दुई सय १५ प्रहरी जवान दिक्षित



नेपालगन्ज ।

हाल नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रले यस वर्षका नयाँ प्रवेशी प्रहरी जवानहरूलाई दिक्षित गरेको छ । तालिम केन्द्रबाट दुई सय १५ जना प्रहरी जवान दिक्षित भएका हुन् । दिक्षित हुने प्रहरीमा एक सय ४३ जना महिला र ७२ जना पुरुष रहेका छन् । प्रहरी जवान आधारभूत तालिम ९–१४०औँ समूहको दिक्षान्त समारोहबाट उनीहरूलाई कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठको उपस्थितिमा दिक्षित गरिएको हो ।

प्रहरीहरूलाई तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नान्तीराज गुरुङले दिक्षितलाई सपथ ग्रहण गराएका थिए । सपथपछि प्रहरी वरिष्ठ उपरीक्षक गुरुङले प्रहरी जवानहरूलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्य क्षेत्रमा कुशलतापूर्वक उतार्न निर्देशन दिएका थिए । प्रहरीलाई दिक्षित गराउँदै प्रहरी नायब महानिरीक्षक श्रेष्ठले पछिल्लो समय अपराधका शैलीहरू परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतिपूर्ण भएको बताउँदै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम भएर लाग्न निर्देशन दिए ।

प्रहरीले अब कार्य सम्पादनको शैलीलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने पनि आवश्यकता रहेको बताए । दिक्षान्त समारोहमा तालिममा सहभागी भई सर्वोत्कृष्ट बन्न सफल प्रहरी जवान प्रकाश शाही, दीपक विश्वकर्मा र अनिता बुढालाई सम्मान पनि गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार