सवारी साधनलाई व्यवस्थित रूपमा सञ्चालन एवं नियमन गर्न सर्वप्रथम २०४९ सालमा संसदले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ल्याएको पाइन्छ । यस ऐनको उद्देश्य ऐनको प्रस्तावना अनुसार सवारी साधनहरूको रोकथाम गर्ने, सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउने र यसका लागि यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन खोजिएको छ ।
नरेन्द्र देवकोटा ‘प्रशान्त’
पृष्ठभूमिः
समाज विकासका विभिन्न पक्ष, आयाम र उपागमलाई अध्ययन गर्दै जाँदा मानिस ढुङ्गेयुगबाट आज विज्ञान र प्रविधिको युगमा प्रवेश गरिसकेको छ । मानव विकासका विभिन्न चरणहरूमा मानिसले डुङ्गा चलाउने, वयलगाडा र ठेलागाढा चलाउनेदेखि आजको आधुनिक युगसम्म आइपुग्दा विश्वका विभिन्न देशमा आधुनिक राजमार्गमा गुड्ने विभिन्न थरिका सवारी साधनहरूको प्रयोग हुँदै आइरहेका छन् । यी साधनहरूले मानिसलाई सवार हुन मात्र मद्दत गर्ने गरेका छैनन्, मानव जीवनका हरेक आवश्यकता पूर्ति गर्दै आइरहेका छन् । खाद्यवस्तु ओसार्नेदेखि सडक ढलनाला बनाउने, पानी बालुढुङ्गा काठ आदि ओसार्ने काम गर्दछन् । यसैले सवारी यातायातका साधन बिना मानिस आजका दिनमा बाँच्न नसक्ने भैसकेको छ । यी सवारी साधनहरू सधँै सफलतापूर्वक गन्तव्यमा पुग्न सफल हुन्छन् भन्न पनि सकिँदैन । आपसमा ठोक्किँदा पल्ँिटदा मानव जीवनमा उत्तिकै असर र प्रभाव पार्दै दिनानुदिन थप समस्या र चुनौती पनि खडा गर्दै आइरहेका पनि छन् ।
प्रस्तुत लेखमा नेपालको सन्दर्भमा मुलुकका विभिन्न राजमार्ग र ग्रामिण सडकहरूमा कुद्ने सवारी साधनलाई नेपाल कानुनले कहिलेदेखि के कसरी व्यवस्थित रूपमा सञ्चालन गर्दै आइरहेको छ । त्यस्ता सवारी साधनहरूको प्रयोग सवारी चालकहरूले के कसरी गरिरहेका छन् र सवारी चालकहरूले के कसरी जानीजानी या लापरवाही साथ प्रयोग गर्दै आइरहेका छन् ? यी दुवैको अभावमा पनि के कसरी सवारी दुर्घटना हुने गरेका छन् ? सवारी दुर्घटना पश्चात् सवारी चालकलाई के कस्तो कसुर गरेको मानिने र त्यस्ता कसुर गरेमा के कस्तो सजाय हुने गर्दछन् ? सवारीबाट ज्यान गुमाउन पुगेका मृतकका आश्रीत परिवार र घाइते हुन पुगेका घाइतेहरूलाई के कस्तो औषधोपचार घरखर्च र क्षतिपूर्ति दिलाई भराई गर्ने भन्ने कानुनी व्यवस्था छ सोबारे प्रस्ट पार्न खोजिएको छ ।
विषयवस्तु प्रवेश
सवारी साधनलाई व्यवस्थित रूपमा सञ्चालन एवं नियमन गर्न सर्वप्रथम २०४९ सालमा संसदले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ल्याएको पाइन्छ । यस ऐनको उद्देश्य ऐनको प्रस्तावना अनुसार सवारी साधनहरूको रोकथाम गर्ने, सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढंगबाट यातायात सुविधा उपलब्ध गराउने र यसका लागि यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन खोजिएको छ ।
ऐनले यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारीको साधन सम्झनुपर्छ भनी परिभाषा गरेको छ भने ठूलो सवारी, मझौला सवारी र सानो सवारी भनेर सवारी साधनको वर्गीकरण समेत गरेको पाइन्छ । ‘सार्वजनिक सवारी’ भन्नाले यातायात सेवामा प्रयोग गरिने सवारी साधन सम्झनुपर्छ भनेर परिभाषा गरेको छ । ‘यातायात सेवा’ भन्नाले सार्वजनिक सवारीले यात्री वा मालसामान ओसारपसार गर्ने कार्य सम्झनुपर्छ भनेर परिभाषा गरेको देखिन्छ । भाडा भन्नाले सार्वजनिक सवारीले यातायात सुविधा प्रदान गरेबापत लिने रकम या शुल्कलाई भनेको छ ।
उपयोग या प्रयोगको आधारमा सवारी साधनलाई यात्रीवाहक र मालवाहक सवारी भनेर छुट्याइएको छ । ‘यात्रीवाहक सवारी’ भन्नाले यात्रीहरूलाई यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारी सम्झनुपर्छ भनी परिभाषा गरिएको छ भने मालसामान ओसारपसार गर्ने काममा प्रयोग गरिने सार्वजनिक सवारीलाई मालवाहक सवारी भनी परिभाषा गरेको छ । सवारी साधनलाई दर्ता नगराई सञ्चालनमा ल्याउन हुँदैन । यसैगरी अधिकार प्राप्त अधिकारीसमक्ष आवश्यक प्रमाणसहित निवेदन दिनुपर्ने र त्यस्तो अधिकारीले जाँचबुझ गरी सवारी धनीलाई सवारी दर्ताको प्रमाणपत्र दिनुपर्दछ । सवारी साधन चलाउने व्यक्ति अनुमतिपत्र प्राप्त सवारी चालक मानिन्छ भने सवारी साधन चलाउनेले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी साधन चलाउन नहुने कानुनी व्यवस्था रहेको छ । यसैगरी विदेशमा दर्ता भएको सवारी प्रचलित कानुन बमोजिम अनुमति नलिई नेपालभित्र चलाउन हुँदैन । हाल कार्यान्वयनमा रहेको सवारी ज्यान सम्बन्धि ऐन २०४९ को दफा १६१ को उपदफा १ मा सवारी ज्यान सम्बन्धि कसुरमा अपराधिक मनसाय लिई जानीजानी सवारी दुर्घटना गराउनहुँदैन । यसैगरी उपदफा २ मा लापरवाहीसाथ सवारी साधन चलाएर धनजनमा क्षति पु¥याउन नहुने तथा उपदफा ३ मा अपराधिक मनसाय र लापरवाही नगर्दा पनि धनजनमा क्षति पुग्न गएमा के कस्तो सजाय गरी क्षतिपूर्ति भराउन सकिन्छ सो बारेमा व्यवस्था गरिएको छ । साथै कसुरदार र पीडितलाई दुर्घटना पश्चात् कसरी समाजमा पुनः स्थापना गर्न खोजिएको छ भन्ने बारेमा पनि उजागर गर्न खोजिएको छ ।
सवारी दुर्घटना
यात्रीवाहक तथा मालवाहक सवारीहरू दुईपाङ्ग्रे मोटरसाइकल तथा तीनपाङ्ग्रे सवारी साधनहरू जस्तै टेम्पो, टुकटुके आदि आपसमा ठोक्ँिकएर वा भित्तामा ठोक्ँिकएर या सडक या नालामा खसेर या भीरपाखोबाट खसेर पनि दुर्घटना भएका हुन्छन् । यसरी एकआपसमा सवारी साधनहरू जुधेर वा कुनै सवारी साधन कुनै अज्ञात वस्तुसँग जानीनजानी ठोक्ँिकएर बाटोमा हिड्ने यात्रुलाई ठक्कर दिई घाइते वा मृत्युको अवस्थामा पु¥याउने वा अङ्गभङ्ग बनाएको घटनालाई सवारी दुर्घटना भनिन्छ । सवारी चालकको गल्तीले गर्दा सवारी दुर्घटना पश्चात मानिसको मृत्यु हुने, घाउचोट लाग्ने या अङ्गभङ्ग हुने गर्दछ । सवारी साधनमा भएको इन्जिनको खराबीले, ढोका झ्याल खुला भएर या लक बिग्रेर पनि सवारी दुर्घटना हुने गर्दछ । यसबाहेक कहिलेकाहीँ बाटोमा हिँड्दै गरेको यात्रुको असावधानीको कारणले दुर्घटना हुने गर्दछन् । कहिलेकाहीँ चालकलाई असजिलो अवस्था आइलागेर सवारी बाहिरको यात्रु बचाउने या सवारीभित्रको यात्रु बचाउने भन्नेसम्मको पनि परिस्थितिमा सवारी दुर्घटना हुने गर्दछन् ।
नेपालमा सवारी दुर्घटनाको एकै प्रकृति र पाइँदैनन् । धेरै किसिमका सवारी दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटनाबाट कहिलेकाहीँ एक्लै त कहिलेकाहीँ धेरैले एकैपटक ज्यान गुमाउनु परेको थुप्रै उदाहरण छन् । धेरै जनाले अकालमा ज्यान गुमाउँदा मर्माहत बनाएको अवस्था पनि विद्यमान छन् । सवारी साधन चलाउँदा चालक तथा सवारीको अघिल्लो सिटमा बस्ने यात्रुले सुरक्षापेटी नबाँधी यात्रा गर्नु हुँदैन । मोटरसाइकल चलाउँदा चालक तथा सो सवारीमा बस्ने व्यक्ति समेतले हेल्मेट लगाउनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था सवारी ऐनले गरेको देखिन्छ । सवारी दुर्घटना भैहालेमा चालकको लापरवाही वा जुनसुकै कारणले दुर्घटना भएको देखिएपनि त्यसरी कुनै दुर्घटनामा परी घाइते भएका यात्रु तथा अन्य मानिसले सवारी चालक तथा सवारी साधनमा काम गर्ने सहचालक या अन्य कुनै व्यक्तिलाई कुटपिट गर्न वा त्यस्ता यात्रुहरूको मालवस्तुको हिनामिना गर्न, खोस्न वा त्यस्ता यात्रुहरूलाई कुनै पनि किसिमले हानी नोक्सानी एवं क्षति पु¥याउन हुँदैन भन्ने समेत व्यवस्था सवारी ज्यान सम्बन्धी ऐन २०४९ ले गरेको छ । प्रहरी वा यायायात निरीक्षकले चालक अनुमति पत्र जाँचबुकको क्रममा खोजेको बेला सवारी चालकले देखाउनु पर्ने जिम्मेवारी सवारी चालकलाई रहेको छ ।
यसबाहेक प्रहरी वा यातायात निरीक्षकले सवारी रोक्न संकेत गरेमा, कुनै जनावर झस्के या तर्सेमा पशु जिम्मामा रहेको व्यक्तिले सवारी रोक्न अनुरोध गरेमा सवारी दुर्घटनाग्रस्त भई कुनै मानिस जनावर या सम्पत्तिको हानी नोक्सानी भएमा जेब्राक्रसिङमा मानिस ओहरदोहर गरेको अवस्थामा वा चौबाटोमा रहेको ट्राफिक बत्तिले रोक्ने संकेत गरेमा आवश्यकता अनुसार उचित समयसम्म चालकले सवारी चलाइरहेको बेलामा सवारी साधन अड्याई राख्नु पर्नेछ । ऐनमा कुनै सवारी साधनले दुर्घटना गरी मानिसको जीउ, ज्यानमा कुनै खतरा वा चोटपटक पु¥याएमा सो सवारी साधनको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरुन्त आवश्यक व्यवस्था गर्ने या अस्पतालमा पु¥याउनुपर्दछ । साथै सवारी चालकले सवारी दुर्घटना भएको स्थानमा प्रहरी नभएमा नजिकैको प्रहरी कार्यालयमा घटनाको जानकारी गराउनुपर्दछ । चालकले तोकिएको स्थानमा बाहेक अन्य स्थानमा बायाँ किनारा च्यापी चलाउनु पर्दछ । यदि आफ्नो सवारी साधनभन्दा अगाडी अरु कसैको सवारीसाधन कुदिरहेको छ र त्यस्तो सवारी साधनलाई उछिनेर जानु पर्ने अवस्था आएमा संकेत दिनुपर्दछ ।
तत्पश्चात उक्त सवारीको चालकले अगाडी जान संकेत दिएमा पछाडीको सवारीले दाहिने तिरबाट उछिनी जानुपर्दछ । सडकपथमा हिड्ने पैदलयात्रीले पनि सवारी नियमको अनिवार्य पालना गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । पैदलयात्रुले जेब्रा क्रसिङ्ग, ओभरहेड ब्रीज वा त्यस्तो बाटो काट्नको लागि निर्धारित गरिएको ठाउँको प्रयोग गरि बाटो काट्नु पर्दछ । सवारी चालकले पालन गर्नैपर्ने केही सवारी सम्बन्धी नियम रहेका छन् । चालकले आफ्नो सवारी अनुमतीपत्र अन्य व्यक्तिलाई सवारी चलाउनको लागि दिनहुँदैन । यसैगरी सवारी चालकले मादक पदार्थ वा अन्य कुनैपनि प्रकारको लागूपदार्थ सेवन गरी सवारी चलाउन हुँदैन । अध्याँरोमा या कुहिरो लागेको रहेछ भने त्यस्तो बेलामा सवारी चलाउँदा सवारीको बत्ति बाल्नुपर्ने जिम्मेवारी तोकिएको छ । सवारी चालकले सवारी साधन चलाउँदा सवारीको कुनैपनि पाटपूर्जा बिग्री अवस्था ठिक नभएको रहेछ भने त्यस्तो सवारी चलाउन हुँदैन । कुनै चालकले सवारी चलाउँदा लापरवाही साथ चलाउन हुँदैन । सवारी धनीलाई पनि केही जिम्मेवारी तोकेको छ । सवारी धनीले चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी साधन चलाउन दिनुहुँदैन । सवारी दर्ता नगराई सञ्चालनमा ल्याउनु हुँदैन । सवारीबाट मृत्यु भएका मृतकको परिवारलाई काजक्रिया खर्च र क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ ।
सवारी चलाउँदा सो सवारीको बत्ति बाल्नुपर्दछ । यदि कुनै सवारी साधनको पार्टपूर्जा बिग्रिएको छ भने सो पाटपूर्जा बनाएर मात्र सवारी साधन चलाउनु पर्दछ । सवारी दुर्घटना हुनमा सवारी चालकको अपराधिक मनसायले हो वा लापरवाहीले हो वा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा कुनै सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन सक्दछ । सवारी तथा यातायात व्यवस्था सम्बन्धि ऐन २०४९ को दफा १६१ को उपदफा १ मा कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारी रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणमस्वरुप एक्काइस दिनभित्र मृत्यु भएमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको ठहरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुने व्यवस्था छ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुने व्यवस्था छ ।
सवारी चलाउँदा कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाई कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप एक्काईस दिनभित्र मृत्यु भएमा सवारी चलाउने व्यक्तिलाई सोही दफाको उपदफा २ बमोजिम कसुरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रूपैयाँ देखी एक लाख रूपैयाँसम्म जरीवाना हुने व्यवस्था रहेको छ ।
। रकसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई सोही दफाको उपदफा ३ बमोजिम एक वर्षसम्म कैद वा दुई हजार रूपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था रहेको छ ।
यसैगरी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा १ वा २ बमोजिमको कसुर गरेमा निजलाई सोही अनुसार हुने सजायमा उपदफा ४ अनुसार थप दुई हजार रूपैयाँ समेत जरिवाना हुनेछ । जन्मकैद हुने सजायमा त्यस्तो थपजरिवाना हुने ब्यवस्था रहेको छैन । कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमति पत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई उपदफा ५ बमोजिम दुई वर्षसम्म कैद सजाय हुनेछ ।
यदि कसैको अंगभग भएमा सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रूपैयाँँसम्म जरिवाना हुने व्यवस्था छ । यदि सवारी दुर्घटनाबाट लागेको खत निको भई काम लाग्ने अवस्था छ भने पाँच हजारसम्म जरिवाना हुनेछ । यसैगरी सवारी चालक अनुमतिपत्र नभएर उल्लेखित कसुर गरेको रहेछ भने थप पाँच हजार जरिवाना हुने समेत व्यवस्था छ । सवारी धनीले लाइसेन्स नभएको व्यक्तिलाई कुनै सवारी चलाउन दिएर दुर्घटना भई अंगभंग भएमा मुख्य कसुरदार लाई हुने सजायको आधा सजाय हुनेछ ।
घरखर्च, क्रिया खर्च र क्षतीपूर्ति भराउने सम्बन्धि व्यवस्था
सवारी दुर्घटनाबाट ज्यान मरेको अवस्थामा ऐनले मरेको मानिसको हकवालालाई कृयाखर्च वापत रु.पचास हजार र क्षतीपूर्ति वापत तेस्रोे पक्षले पाउने दुर्घटना बीमा रकम, अंगभंग भएमा निको नभई काम नलाग्ने भएमा दुर्घटना बीमा रकम, अंग काम लाग्ने भएमा घर खर्चवापत पच्चिस हजारदेखि पचास हजारसम्म रूपैयाँ दिने व्यवस्था समेत रहेको छ ।
सवारी ज्यान मुद्दामा देखिएका समस्या तथा उपायहरू
यातायात तथा सवारी ज्यान सम्बन्धि ऐन २०४९ अनुसार सवारी साधन चलाउँदा चालकको गल्तिले मात्र नभई अन्य विविध कारणले पनि दुर्घटना हुन सक्दछ । कहिले सवारी साधनमा इन्जिनको खराबी हुनसक्छ, कहिले बाटोमा हिड्ने पैदल यात्रुले जथाभावी सडक वारपार गर्दा सवारी दुर्घटना हुनसक्छ । त्यसैगरी छाडा पशुपंक्षी र भुस्याहा कुकुरका कारणले पनि दुर्घटना हुन सक्छन् । सडकमा सडकबत्ती नराखेका कारणले पनि दुर्घटना हुनसक्छ । व्यवस्थित सडक नभएर, सडक भत्केर भाँसिएर पनि दुर्घटना हुन सक्दछन् । यसैगरी बाटो–घाटोमा घरधनीले बालुवा, ढुङ्गागिट्टी जस्ता वस्तु राखेर अनावश्यक सडक जाम भई दुर्घटना हुन पुग्दछ । यस्तै ठूला सवारी र साना जातका सवारी साधनसँगै कुदाउँदा अनावश्यक जाम हुन गई दुर्घटना हुन पुग्दछ ।
सबै अवस्थामा सवारी चालककै गल्ति हुन्छ भन्ने हुँदैन तर हामीकहाँ प्राय सवारी ज्यान तथा सवारी दुर्घटना सम्वन्धी मुद्दामा चालककोनै गल्ति देखाउने प्रवृत्ति छ । अर्कोतिर ठूला सवारी साधनसँग साना सवारी आफैँ ठोक्किँन पुगेपनि ठूला सवारी साधनका चालकलाई मुद्दा चलाउने, घरखर्च दिलाउन लगाउने, क्षतिपूर्ति भराउने, बीमा असुल गराउने, औषधोपचार गर्न लगाउने, प्राय दफा १६१ को उपदफा (३) नलगाई उपदफा (२) को प्रयोगगरी मुद्दा चलाउने गरेको देखिन्छ । सवारी कानुनमा अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी साधन चलाउन दिनेलाई चालककोे तुलनामा कम सजाय भएकोले सोही अनुपातमा मिल्दोजुल्दो सजाय हुनुपर्ने देखिन्छ । यसैगरी दुर्घटना नगराउनु पूर्व चालक अनुमति पत्र नभएर कसैले सवारी चलाएको छ भने त्यस्ता चालकलाई जरीवाना गरि अनुमतिपत्र नल्याएसम्म सवारी ट्राफिक प्रहरीले रोकी राख्नु पर्ने देखिन्छ । उल्लेखित समस्याहरूको समाधान र सम्बोधन गर्न सके सवारी सम्बन्धी दुर्घटना र कसुर न्यूनीकरण हुने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्