उनीहरू हुन् कमल–५ मंगलबारे झापाका दिपा लिम्बु र उनका श्रीमान् राम मगर । उनीहरू आफ्नो छोराको उपचारका लागि आवश्यक रकम जोहो गर्न झापादेखि कोहलपुरसम्म आइपुगेका हुन् । उनका छोरा चुहान मगर निमोनियाका कारण बिरामी छन् । बुबा राम मगरका अनुसार चुहान दश महिनाको हुँदादेखि यस्तो समस्या देखिन सुरु गरेको थियो । अहिले भने निमोनियाका कारण टाउको ठूलो हुँदै गएको उनले बताए ।
कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका–११ को हरियाली मार्ग । जहाँ सडकमै कोहलपुर महोत्सवका लागि भव्य गेट निर्माण गरिएको छ । कोहलपुर नगर विकास समितिको कार्यालय प्रवेश गर्ने गेट नजिकै मूल सडकमै केही दिनयता एउटा अनौठो दृश्य देखिन्छ । त्यहाँ आफ्नो छोराको ज्यान बचाइदिन अपिल गरिएको ब्यानर टाँगेर उभिएका भेटिन्छन्, एक दम्पत्ती ।
उनीहरू हुन् कमल–५ मंगलबारे झापाका दिपा लिम्बु र उनका श्रीमान् राम मगर । उनीहरू आफ्नो छोराको उपचारका लागि आवश्यक रकम जोहो गर्न झापादेखि कोहलपुरसम्म आइपुगेका हुन् । उनका छोरा चुहान मगर निमोनियाका कारण बिरामी छन् । बुबा राम मगरका अनुसार चुहान दश महिनाको हुँदादेखि यस्तो समस्या देखिन सुरु गरेको थियो । अहिले भने निमोनियाका कारण टाउको ठूलो हुँदै गएको उनले बताए ।
आफूहरूको आर्थिक अवस्था कमजोर भएका कारण छोराको उपचारका लागि सहयोगको याचन गर्दै आफूहरू देशका विभिन्न स्थानमा हुने महोत्सवहरूमा पुगिरहेको उनले बताए । ‘मेरो छोराको टाउकोमा पानी जमेको छ । निमोनियाका कारण यस्तो भएको हो । बाबु दश महिनाको हुँदादेखि यस्तो समस्या देखिन थालेको हो । अहिले त धेरै समस्या भइसकेको छ,’ उनले भने ।
चुहान अहिले पाँच वर्षका भए । उमेरभन्दा उनको टाउको निकै ठूलो छ । त्यसका कारण उनी हिँडडुल गर्न, बोल्नसमेत सक्दैनन् । उनले आफू छोराको उपचारको लागि आर्थिक सहयोग माग्दै हिँडिरहेको बताए । कोहलपुरमा महोत्सव लाग्दैछ भन्ने थाहा पाएर दम्पत्ती स्थलमार्ग हुँदै कोहलपुर पुगेको मगरले बताए ।
अहिलेसम्म छोराको उपचारको लागि धेरै अस्पतालमा पुगिसकेको र आर्थिक अवस्था कमजोर हुँदा समस्या भइरहेको उनको भनाइ छ । पटकपटक टाउकोबाट पानी निकाल्ने गरेको र पानी निकाल्दा उपचार खर्च निकै महंगो पर्ने उनले बताए । आफ्नो कान्छो छोरालाई बचाउनका लागि आफूले सबै काम छोडेको मगरले जानकारी दिए । उनका घरमा दुईजना छोरी छन् । उनीहरू छिमेकीको भरमा छोडेर आएको उनको भनाइ छ ।
उनी भन्छन्, ‘एकपटक टाउकोबाट पानी निकालेको हो । केही सन्चो भएको थियो । नियमित उपचार गर्न नसक्दा समस्या बल्झियो । यस्तो अवस्था छ,’ डाक्टरको सल्लाहमा नियमित रूपमा औषधि चढाइरहेको छ । उनको टाउकोको शल्यक्रियाका लागि एकमुष्ट १०–१५ लाख रूपैयाँ आवश्यक छ । एकपटक टाउको पानी तान्दा २–३ लाख रूपैयाँ खर्च हुन्छ । एकमुष्ट रकम जम्मा गर्न नसक्दा शल्यक्रिया हुन नसकेको उनले बताए ।
नियमित अस्पताल लैजान र औषधिमा आफूसँग भएको सुन, जग्गासमेत बेचेको मगरले मिसन टुडे दैनिकलाई जानकारी दिए । कोहलपुर महोत्सव अवधिभर यतै बस्ने र सहयोग संकलन गर्ने उद्देश्य रहेको उनले सुनाए । महोत्सवमा राम्रो आर्थिक संकलन भइरहेको उनको भनाइ छ। महोत्सवको उद्घाटनका दिन पाँच हजार रूपैयाँ जति संकलन भएको थियो । दोस्रो दिन पनि सोही रकमकै हाराहारीमा जम्मा भएको उनले अवगत गराए । महोत्सव अवलोकन गर्न आउनेहरूले स्वतःस्फूर्त रूपमा छोराको अवस्था हेरेर सहयोग गरिरहेको भन्दै सबैप्रति उनले कृतज्ञतासमेत प्रकट गरेका छन् ।
न्यूनतम् ५ रूपैयाँदेखि ५ सय रूपैयाँसम्म महोत्सव अवलोकन गर्न आउनेहरूले गरिरहेका छन् । उनले मेलामा आउनेहरूलाई छोराको उपचारको लागि सहयोगको अपिलसमेत गरेका छन् । यस्तै इसेवामार्फत पनि सहयोग गर्न चाहनेहरूले सहयोग गर्न सक्ने उनको भनाइ छ । रामकी श्रीमती दिपा लिम्बु पनि आफ्नो छोराको ज्यान बचाइदिन आग्रह गर्दै भन्छिन्, ‘छोराको उपचारको लागि झापाबाट आएका छौँ । छोराको ज्यान बचाइदिन सम्पूर्णलाई आग्रह गर्न चाहन्छु ।’








प्रतिक्रिया दिनुहोस्