एमाले बाँकेद्वारा समानुपातिक उम्मेदवार सिफारिस



कोहलपुर (बाँके) ।

बाँकेका दलमध्ये प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस नगरेको नेकपा एमाले बाँकेले समानुपातिकतर्फ भने उम्मेदवार सिफारिस गरेको छ । नेकपा बाँकेका अध्यक्ष निरक गुरुङले राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवारहरूको नामावाली पठाइएको बताए ।

उनका अनुसार पार्टी केन्द्रीय कार्यालयमा पेश गरिएको विवरणअनुसार एमाले बाँकेले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै राष्ट्रियसभा र प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट उम्मेदवार सिफारिस गरेको हो । राष्ट्रियसभातर्फ खस–आर्य महिलाबाट शान्ति ढकाल, अपाङ्गता भएका व्यक्तितर्फ गोपीन्द्र बुढा मगर र पुरुष समूहबाट बाँके क्षेत्र नम्बर १ बाट नरेन्द्र शर्मालाई सिफारिस गरिएको छ ।

त्यसैगरी प्रतिनिधिसभातर्फ खुला समूहबाट बाँके क्षेत्र नम्बर १ बाट होमप्रकाश सुवेदी, क्षेत्र नम्बर २ र ३ बाट बेदनिधि प्याकुरेल, सनत रेग्मी र भक्तबहादुर केसीलाई सिफारिस गरिएको उनले बताए ।

मधेसी समूहबाट पशुपति दयाल मिश्र र जयराम यादव र जनजाति समूहबाट बलीभद्र पुन र लालबहादुर थापालाई सिफारिस गरिएको अध्यक्ष गुरुङले बताए । मुस्लिम समूहबाट मो. हारुन हलवाइको नाम एकल सिफारिस गरिएको उनको भनाइ छ । महिला समूहबाट विजया धिताल, थारु समूहबाट रामदास थारु, फुलसिंह थारु र दलित समूहबाट नन्द विश्वकर्माको नाम सिफारिस गरिएको अध्यक्ष गुरुङले मिसन टुडेलाई जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार