कोहलपुर ।
प्राज्ञिक विद्यार्थी परिषद् ज्ञान बहुमुखी क्याम्पस इकाईको आयोजनामा बुधबार ‘युवाको आवाजः आजको आवश्यकता’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । परिषद्का संयोजक सुवास चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै क्याम्पस प्रमुख टेकबहादुर गुरुङले अहिले शिक्षा टिकाउ र बिकाउ दुवै हुनुपर्ने बताए ।
साहित्यकार महानन्द ढकालले देश निर्माणको निर्णायक शक्ति भनेकै युवा शक्ति भएको भन्दै युवाहरूलाई सृजनशील नबनाएसम्म देशले आमुल परिवर्तन गर्न नसक्ने जिकिर गरे । करिब डेढसय विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा एक दर्जन बढी प्रतियोगी युवाहरूले आफ्ना विचारहरू राखेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः मनकुमारी आचार्य, शिवराज थापा, सङ्गीता कटुवाल र विनोद बोहरा भएका थिए । प्राज्ञ ढकाल संयोजक एवम् उपप्राध्यापक विमला खत्री र उपप्राध्यापक मणिप्रसाद गैरे सदस्य रहेको निर्णायक मण्डलले निर्णय सार्वजनिक गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्