरहरूले उक्त पसलहरूबाट नगद तथा जिन्सी सामानहरू चोरेर लगेका छन् ।
आइतबार बिहान आठ बजे पसल खोल्ने क्रममा सटर तोडिएको देखिएपछि चोरी भएको थाहा भएको थियो । तत्काल प्रहरीलाई खबर गर्दा ढिलो गरी डेढ घण्टापछि मात्र प्रहरी पुगेकोमा स्थानीयहरूले गुनासो पोखेका छन् । यो वडाको यस क्षेत्रमा पटकपटक चोरीका घटना घटिरहेको अवस्थामा समेत प्रहरीको उपस्थिति यहाँ शून्यप्रायः हुने गरेको स्थानीयहरू बताउँछन् ।
‘प्रहरीले यो क्षेत्रलाई पूर्णरूपमा उपेक्षा गरेको मात्र हैन, यहाँ प्रहरीको छायाँ पनि परेको देखिँदैन्,’ एक स्थानीयको गुनासो थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले भने, ‘त्यो क्षेत्रलाई हामीले ‘शान्त’ क्षेत्रका रूपमा लिएकाले पनि प्रहरी गस्ती हुन नसकेको हो । अर्कोतर्पm, प्रहरी सङ्ख्या प्रशस्त हुँदासमेत सवारीसाधनको अभावमा प्रहरी गस्ती बढाउन नसकिएको हो ।’









प्रतिक्रिया दिनुहोस्