कोहलपुर ।
कोहलपुर नगरपालिकाले नगरभित्र रहेका मेलमिलापकर्ताहरुलाई मेलमिलापसम्बन्धी दुईदिने पुनर्ताजगी तालिम प्रदान गरेको छ ।नगरपालिकाको न्यायिक समितिको अयोजनामा नगरपालिकाभित्र रहेका १५ वटै वडाका मेलमिलापकर्ताहरुलाई दुईदिने पुनर्ताजगी तालिम प्रदान गरेको हो ।
‘मेलमिलापः विवादको अन्त्य, मित्रताको सुरुवात’ भन्ने मूल नाराका साथ दुईदिने पुनर्ताजगी तालिम दिइएको कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताए । उनले मेलमिलापकर्ताहरुले सक्रिय रुपमा काम गर्दै आएको बताउँदै तालिमले थप काम गर्न आत्मबल बढाएको उल्लेख गरे ।
पहिलादेखि काम गर्दै आए पनि समयअनुसार ऐन र कानुनहरु परिवर्तन हुने भएकाले पुनर्ताजगी तालिम आवश्यक रहेको बताउँदै उनले तल्लो तहमा रहेर मेलमिलाप गर्न खटिएका मेलमिलापकर्ताका कारण सामान्य विवादहरु प्रहरी र अदालतसम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताए ।
प्रत्येक वर्ष मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम प्रदान गर्दै आएको कोहलपुर नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक संगीता सुवेदीले बताइन् ।
यसैका कारण अहिले सामान्य घरझगडादेखि जग्गाका विवादहरु वडाबाटै मेलमिलाप हुने गरेको उनले बताइन् । पुनर्ताजगी तालिमले काम गर्दै जाँदा भुलेका र नयाँ कुराहरु धेरै सिक्ने अवसर मिल्ने गरेकाले यस्ता कार्यक्रमलाई निरन्ता दिइएको बताउँदै उनले मेलमिलापकर्ताहरुले गरेको कामको प्रशंसा गर्दै तालिमले थप प्रोत्साहन मिल्ने बताइन् ।
तालिममा सहभागी कोहलपुर–११ का मेलमिलापकर्ता देबसिंह जिसीले दुईदिने तालिमले बिर्सेका कुराहरु पुनः सम्झन मद्दत पुगेको भन्दै तालिम वर्षमा एक पटक मात्र नभई कम्तीमा दुई पटक हुन आवश्यक रहेको उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्