ख्रीष्टमसः विश्वासको उज्यालो, नेपाली मनको प्रश्न र मानवीय विवेकको खोज



व्यवहारमा शिक्षा, स्वास्थ्य र राहतसँग धर्म मिसिएको आरोप बारम्बार उठ्ने गरेको छ । ख्रीष्टमसको समयमा हुने उपहार वितरण, साँस्कृतिक कार्यक्रम र प्रार्थनाले कतिपयलाई आकर्षित गर्छ । यहाँ राज्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । राज्य न त मौन बस्न मिल्छ, न त पूर्वाग्रही हुन । स्पष्ट नीति, कानुनको निष्पक्ष कार्यान्वयन र सामाजिक संवाद नै समाधानको बाटो हो ।

डा.डक्टप्रसाद धिताल

ख्रीष्टमसको उत्पत्ति ईसाई धर्मसँग प्रत्यक्ष सम्बन्धित छ । यो पर्व येशू ख्रीष्टको जन्मदिनको स्मरणमा मनाइन्छ, जसलाई इसाई धर्मावलम्बीहरूले उद्धारकर्ता र परमेश्वरको पुत्रका रूपमा मान्छन् । ऐतिहासिक रूपमा ख्रीष्टमसको सुरुवात चौथो शताब्दीमा भएको मानिन्छ, जब रोमन साम्राज्यले २५ डिसेम्बरलाई येशूको जन्मदिनका रूपमा आधिकारिक रूपमा स्वीकार ग¥यो । त्यसअघि विभिन्न संस्कृतिहरूमा शीतकालीन संक्रान्ति (ध्ष्लतभच क्यकितष्अभ) मनाउने परम्परा थियो, जसलाई पछि ख्रीष्टमससँग जोडिएको देखिन्छ । समयसँगै यो पर्व धार्मिक मात्र नभई सामाजिक र साँस्कृतिक उत्सवका रूपमा विकसित हुँदै विश्वव्यापी महत्व प्राप्त ग¥यो । आज ख्रीष्टमस विश्वका करिब सबै देशमा मनाइन्छ । इसाई धर्मावलम्बीहरूको लागि यो सबैभन्दा ठूलो धार्मिक पर्व हो भने गैरइसाईहरूका लागि पनि यो प्रेम, करुणा, क्षमा, शान्ति र सद्भावको प्रतीकका रूपमा स्वीकार गरिएको छ । यस दिन परिवार र समुदायबीच भेटघाट, उपहार आदानप्रदान, सजावट, भोज, गीत–संगीत र रमाइलो गरिन्छ । ख्रीष्टमसले मानिसलाई धार्मिक सीमाभन्दा माथि उठेर मानवताको साझा मूल्यहरूलाई आत्मसात् गर्न प्रेरित गर्छ । नेपाल जस्तो बहुसाँस्कृतिक समाजमा ख्रीष्टमसको स्थान विशेष छ । नेपालमा हिन्दू, बौद्ध, मुस्लिम, किरात, इसाईलगायत विभिन्न धर्मावलम्बीहरू बस्छन् । यहाँका सबै धर्मका पर्वहरूलाई सम्मान गर्ने परम्परा छ । यही कारणले नेपाल सरकारले २५ डिसेम्बरलाई सार्वजनिक बिदा दिएको छ । यसले धार्मिक विविधता र सहअस्तित्वलाई सम्मान गर्ने नेपाली समाजको विशेषता प्रकट गर्छ ।

काठमाडौँ, पोखरा, धरान जस्ता शहरमा चर्चहरूमा विशेष कार्यक्रम हुन्छन्, तर गैरइसाई नेपालीहरूले पनि रमाइलोका रूपमा ख्रीष्टमस मनाउने परम्परा बनाएका छन् । होटल, रेस्टुरेन्ट, मलहरूमा सजावट, पार्टी र साँस्कृतिक कार्यक्रम हुन्छन्, जसमा सबै समुदायका मानिसहरू सहभागी हुन्छन् । यसरी ख्रीष्टमस नेपालमा धार्मिक मात्र नभई सामाजिक सद्भाव र साँस्कृतिक विविधताको प्रतीकका रूपमा स्थापित भएको छ। ख्रीष्टमस कुनै एउटा धर्मको सीमाभित्र बाँधिन सक्ने सामान्य पर्व होइन । यो केवल डिसेम्बर २५ मा मनाइने एउटा उत्सव मात्र पनि होइन । ख्रीष्टमस वास्तवमा मानव सभ्यताले आफूलाई पटक–पटक सम्झाउने एउटा चेतना हो—जहाँ प्रेम शक्तिभन्दा ठूलो हुन्छ, जहाँ करुणा कानुनभन्दा माथि उभिन्छ र जहाँ गरिबी, पीडा र उत्पीडनको बीचमा पनि आशाको सानो दियो बलिरहन्छ । यही कारणले होला, दुई हजार वर्षअघि मध्यपूर्वको एउटा गोठमा जन्मिएको एउटा बालकको कथाले आज पनि संसारका कुनाकाप्चासम्म मानिसको मन छोइरहेको छ ।
ख्रीष्टमसको मूल कथा येशू ख्रीष्टको जन्मसँग जोडिएको छ । येशू कुनै सम्राट थिएनन्, कुनै सेनापति थिएनन्, कुनै धनी व्यापारी पनि थिएनन् । उनी शक्तिको केन्द्रमा जन्मिएका थिएनन् । उनी जन्मिएका थिए एउटा सामान्य गोठमा—त्यो पनि गरिब परिवारमा । यही जन्मकथाले ख्रीष्टमसको आत्मा बोल्छ । यसले संसारलाई भन्छ—महानता सधैँ दरबारमा हुँदैन, ईश्वर सधैँ सिंहासनमा बस्दैन र सत्य सधैँ शक्तिशालीको पक्षमा हुँदैन । यो सन्देश कुनै एउटा धर्मका अनुयायीका लागि मात्र होइन, मानव सभ्यताकै लागि हो ।

ख्रीष्टमसको अर्थ त्यसैले केवल धार्मिक कर्मकाण्डमा सीमित हुँदैन । यसको अर्थ गहिरो नैतिक र दार्शनिक छ । येशूले जीवनभरि दिएको शिक्षा प्रेम, क्षमा, समानता र अन्यायविरुद्धको मौन विद्रोह थियो । ‘शत्रुलाई माया गर,’ ‘गरिब धन्य छन्,’ ‘अन्तिम हुने पहिलो हुनेछ’—यी भनाइहरू सुन्न सजिला छन्, तर व्यवहारमा उतार्न सबैभन्दा कठिन छन् । ख्रीष्टमसको वास्तविक चुनौती यही हो । यो पर्वले मानिसलाई सोध्छ—के तिमी साँच्चै नै करुणामय छौ, कि केवल उत्सवप्रेमी ? विश्व इतिहासमा धेरै धार्मिक व्यक्तित्व आए र गए, तर येशूको कथा किन यति दीर्घकालीन भयो भन्ने प्रश्न यहाँ उठ्छ । यसको उत्तर उनको शिक्षाको सार्वभौमिकतामा छ । येशूको सन्देश कुनै जाति, कुनै राष्ट्र वा कुनै संस्कृतिमा सीमित थिएन । त्यो सन्देश मानवपीडासँग जोडिएको थियो । त्यसैले ख्रीष्टमस समयसँगै केवल इसाईहरूको पर्व रहेन । यो मानवताको साझा स्मृतिमा बदलियो । तर इतिहास सधैँ सरल हुँदैन । जब इसाइधर्म रोमी साम्राज्यको राज्यधर्म बन्यो, तब ख्रीष्टमस पनि आध्यात्मिक पर्व मात्र रहेन । यसले राजनीतिक र साँस्कृतिक रूप लिन थाल्यो । समयसँगै ख्रीष्टमस चर्चबाट बजारतर्फ सर्न थाल्यो । आजको संसारमा ख्रीष्टमस भन्ना साथ सान्ताक्लज, रंगीन बत्ती, महँगा उपहार, अफर र पार्टीको तस्बिर आँखा अगाडि आउँछ । यहाँ एउटा गहिरो विडम्बना देखिन्छ—गरिबीको बीचमा जन्मिएको सन्देश आज उपभोक्तावादको सबैभन्दा ठूलो पर्व जस्तो देखिन थालेको छ ।

यही विश्वव्यापी प्रवृत्तिको प्रभाव नेपालमा पनि देखिन्छ । नेपाल ऐतिहासिक रूपमा हिन्दू, बौद्ध र किरात दर्शनबाट निर्देशित समाज हो । यहाँ पर्वहरू केवल धार्मिक अनुष्ठान होइनन्, सामाजिक सम्बन्ध, पारिवारिक आत्मीयता र सामूहिक स्मृतिका आधार हुन् । दसैँ–तिहार, छठ, बुद्धजयन्ती, ल्होसार, ईद—यी सबैले नेपाली समाजलाई जोड्ने काम गरेका छन् । यही समाजमा पछिल्ला वर्षहरूमा ख्रीष्टमस पनि देखिन थालेको छ—कहिले चर्चभित्र, कहिले होटलभित्र, कहिले कलेजका क्यान्टिनमा, कहिले सामाजिक सञ्जालमा । नेपालमा ख्रीष्टमसको उपस्थिति स्वाभाविक रूपमा प्रश्नको विषय बनेको छ । के यो धार्मिक स्वतन्त्रताको अभिव्यक्ति हो ? कि विदेशी संस्कृतिको अन्धो अनुकरण ? कि विश्वव्यापीकरणले ल्याएको साँस्कृतिक प्रभाव ? वा कतै धर्म परिवर्तनसँग जोडिएको संवेदनशील विषय ? यी सबै प्रश्नहरूको उत्तर एउटै शब्दमा दिन सकिँदैन । नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष घोषणा गरेको छ । तर नेपाली धर्मनिरपेक्षताको परिभाषा पश्चिमी ढाँचाको जस्तो सरल छैन । संविधानले नै ‘सनातनदेखि चलिआएको धर्म–संस्कृतिको संरक्षण गर्दै धार्मिक स्वतन्त्रता’को कुरा गर्छ । यसले देखाउँछ—नेपालको धर्मनिरपेक्षता तटस्थ मात्र होइन, ऐतिहासिक संवेदनशीलतासँग जोडिएको छ । यही सन्दर्भमा ख्रीष्टमसको औचित्य बुझ्नुपर्छ ।

व्यक्तिगत तहमा हेर्दा, कुनै पनि नागरिकले ख्रीष्टमस मनाउनु उसको अधिकार हो । मनाउनेले पनि मनाओस्, नमनाउनेले पनि सम्मान पाओस् । यही लोकतान्त्रिक मूल्य हो । तर सामाजिक तहमा पुग्दा प्रश्न गहिरिन्छ । जब ख्रीष्टमस केवल व्यक्तिगत आस्थामा सीमित नरही सार्वजनिक प्रदर्शन, बजारको चाप र साँस्कृतिक प्रभुत्वको रूपमा देखिन थाल्छ, तब बहस जन्मिनु स्वाभाविक हुन्छ । नेपाली समाजमा ख्रीष्टमसप्रति आकर्षण विशेषगरी युवा पुस्तामा देखिन्छ । यसको कारण धर्मभन्दा बढी आधुनिकताको आकर्षण हो । ख्रीष्टमस उनीहरूका लागि पार्टी हो, स्वतन्त्रता हो, विश्वसँग जोडिएको अनुभूति हो । धेरै युवाले ख्रीष्टमस मनाउँछन् तर न बाइबल पढेका हुन्छन्, न येशूको दर्शनबारे गहिरो ज्ञान राख्छन् । यसले देखाउँछ—नेपालमा ख्रीष्टमस धार्मिकभन्दा बढी साँस्कृतिक र मनोवैज्ञानिक घटना बन्दै गएको छ । तर यसमा खतरा पनि लुकेको छ । यदि ख्रीष्टमस मनाउने क्रममा हामी आफ्नै पर्व, आफ्नै भाषा, आफ्नै संस्कारलाई हेप्न थाल्यौँ भने त्यो विविधता होइन, आत्मविस्मृति हुन्छ । नेपालीपन कुनै बन्द ढोका होइन, तर त्यो खुला ढोका पनि आत्मविश्वासमा टेकेको हुनुपर्छ । बलियो जरा भएको रूखले मात्र नयाँ हावालाई सहन सक्छ । व्यवहारमा शिक्षा, स्वास्थ्य र राहतसँग धर्म मिसिएको आरोप बारम्बार उठ्ने गरेको छ । ख्रीष्टमसको समयमा हुने उपहार वितरण, साँस्कृतिक कार्यक्रम र प्रार्थनाले कतिपयलाई आकर्षित गर्छ । यहाँ राज्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । राज्य न त मौन बस्न मिल्छ, न त पूर्वाग्रही हुन । स्पष्ट नीति, कानुनको निष्पक्ष कार्यान्वयन र सामाजिक संवाद नै समाधानको बाटो हो ।

सबैभन्दा मन छुने र आत्मालाई झस्काउने प्रश्न भने अर्को छ—आज हामीले मनाउने ख्रीष्टमस येशूले चाहेको ख्रीष्टमस हो त ? जहाँ सडकमा मानिस भोकै छन्, जहाँ वृद्धाश्रम भरिएका छन्, जहाँ श्रमिक पसिना बगाइरहेका छन्, त्यहाँ महँगा उपहार र झिलिमिली बत्तीले मात्र ख्रीष्टमसको आत्मा पूरा हुँदैन । यदि ख्रीष्टमस साँच्चै मन छुने हुनुपर्छ भने, त्यो गरिबको हात समात्ने साहसमा देखिनु पर्छ, पीडितको आँसु पुछ्ने करुणामा देखिनु पर्छ । नेपाल सन्दर्भमा ख्रीष्टमसको औचित्य यहीँ आएर ठोक्किन्छ । ख्रीष्टमस न त पूर्ण रूपमा अस्वीकार्य हो, न त आँखा बन्द गरेर अँगाल्नु पर्ने पर्व । यसको औचित्य त्यतिबेला मात्र रहन्छ, जब यो प्रेम, सहिष्णुता र मानवीय मूल्यसँग जोडिन्छ; जब यो वास्तवमा नेपाली समाजको मौलिकतालाई ख्रीष्टमसले अँगालेको छ, यो संवादको अवसर बन्छ । ख्रीष्टमस एउटा ऐना हो । त्यो ऐनामा येशू मात्र देखिँदैन—हामी आफैँ देखिन्छौँ । हामी कति सहिष्णु छौँ, कति विवेकी छौँ, कति आत्मविश्वासी छौँ भन्ने कुरा ख्रीष्टमसप्रतिको हाम्रो दृष्टिकोणले बताउँछ । ख्रीष्टमस मनाउने वा नमनाउने भन्दा पनि महत्वपूर्ण कुरा हो—हामी त्यसको सन्देश कति आत्मसात् गर्छौँ । नेपाल संविधानतः धर्मनिरपेक्ष राज्य घोषित भए पनि व्यवहारमा धेरै नागरिकहरू अझै पनि बराबरीको अनुभूतिबिना बाँच्न बाध्य छन् । ख्रीष्टमसको सन्दर्भमा हेर्दा, इसाई समुदायले भोग्दै आएको राज्यस्तरीय उपेक्षा, मौन दमन र संरचनात्मक विभेद स्पष्ट देखिन्छ । राज्यले सबै धर्मप्रति समान व्यवहार गर्छ भन्ने औपचारिक घोषणाभन्दा पर, व्यवहारिक यथार्थमा भने इसाई समुदाय प्रायः दोस्रो दर्जाको नागरिक जस्तो अनुभूति गर्न बाध्य भएको देखिन्छ ।

आफ्नै आस्थाको पर्व मनाउँदा उनीहरूलाई ‘विदेशी’, ‘आयातित’ वा ‘शंकास्पद’ दृष्टिले हेर्ने सामाजिक–राजनीतिक मनोवृत्तिको पछाडि राज्यको मौन समर्थन पनि एउटा कारण हो । धार्मिक स्वतन्त्रताको अधिकार संविधानले दिएको भए पनि, त्यसको अभ्यास गर्दा इसाई समुदाय सधैँ सन्देहको घेरामा राखिन्छ । ख्रीष्टमसको अवसरमा गरिने प्रार्थना, भेला वा साँस्कृतिक कार्यक्रममा प्रशासनको अनावश्यक निगरानी, अनुमति प्रक्रिया, कहिलेकाहीँ सुरक्षाको नाममा गरिने अवरोध—यी सबैले एउटा सन्देश दिन्छः ‘तिमी स्वतन्त्र छौँ, तर पूर्णरूपमा स्वीकार्य छैनौ ।’ यही मौन सन्देश नै दमनको सबैभन्दा सूक्ष्म र पीडादायी रूप हो । राज्यले प्रदान गर्ने सार्वजनिक बिदाको सूची हेर्दा पनि यो विभेद प्रकट हुन्छ । जनसङ्ख्याको आधार, ऐतिहासिक निरन्तरता र राजनीतिक प्रभावका आधारमा केही पर्वहरूले सहजै मान्यता पाउँछन्, तर इसाई समुदायको धार्मिक पर्व ख्रीष्टमस सधैँ ‘विवादास्पद’ सूचीमा राखिन्छ । यसले राज्यको दृष्टिमा केही नागरिक ‘मुख्यधारा’का छन् भने केही ‘सहन गरिएका’ मात्र हुन् भन्ने भाव पैदा गर्छ । यस्तो अवस्था कुनै लोकतान्त्रिक र धर्मनिरपेक्ष राज्यका लागि लज्जास्पद हो । सबैभन्दा पीडादायी यथार्थ भनेको के हो भने—धर्म परिवर्तनको आरोपलाई सामूहिक रूपमा इसाई समुदाय माथि थोपर्ने प्रवृत्ति अझै जीवित छ । अपराध व्यक्तिगत हुन्छ, तर शंका सामूहिक बनाइन्छ । यसले निर्दोष नागरिकलाई पनि अपराधीको दृष्टिले हेरिने वातावरण सिर्जना गर्छ । राज्यले स्पष्ट नीति र निष्पक्ष कानुनी अभ्यासमार्फत यो अन्याय सच्याउनुको सट्टा प्रायः मौन बस्छ र यही मौनता नै दमनको निरन्तरता बन्छ ।

दोस्रो दर्जाको नागरिक भएर बाँच्नु भनेको केवल अधिकार नपाउनु मात्र होइन; यो मानसिक बोझ हो । आफ्नै देशमा आफ्नो आस्था लुकाउनु पर्ने, आफ्नो पर्व मनाउँदा डराउनु पर्ने र आफ्नो पहिचान प्रमाणित गरिरहनु पर्ने—यी सबै अवस्थाले नागरिक र राज्यबीचको विश्वास कमजोर बनाउँछ । ख्रीष्टसमस मनाउने इसाई नेपालीहरू विदेशी होइनन् । उनीहरू यही माटोमा जन्मिएका, यही भाषा बोलेका, यही देशका करदाता र नागरिक हुन् । तर जब राज्यले व्यवहारमा उनीहरूलाई बराबरीको अनुभूति दिन सक्दैन, तब धर्मनिरपेक्षता कागजमा मात्र सीमित रहन्छ ।
साँचो धर्मनिरपेक्षता भनेको सबै धर्मलाई बराबर देखाउनु मात्र होइन, सबै नागरिकलाई बराबरीको सम्मान दिनु पनि हो । जबसम्म राज्यले आफ्ना नीतिहरू, प्रशासनिक व्यवहार र सार्वजनिक भाषामा रहेको सूक्ष्म विभेद हटाउन सक्दैन, तबसम्म ख्रीष्टमस जस्ता पर्व केवल उत्सव होइन, नागरिक समानताको परीक्षा बन्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार