निर्धन स्वास्थ्य सहजकर्ताका लागि क्षमता विकास तालिम



कोहलपुर (बाँके) ।

बाँकेको नेपालगन्जमा निर्धन स्वास्थ्य सहजकर्ताहरूका लागि क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । निर्धन संस्थाद्वारा सञ्चालित ‘युमन इम्पावर थ्रो कम्युनिटी एण्ड रियालायन्स इनह्यानिङ हेल्स सिस्टम’ (वी केयर) परियोजनाअन्तर्गत आयोजित स्वास्थ्य सहजकर्ता तथा सुपरिवेक्षकहरूका लागि क्षमता विकास तालिम सम्पन्न हो ।

संस्थाको आयोजनामा नेपालगन्जमा समुदाय तथा पुनउन्थान उन्मुख स्वास्थ्य पद्धतिमार्फत महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत तालिम सम्पन्न गरिएको निर्धन संस्थाले जनाएको छ । तालिमको समापन सत्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष तरुण बज्राचार्यले परियोजनालाई समुदायमा सक्रिय भएर काम गर्न सल्लाह सुझाव दिएका थिए ।

परियोजनामार्फत महिला सशक्तीकरण र महिलाहरूको क्षमता विकासमा काम गर्न र उक्त काममा स्थानीय सरकारको भरपुर साथ रहने उनले बताए । उक्त अवसरमा बोल्दै निर्धनका क्षेत्रीय कार्यालय प्रमुख मिनबहादुर हमालले यो परियोजनाले सीमान्तकृत महिलाहरूलाई लक्षित गरी अघि बढाएको बताए ।

समुदायस्तरमा कार्यरत स्वास्थ्य सहजकर्ता तथा सुपरिवेक्षकहरूको प्राविधिक क्षमता, लैङ्गिक संवेदनशीलता, सेवा प्रवाहको गुणस्तर तथा प्रभावकारी समन्वयलाई सुदृढ बनाउने उद्देश्यले तालिम आयोजा गरिएको उनले बताए । उनका अनुसार महिला, किशोरी तथा संवेदनशील घरपरिवारहरूको स्वास्थ्य तथा सहनशीलता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

तालिम अवधिभर सहभागीहरूलाई अधिकार–आधारित र लैङ्गिक संवेदनशील आधारभूत स्वास्थ्य सेवा, प्रजनन, मातृ, नवजात शिशु, बाल तथा किशोर स्वास्थ्य, समुदायसँग प्रभावकारी सञ्चार, प्रतिवेदन तथा अनुगमनका विषयहरूमा व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको जनाइएको छ । समसामयिक स्वास्थ्य चुनौतीहरूमा समुदायस्तरमा प्रभावकारी प्रतिक्रिया जनाउन आवश्यक तयारी र सूचना प्रवाहमा पनि जोड दिइएको छ ।

त्यसैगरी निर्धन उदयपुर शाखाका शाखा प्रमुख उमानन्द तिमिल्सिनाले महिलाहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण परिवर्तन ल्याउनमा यस परियोजनाले मुख्य भूमिका खेल्ने बताएका थिए । फिल्ड म्यानेजर रेमन बुढा क्षेत्रीले परियोजना बाँके, बर्दिया र दाङ जिल्लामा सञ्चालन भइरहेको बताए । पहिलो चरणमा बाँके जिल्लामा विगत एक वर्षदेखि परियोजना सञ्चालनमा रहेको छ । जिल्लाका आठ वटै स्थानीय तहमा परियोजना सञ्चालनमा रहेको उनको भनाइ छ ।

आठवटै पालिकामा ४५ जना प्रतिनिधि रहेको र उनीहरूले समुदायमा परियोजनाअन्तर्गत रहेर स्थानीय सरकारको सहकार्यमा काम गरिरहेको म्यानेजर बुढाक्षेत्रीले बताए । अबका ५ वर्षसम्म स्वास्थ्य क्षेत्रमा स्थानीय सरकार, प्रदेश सरकारसँगको साझेदारी र समन्वयमा काम गर्नेछ । यसका लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य कार्यकर्ताले विशेष भूमिका निर्वाह गर्नेछन् । तालिमको सहजीकरण पुष्पराज भट्ट र फिल्ड म्यानेजर रेमन बुढा क्षेत्रीले गरेका थिए । तालिममा निर्धन स्वास्थ्य सहजकर्ताहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार