जीतबहादुर शाह
कोडोकुशी जापानी शब्द हो । नेपालीमा कोडोकुशीको शाब्दिक अर्थ ‘एक्लो मृत्यु’ हुन्छ । यो जापानमा एउटा गम्भीर सामाजिक समस्याको रूपमा चिनिएको छ । जापानमा सन् २०२४ मा ७६ हजार मानिसहरू कोडोकुशीको शिकार भएका छन् । यो समस्या जापानमा मात्र सीमित छैन । यो अहिले एउटा विश्वव्यापी समस्याको रूपमा उब्जिरहेको छ । जापानले यसलाई धेरै पहिलेदेखि महसुस गरेको र यसका लागि ‘कोडोकुशी’ जस्तो विशिष्ट शब्द प्रयोग गरेकाले मात्र हामीलाई यो जापानको मात्र समस्या जस्तो लागेको हो । एक्लो मृत्यु सम्झँदा पनि डरलाग्दो, अत्यासलाग्दो र भयावह अनुभूत हुने । तथापि मानिस खुसी, तथाकथित स्वाभिमान र व्यक्तिगत स्वतन्त्रताको नाममा त्यतैतिर उन्मुख भइरहेको देखिन्छ । मानिस ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो भनेको यही होला । मानिस जब असामाजिक र व्यक्तिवादी हुन थाल्यो, त्यसपछि यो समस्या संसारभर विकराल हुँदै गइरहेको छ । जापानको कोडोकुशी जस्तै दक्षिण कोरियामा यसलाई ‘गोदोक्सा’ भनिन्छ । त्यहाँ पनि एक्लै बस्ने वृद्धवृद्धाहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । कोरियाली सरकारका अनुसार सन् २०२३ मा मात्रै ३६ सयभन्दा बढी मानिसको ‘एक्लो मृत्यु’ भएको थियो । अचम्मको कुरा त के छ भने, कोरियामा ५० देखि ६० वर्षका अविवाहित वा सम्बन्धविच्छेद भएका पुरुषहरू यसबाट सबैभन्दा बढी प्रभावित छन् । मलाई लाग्छ, अविवाहित र सम्बन्धविच्छेद पनि व्यक्तिगत स्वतन्त्रताको अर्को परिचायक हो जसको कारणले एक्लो मृत्युको सामना गर्नु पर्ने भयो । बेलायतमा यो समस्या यति गम्भीर भयो कि सन् २०१८ मा सरकारले संसारमै पहिलो पटक ‘एक्लोपन मन्त्री’ (ःष्लष्कतभच ायच ीयलभष्लिभकक) नियुक्त ग¥यो । त्यहाँ लाखौँ वृद्धवृद्धाहरू हप्तौँसम्म कसैसँग कुरा नगरी बस्छन् । बेलायतमा पनि घरमा मृत भेटिने र धेरै दिनसम्म कसैले थाहा नपाउने घटनाहरू बढ्दै गएका छन् ।
अमेरिकामा पनि ‘एक्लोपनको महामारी’बारे सर्जन जनरलले चेतावनी दिइसकेका छन् । जर्मनी, स्विडेन र फ्रान्स जस्ता देशहरूमा पनि वृद्धवृद्धाहरू एक्लै बस्ने र सामाजिक रूपमा अलग्गिने प्रवृत्ति बढ्दो छ । पश्चिमा देशहरूमा व्यक्तिगत स्वतन्त्रतालाई धेरै महत्व दिइने हुनाले मानिसहरू परिवारबाट छिट्टै अलग हुन्छन्, जसको एउटा पाटो वृद्धावृद्धाहरूले सामना गरिरहेको एक्लोपन पनि हो । चीनमा यो समस्यालाई खाली गुँड (भ्mउतथ ल्भकत) भनेर नामाकरण गरिएको छ । चीनमा पनि यो समस्या बढ्दै गएको छ, जहाँ छोराछोरी कामको लागि सहरतिर जान्छन् र आमाबुबा गाउँमा एक्लै छुट्छन् । थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा पनि यो प्रवृत्ति देखिन थालेको छ । अरुको कुरा किन गर्ने र ! नेपालमा पनि गाउँवस्तीहरू वृद्धाश्रममा परिणत हुने क्रम जारी छ । यसबाट आउने नतिजा र उपलब्धि भनेकै अन्ततः एक्लो मृत्यु नै हो ।
पहिले जापानमा पनि नेपालमा जस्तै संयुक्त परिवारको पद्धति थियो । तर अहिले धेरैजसो मानिसहरू ‘न्यूक्लियर फेमिली’मा बस्छन् । छोराछोरी कामको सिलसिलामा सहर जान्छन् र आमाबुबा गाउँमा वा सहरकै अर्को कुनामा एक्लै बस्छन् । मानिस अहिले भौतिक दुनियाँमा रमाउनका लागि गाडी, घर आदिको चक्करमा रुमल्लिरहेको छ । यसका लागि बैङ्क र सरकारबाट ऋण लिएको छ । ऋणको नियमित किस्ता तिर्नका लागि मानिसले सम्बन्ब्धलाई भन्दा पनि कामलाई प्राथमिकता दिइरहेको देखिन्छ । यसले गर्दा वृद्धवृद्धाहरूको दैनिक जीवनमा परिवारको निगरानी कम हुँदै गएको छ । जापानिज भाषा र संस्कृतिमा एउटा शब्द छ – मेइवाकु जसलाई नेपालीमा अनुवाद गरेर बुझ्दा ‘अरुलाई दुःख नदिनु’ भन्ने हुन्छ । धेरै वृद्धवृद्धाहरू आफू बिरामी हुँदा वा गाह्रो हुँदा पनि छोराछोरी वा छिमेकीलाई दुःख हुन्छ भनेर सहयोग माग्दैनन् । उनीहरू आफ्नो समस्या आफैँ झेल्न चाहन्छन्, जसले गर्दा उनीहरू झन् एक्लिँदै जान्छन् ।
जापान मात्र होइन विकसित देशका मानिसहरूको व्यस्त जीवनशैलीमा मानिसहरू आफ्नो छिमेकीसँग पनि खासै बोल्दैनन् । कतिपय अवस्थामा त वर्षौँसम्म सँगै बसेका छिमेकीको नाम समेत थाहा हुँदैन । यो ‘अदृश्य पर्खाल’का कारण कसैको मृत्यु हुँदा पनि हप्तौँसम्म कसैलाई थाहा हुँदैन । यसको देखासिकी भनौँ वा भूमण्डलीकरणको प्रभाव, हामीले पनि यस्ता संस्कार र संस्कृतिको नक्कल गरिरहेका छौँ । हाम्रा पनि घरहरू छन् । कोही कोठामा घरबेटी बस्छन् । बाँकी कोठामा बहालवाला बस्छन् । उनीहरूको बीचमा मानवीय सम्बन्ध भन्दा पनि लेनदेन र आर्थिक कारोवारको सम्बन्ध मात्रै अधिक हुने गर्दछ । कसको के समस्या छ ? कसलाई सञ्चो विसञ्चो के छ ? थाहै हुँदैन । परिचय सोध्ने पनि फुर्सद हुँदैन । कसैलाई सञ्चै हुनुहुन्छ भनेर सोधेपछि पनि उसको सञ्चोविसञ्चोको प्रतिक्रिया आउँदा नआउँदै मानिस अगाडि बढिसकेको हुन्छ । जीवनमा हार्दिकता भन्दा पनि औपचारिकता चलिरहेको छ । दिनदिनै सञ्चोविसञ्चो सोध्ने मानिसले समस्या आइप¥यो भने एकदिन पनि सहयोग गर्ने अवस्था छैन । मानिसले उन्नति किन ग¥यो ? जवाफ स्पष्ट छ – दुःख कम गर्न, आयु बढाउन र जीवन सहज बनाउन । तर, हामीले ‘साधन’ (पैसा, सुविधा, करियर)लाई नै ‘साध्य’ (खुसी र सन्तुष्टि) मान्यौँ । हामीले घर त ठूला बनायौँ, तर ती घरभित्र बस्ने मानिसहरूबीचको आत्मीयता र सम्बन्धका पर्खालहरू भने भत्काउँदै गयौँ । घरभित्रका कोठाहरूलाई जसरी पर्खालहरूले अलग गरिदिएको छ त्यसरी नै फरकफरक कोठामा रहनेबस्ने मानिसहरूको सम्बन्ध पनि अलग गरिदिएको छ । पल्लो कोठाकोले अलिकति चिच्यायो र करायो भने यतापट्टिको कोठामा बस्नेको रिसको पारो चढिहाल्छ । उसलाई होस हुँदैन कि आफूलाई कुनै गाह्रोसाह्रो पर्दा पल्ल्लो कोठाको हल्ला गर्ने मानिस पनि चाहिन्छ ।
किन बढ्दैछ यो समस्या विश्वभर ? सहरीकरण बढ्दो छ । मानिसहरू गाउँ र समुदायबाट अलग्गिएर सहरका साना फ्ल्याटहरूमा सीमित हुँदैछन् । पारिवारिक मूल्यमा ह्रास आएको छ । संयुक्त परिवारको अवधारणा र नातागोताबीचको सम्बन्ध पातलिँदै गएको छ । मानिस प्रविधिको मालिक होइन कि दास भएको छ । मानिसहरू सामाजिक सञ्जालमा व्यस्त छन्, तर वास्तविक जीवनमा छिमेकीसँग बोल्न पनि हिचकिचाउँछन् । आधुनिक उन्नतिले मानिसलाई ‘व्यक्तिगत स्वतन्त्रता’ दियो । अब कोही पनि परिवार वा समाजको दबाबमा बस्नु पर्दैन । तर यही चरम स्वतन्त्रताले मानिसलाई ‘एक्लो’ पनि बनायो । जब मानिसलाई अरूको आवश्यकता नै पर्दैन भन्ने घमण्ड वा सोच विकसित हुन्छ, तब उसले आफ्नो सामाजिक घेरा सानो बनाउँदै लैजान्छ । विकसित मुलुकहरूले कूल ग्राहस्थ उत्पादन अर्थात् जीडीपी बढाउनमा ध्यान दिए, तर ‘सामाजिक पूँजी’ जस्तो कि छिमेकीसँगको सम्बन्ध, पारिवारिक एकता र समुदायको भावनालाई बेवास्ता गरे । कोडोकुशी त्यही सामाजिक पूँजीको अभावको परिणाम हो । धेरैजसो सरकारहरूले वृद्धवृद्धाहरूलाई केवल पेन्सन र स्वास्थ्य उपचार खर्चलाई ‘बोझ’ वा ‘आर्थिक दायित्व’को रूपमा मात्र हेर्ने गर्छन् । उनीहरूलाई ‘मानवीय सम्पत्ति’को रूपमा हेर्ने दृष्टिकोणको कमी छ । उनीहरूको अनुभवले नयाँ पुस्तालाई गलत बाटोमा लाग्नबाट जोगाउन सक्छ र नीति निर्माणमा सहयोग पु¥याउन सक्छ भन्ने विषयमा बजेट छुट्याइँदैन । सरकारहरू प्रायः त्यस्ता योजनामा लगानी गर्न रुचाउँछन् जसको नतिजा तुरुन्तै देखिन्छ, जस्तैः सडक, टावर वा उद्योग आदि । सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा गरिने लगानीको परिणाम देखिन समय लाग्छ । वृद्धवृद्धाहरूको अनुभव सुन्ने ‘चौतारी’ वा ‘डे–केयर सेन्टर’ बनाउनुलाई धेरैले अनुत्पादक खर्च मान्ने गर्छन् ।
वृद्धवृद्धाहरू भनेको कुनै पनि देशका लागि ‘चल्ताफिर्ता विश्वविद्यालय’ हुन् । उनीहरूसँग दशकौँको अनुभव, सीप र ज्ञान हुन्छ । यदि सरकारले उनीहरूलाई एक ठाउँमा भेला गराएर उनीहरूको अनुभव सुन्ने र उपयोग गर्ने वातावरण मिलाउने हो भने, यसले वृद्धवृद्धाहरूलाई ‘म अझै समाजका लागि उपयोगी छु’ भन्ने आत्मसम्मान दिन्छ र देशलाई अमूल्य ज्ञान पनि । जब वृद्धवृद्धाहरू खुसी हुन्छन् र सामाजिक रूपमा सक्रिय हुन्छन्, उनीहरू कम बिरामी पर्छन् । यसले गर्दा सरकारको स्वास्थ्य बजेटमा अर्बौँ रूपैयाँ समेत बचत हुन्छ । उनीहरूले नयाँ पुस्तालाई परम्परागत सीप, इतिहास र जीवन जिउने कला सिकाउन सक्छन् । यदि समुदायमा वृद्धवृद्धाहरूको सक्रिय उपस्थिति र निगरानी भयो भने युवाहरू गलत बाटोमा लाग्ने सम्भावना कम हुन्छ । जब सरकारले नै वृद्धवृद्धाहरूको अनिवार्य जमघटको व्यवस्था गर्दछ, कोही व्यक्ति अनुपस्थित भएमा तुरुन्तै उसको अवस्थाबारे थाहा पाउन सकिन्छ । एक्लो मृत्युको भयावहबाट मानिसलाई मुक्त गर्नका लागि जापानले ‘वाच–ओभर’ सेवा सञ्चालन गरेको छ । जसमा ग्यास, बिजुली र हुलाकका कर्मचारीहरूले कुनै घरमा लामो समयदेखि ग्यास, बिजुली खपत नभएको वा हुलाक नउठाएको देखेमा प्रहरीलाई खबर गर्ने व्यवस्था गरिएको छ । छिमेकीहरूले एकअर्काको ख्याल गर्ने र बिहानै ढोकामा ‘म ठीक छु’ भन्ने सङ्केत राख्ने जस्ता अभियानहरू सुरु भएका छन् । म ठिक छु भन्ने सङ्केत देखिएन भने बुझ्नु प¥यो कि त्यहाँ केही बेठिक छ । घरमा सेन्सरहरू राख्ने गरिएको छ जसले व्यक्तिको हलचल नभएमा तुरुन्तै केयर सेन्टरमा सूचना पठाउँछ । यत्ति होसियारी अपनाउँदा पनि धेरै कुरा सम्भव भइरहेको छैन ।
यसको कारण भनेको जापानमा संसारकै सबैभन्दा तीव्र गतिमा वृद्धहरूको वृद्धि हुँदै गएको देश हो । त्यहाँ युवाहरूको सङ्ख्या कम र वृद्धहरूको सङ्ख्या धेरै छ । सरकारले धेरै प्रयास गरे पनि सबै वृद्धवृद्धाहरूलाई २४सै घण्टा निगरानी गर्न स्रोत र साधनको कमी हुने गर्दछ । यसरी नै नेदरल्याण्डले आफ्ना केही नर्सिङ होमहरूमा विद्यार्थीहरूलाई निःशुल्क बस्न दिने गर्दछ र बदलामा उनीहरूले वृद्धवृद्धाहरूसँग समय बिताउनु पर्छ । भुटानमा वृद्धवृद्धाहरूलाई धार्मिक र सामाजिक कार्यमा सक्रिय रूपमा संलग्न गराइन्छ, जसले उनीहरूको मानसिक स्वास्थ्य राम्रो राख्छ । हाम्रो जस्तो देशमा पनि गाउँ–गाउँमा ‘पाटी–पौवा’ र ‘चौतारी’को संस्कृति थियो, जहाँ वृद्धवृद्धाहरू बसेर गफ गर्थे र सल्लाह दिन्थे । अहिले त्यो संस्कृति हराउँदै छ । सरकारले प्रत्येक वडामा एउटा ‘अनुभव केन्द्र’ वा ‘ज्येष्ठ नागरिक मिलन केन्द्र’ स्थापना गरेर उनीहरूलाई भत्ता मात्र दिने होइन, सम्मान र समय पनि दिने नीति ल्याउनु पर्छ । स्थानीय सरकारहरूसँग स्रोत र अधिकार दुवै छ, तर इच्छाशक्ति र प्राथमिकताको भने अभाव देखिन्छ । हाम्रा स्थानीय सरकारहरू अहिले पनि देखिने विकासको मोहमा बढी फसेका छन् । उनीहरूलाई लाग्छ कि बाटो पिच गर्नु, भ्यू–टावर बनाउनु वा कंक्रिटको गेट बनाउनु नै ठूलो उपलब्धि हो । तर, समाजको मानवीय र सामाजिक विकास, जसमा वृद्धवृद्धाहरूको सम्मान र सुरक्षा पर्छ, त्यसलाई उनीहरूले अझै पनि ‘अनुत्पादक’ मान्ने गरेका छन् । उनीहरूलाई भत्ता दिएपछि जिम्मेवारी सकियो भन्ने सोच हावी भएको छ तर वृद्धवृद्धालाई पैसाभन्दा बढी साथ, सम्मान र सक्रियता चाहिन्छ भन्ने कुरालाई बेवास्ता गरिन्छ ।
गाउँघरमा त अझै पनि छिमेकीले वास्ता गर्छन्, तर काठमाडौँ, पोखरा, बुटवल जस्ता ठूला सहरका कोलोनी र फ्ल्याटहरूमा ‘अदृश्य कोडोकुशी’ सुरु भइसकेको छ । छोराछोरी विदेशमा छन्, आमाबुबा महँगो घरभित्र एक्लै बिरामी अवस्थामा छन् । सरकारले यो भविष्यको ठूलो सामाजिक संकट हो भनेर अझै बुझिसकेको छैन । हामी अझै पनि ‘हाम्रो त संस्कार छ, हामी त बुवाआमालाई पाल्छौँ नि’ भनेर घमण्ड गर्छौँ । तर वास्तविकता बदलिँदै छ । धेरै वृद्धवृद्धाहरू आफ्नै घरभित्र एक्लोपनको शिकार भइरहेका छन् । यो यथार्थलाई स्वीकार गरेर अरु केही गर्न नसके पनि पुराना रितिथितिलाई प्रवर्धन गर्दै प्रत्येक वडामा एउटा पुस्तकालय, चिया र गफ गर्ने ठाउँ भएको केन्द्र बनाउन सकिन्छ । हप्ताको एक दिन विद्यालयका विद्यार्थीहरू र वृद्धवृद्धाहरूलाई भेट गराएर कथा र अनुभव सुन्ने कार्यक्रम राख्न सकिन्छ । वडाका युवाहरूलाई परिचालन गरेर एक्लै बसेका वृद्धवृद्धाहरूको स्वास्थ्य र खानपानको नियमित जानकारी लिन सकिन्छ । आधुनिक सभ्यता र विकासका कारण मानिसले भौतिक सुख–सुविधा, विज्ञान र प्रविधिको क्षेत्रमा चरम उन्नतिमा पुगे पनि अन्त्यमा ऊ एक्लै र बेवारिसे मर्नुपर्छ भने, त्यो ‘उन्नति’को अर्थ पो के रह्यो र । बाँकी जो हजुरहरूको मर्जी !









प्रतिक्रिया दिनुहोस्