विष्णु पादुका
नेपालमा शिक्षा माथी बहस हुन लागेको धेरै भयो । ब्यवस्था परिवर्तन सँगै शिक्षामा देखिने परिवर्तनले उपलब्धि दिएको हो कि थप जटिलता ?आज प्रमुख मुद्दा बन्दै छ । अभिभावकको एउटा दृष्टिकोण , विद्यालय प्रशासनको एउटा गुनासो अनि विद्यार्थीको अर्को एउटा आवाजले अधिकांश विद्यालय विवादमा परेको देखिन्छ । हामी तिनै तिनोटा पक्ष र त्यससँग जोडिएका अन्य कुरासँग पनि जोडिने प्रयास गरौं । समाजमा हाम्रो उपस्थिति कहिले विद्यार्थी भएर कहिले अभिभावक भएर कहिले शिक्षक भएर बित्यो । निजि विद्यालय प्रती समाजमा खास गुनासो सुनिन्न । त्यहाँको नियम र कार्यशैली भिन्न भएर हो वा अभिभावकको आर्थिक लगानी र विशेष चासो भएर हो । अथवा दुबै कुरा उत्तिकै महत्वोपुर्ण भएर हो सरकारी विद्यालयको तुलनामा कम गुनासो सुनिन्छ । उसो त सरकारी विद्यालयमा पढ्न जानू आफैंमा हेयको आँखाले हेरिन्छ । घर अघिकै बाटोबाट चिल्लो गाडीमा बसेर राम्रा लुगा झोला र खाजा सहित स्कुल जाने आफ्नै बयका साथी देख्दा त्यस्तो भाव आउनु अस्वभाविक होइन । यो एउटा अदृश्य खाडल हो । जसलाई राज्यले कुनै दिन फुर्सदमा सोचोस् । राज्यले कर लिन पाए स्कुल खोल्न दियो । प्रतिस्पर्धामा टिक्न निजि स्कुलले सेवा सुबिधा दिए । सक्ने अभिभावकले पढाए सेवा लिए किन टाउको दुख्यो तेरो? यो ठाडो प्रहार हुनेछ म माथी । तपाईं फर्केर हेर्नुस् । तपाईं हामी पढ्दा कसरी स्कुलमा पुग्थ्यौं । हाम्रा गाउँघरमा स्कुल प्रती हेर्ने सम्मान कस्तो थियो ? अर्को बलियो कुरा त तुलना गर्न अर्को सरकारी वा निजि स्कुल नै थिएन नजिकमा । आज चोकै पिच्छे स्कुल छन् ।
अभिभावक र विद्यार्थीले छनोटको सुविधा पाएका छन् । तर स्कुल भनेको चकलेट छाने जस्तो अवस्य होइन । जीवन उभ्याउने पहिलो पाइला पो त । त्यो पाइला कहाँ टेकाउने कसरी टेकाउने कुरा हरेक परिवारको आम्दानीले निर्धारण गरेको छ । शिक्षा र पैसा ढक र बस्तु भएको यो युगमा हामीलाई आदर्श समाज र आदर्श शिक्षा पनि चाहिएको छ । नैतिकता र चरित्रको विकास पनि चाहिएको छ । प्रविधिको प्रयोग अनि परम्परागत धङधङी पनि थाम्नु छ हामीलाई । मोबाइल र कम्प्युटरमा किबोर्ड थिच्न जानेपछी विद्यार्थीले आवश्यक परेको सबैकुरा ईन्टरनेटमा पाउँछ । त्यही दिशामा आजको पुस्ता लाग्दा कुनै दिन स्कुलहरू इतिहास बन्नु कुनै नौलो कुरा हुने छैन । प्रविधिको आकाश कसैले थाम्ने कुरा भएन । झोलामा ट्याब बोक्ने पुस्तालाई चक डस्टर पुस्ताले डो¥याएको साच्चै नसुहाएको देखिन्छ । शिक्षाविद् कोइराला कडा टिप्पणी गर्छन् । सरकारी शिक्षकमाथी निर्मम प्रहार गर्छन् । नामनै विद्यानाथ हो उहाँको कुरा कसरी नमान्नु । चिसो भएर सोच्दा यथार्थ त्यही हो । फरक यत्ती हो कि उहाँ शिक्षकलाई सबैभन्दा दोषी देख्नुहुन्छ । शिक्षकले खाएको तलव निकै धेरै ठूलो खर्च देख्नुहुन्छ उहाँ । राज्यको दायित्वलाई र परिवर्तनलाई सहर्ष स्विकार्न उहालाई पनि अलिक गार्है भएको अनुभूति हुन्छ बेलाबेलाका अभिव्यक्ति सुन्दा । अभिभावकले आर्थिक स्थितिले सकेसम्म निजि स्कुलमा पढाउन खोज्छन् छोराछोरी । देशका केही औंलामा आउने नमूना विद्यालयको कुरा छोड्नु नै उपयुक्त हुन्छ । हामी समग्र समाजको बारेमा बोल्नुपर्छ । एउटा व्यक्ति ,एउटा विद्यालय , एउटा विशेष क्षेत्र उम्दा भएर पुग्दैन ।
प्रत्येक विद्यालयको एउटा निश्चित दायरा हुनुपर्छ मूल्यांकनको । यो दायरा प्रत्येक शिक्षक , प्रधानाध्यापक , अभिभावक अनि विद्यार्थी समेतले पालना गर्नुपर्ने हुन्छ । मेरो सन्तान खराव होस् , कोहि चाहँदैनन् । तर त्यो चाहना राख्ने नियन्त्रण र नियमन गरिदिने अभिभावक पुस्ता घरमै छैन । आजका सरकारी स्कुल पढ्ने अधिकांस विद्यार्थीका अभिभावक घर बाहिर छन् । कति विद्यार्थी अभिभावक बिहिन छन् । कापी कलम झोला र पोसाकको बन्दोबस्ती समेत स्कुलले गरिदिएको छ । कुनै न कुनै दाता खोजेर अनुरोधमा उत्रनु सरकारी स्कुलको बाध्यता बनेको छ । न्युनतम आवश्यकता राज्यले बेहोर्नुपर्छ भन्ने मान्यता भित्र छात्रवृत्ति , पाठ्यपुस्तक अनि बीस रुपैयाको खाजा छ । छ कक्षा पुगेपछि खाजा खान नपर्ने राज्यको दृष्टिकोण छ । राज्यको शिक्षामा लगानी पानी पानी भएको छ । खेर गएको छ । अधिकांश सरकारी स्कुलमा पढाइ नै हुँदैन ।शिक्षकहरू ठगेरै खान्छन् । जागिर खान मात्रै भर्ना हुने ठाउँ हो सरकारी स्कुल । यी नमिठा आरोपहरूको जग अर्धसत्यमै उभिएको छ । पात पहेँलिएरै हो झर्न लागेको । एउटा तितो सत्य छ । सरकारी शिक्षक समयानुकूल हुन नसक्नु । समय समाज र प्रविधिमैत्री हुन नसक्नु । औसत संख्या आरोप खेप्न तयारीमा हुनुहुन्न । आफुलाई खरो उतार्ने सिमित संख्या पनि नभएको होइन ।
तर त्यसभन्दा माथी हाम्रो मानसिकतामा विरोधको स्वर , अहंको आवाज र हाकिमी शैली हावी भएको चाहिँ पक्कै हो । यी शब्दको यात्रा प्रधानाध्यापकको टेबुलमा पुगेर सकिन्छ । प्र अ हाकिम होइन जहाजको क्याप्टेन हो । जिम्मेवारीको बोझ उहाँको ठूलो चुनौती हो । सावधानी उहाँको श्वासप्रश्वास हो । आर्थिक , प्रशासनिक , शैक्षिक र भौतिक सफलता पाउन उहाँको योगदान पलपलको हुन्छ । साच्चिकै प्र अ ले बाहिरी संसार चिहाउने फुर्सद पाउन्न । उसको लागि विद्यालय नै संसार हो । हो पनि । हुनुपर्ने त्यहि हो । तर के कति भएको छ ? गुनासा र आरोपहरूले चुनौतीपूर्ण जवाफ दिन्छन् । शिक्षकको गुनासो– अनुशासन कायम हुन नसक्नु , कक्षाकोठा नियन्त्रणमा नहुनु , गृहकार्य नगर्नु , सबैले समान रूपमा नबुझ्नु , नपढ्नु , अभिभावकले र विद्यार्थीले समेत दोष थोपर्नु ,राज्य र समाजले अपहेलना गर्नु जस्ता साझा गुनासा सुन्न पाइन्छ ।
अनुशासनको नाममा , कक्षा कार्य अनि गृहकार्यको नाममा , पढाइमा कमजोर भएकोमा विद्यार्थीलाई यातनाको महसुस हुने गरेको छ । घरमा मोबाइलमा गेम खेल्न नपाउनुको आक्रोश समेत विद्यालयमा आएर पोख्ने पुस्ता बिकसित भएको छ ।
अर्को एउटा निस्वार्थ अंगको सकृयता हुन्छ विद्यालय भित्र । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ । ती समितिको पनि विद्यालयलाई कसरी आकर्षणको केन्द्र बनाउने भन्ने ध्येय हुन्छ नियमगत रूपमा । कसलाई शिक्षक नियुक्ति गर्ने ? कसलाई सरुवा गर्ने ? कुन योजना पास गर्ने ? कुन योजना बाट कति कमिसन आउँछ ? कुन शिक्षकलाई कसरी आलोचना गर्ने ? कसरी पद र पहुँच कायम गर्ने जस्ता अदृश्य कुरा जति लुकाए पनि देखिने गर्छन् । यसैलाई शैक्षिक राजनीतिको नाम दिइन्छ विद्यालय तहमा । त्यसमाथि पालिका जिल्ला र केन्द्रमा हुने राजनीति त छरपस्ट छ नै । घर कस्तो छ ? घरभित्र नपसी थाहाहुन्न । घरमा नबसी थाहा हुन्न । हिमाल देखि तराई अनि गाउँ देखि शहर सम्मका सरकारी देखि निजि विद्यालय सम्मका भोगाइ नभोगेका कमै छौं आजका अभिभावक पुस्ता । जसले राज्यको दायित्व बुझेका छौं । पारिवारिक दायित्व थाहा छ । भोलिका पुस्ता हामी भन्दा ज्ञानी होउन् ,सक्षम होउन् । नैतिकवान अनि समृद्ध पनि होउन् , सबै अभिभावकको पवित्र चाहना हुन्छ । चोरले पनि मेरो सन्तान चोर नहोस् भनी ठान्छ । अपराधीले पनि मेरा सन्तति सज्जन भैदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छ । समाजको आदर्श भनेकै यहि हो । जुनसुकै कारणले म खराव भए पनि म पछिको पुस्ता असल होस् भन्ने कामना राख्दै शिक्षित बनाउन खोज्नु पवित्र उद्देश्य हो । यहि उद्देश्य प्राप्तिका लागि हो यति धेरै सरोकारवालाको सम्बन्ध जोडिएको विद्यालयसँग ।
घर पहिलो पाठशाला हो । यहि पढेको पुस्ता हो आजको अभिभावक । हिँड्न सक्ने भएपछि आजका बालबालिका मन्टेस्वरी या प्रारम्भिक बालबिकासमा भर्ना हुन्छन् । नयाँ नयाँ सिकाइका अवधारणाको बिकासले बालबालिका छिटोभन्दा छिटो आमाको काख छोड्न विवश छन् । मज्जाले खेल्ने उमेरमा कापी कलम र झोलाको बोझ बोक्न बाध्य । सबैभन्दा कम पढेको शिक्षकका सिढिमा सबैभन्दा तल राखिएको बालबिकास सहयोगी कार्यकर्तालाई राज्यले शिक्षक मान्न ठुलै आन्दोलन झेल्नु प¥यो । विद्यालयतहमा हेरिने दृष्टिकोण आज पनि उस्तै छ ।जीवनको जग प्रती हामी जो कोहि संबेदनसिल देखिन सकेका छैनौं । एस इ इ को अनि प्लस टु को रिजल्ट मापनले विद्यालयको गुणस्तर निर्धारण गर्ने संकुचित अवधारणामा परिवर्तन ल्याउन अबेर भएको छ । विद्यालय तहका सबै उमेर समुहका विद्यार्थीको जीवनमा गुरुकुलिय अनुशासन खोज्नु अर्को मुर्खता हो । फरकफरक पारिवारिक पृष्ठभुमि बाट विद्यार्थीको चरित्र ,आनिवानी र संस्कार भिन्नभिन्न हुनु स्वभाविक छ । उनीहरुलाई समायोजन गरेर समान रूपमा शिक्षा दिनु पक्कै सजिलो काम होइन शिक्षण पेशा । फेरि पनि कर्तव्यनिष्ठ भएर आफुलाई समय सापेक्ष बनाइ राख्न जरुरी छ । राज्यको मुख ताकेर तालिम र थप सेवा सुविधाको अपेक्षा राख्नु पनि मुर्खता साबित हुन्छ । त्यसैले विद्यालय तहमा अनुशासन कायम राख्न अभिभावक, शिक्षक र प्रधानाध्यापकका भूमिकामा आधारित एक बहुआयामिक दृष्टिकोण बन्नु पर्छ । विद्यालय कुनै भवन मात्र होइन । यहाँ देशको भावी चेतना, मूल्य र जिम्मेवारीको बीउ रोपिन्छ। सरकारी स्कुल होस् वा निजी, अनुशासन, नैतिकता र जिम्मेवारीका आधार बिना गुणस्तरीय शिक्षा सम्भव हुँदैन। आजको विद्यार्थी पुस्तालाई सक्षम, आत्मानुशासित र सामाजिक मूल्यमा जरा गाडिएको नागरिक बनाउन तीन मुख्य आधारस्तम्भ—अभिभावक, शिक्षक र प्रधानाध्यापकको बराबर भूमिका आवश्यक पर्छ।
अभिभावकबाट घरमै सुरु हुने अनुशासनको पाठ
घरलाई पहिलो कक्षाकोठा बनाउने । बच्चाले पहिले घरमै व्यवहार सिक्छ । कसरी बोल्ने, कसरी बस्ने, कसरी अरूलाई सम्मान गर्ने ? बिहानै उठ्ने, समयपालन गर्ने, आफ्नो काम आफैँ गर्ने जस्ता साना बानी घरमै बसेर सिकाइन्छ । बच्चाका लागि स्थिर दिनचर्या—होमवर्क, मोबाइल समय, खेल, टेलिभिजन सबैको सीमारेखा स्पष्ट पारिदिने ।अनियन्त्रित स्वतन्त्रता भन्दा निर्देशित स्वतन्त्रता बालकको चरित्र निर्माणको आधार हो। अभिभावकहरूको सक्रिय सहभागिता र बैठक, नियमित संवाद, शिक्षकसँग प्रत्यक्ष छलफलमा सामेल हुने । सन्तानका समस्यासँग भाग्नु होइन, शिक्षकसँग मिलेर समाधान खोज्नु प्रभावकारी हुन्छ। बच्चाले आफैं अनुकरण गर्छ—यदि अभिभावक समयनिष्ठ छन्, सम्मानजनक भाषा बोल्छन्, जिम्मेवार छन् भने बच्चा पनि त्यही दिशामा ढल्किन्छ । कक्षाकोठा भित्रको अनुशासन र प्रेरणा अझ भिन्न हुन्छ ।अनुशासनको अर्थ दण्ड होइन, जीवन दिशा हो ।अनुशासन डर हो भन्ने पुरानो सोच अब काम लाग्दैन नै । असल शिक्षकले विद्यार्थीलाई अनुशासन किन आवश्यक हो भन्ने बुझाउँछ, जब बुझाइ हुन्छ तब स्वानुशासन विकसित हुन्छ। अनुशासन गहना मात्रै होइन त्यो बिग्रेर हतियार बन्न सक्छ ।
कक्षामा सबै विद्यार्थीका लागि एउटै नियम—कसैप्रति पक्षपात, अपमान, पक्षधरता नराख्ने। नियम तोडियो भने सजाय होइन, जिम्मेवारी पुनस्र्थापित गर्ने प्रक्रिया जस्तै –कक्षा सफा गर्न मद्दत, समूहमा नेतृत्व गर्न लगाउने आदि। वैयक्तिक कथा, जीवन–अनुभव, समाजका आदर्श चरित्रका कथा सुनाउने । यिनले केही न केही नैतिकताको बीउ रोप्छ ।सक्रिय सिकाइ—समूहकार्य, छलफल, प्रस्तुतीकरणले विद्यार्थीलाई जिम्मेवार बनाउँछ। शिक्षकले देखाएको व्यवहार शान्त भाषा, धैर्यता, समयपालनले पनि विद्यार्थीको चरित्र निर्माणमा प्रत्यक्ष असर गर्छ।
विद्यालयको ‘भिजन’ र ‘संस्कृति’ स्पष्ट हुनुपर्छ—सम्मान, समानता, स्वच्छता, समयपालन जस्ता आधारभूत मूल्यहरूलाई संस्थागत बनाउने। शिक्षक र अभिभावकलाई एउटै दिशामा उभ्याउने नेतृत्व गर्ने भूमिकामा प्रधानाध्यापकले नेतृत्व र संयोजनकर्ता हुनुपर्छ। नियमित अन्तरक्रिया—मासिक बैठक, त्रैमासिक मूल्यांकन, सामुदायिक संलग्नतालाई नियमितता दिने । विद्यार्थीलाई स्वागतयोग्य, सुरक्षित र सहज वातावरण दिने जसले विद्यार्थीको मनोविज्ञानलाई सहयोग गर्छ। दण्डमूलक संरचना हटाएर प्रोत्साहन–मूलक संस्कृति बिकास गर्नुपर्ने हुन्छ । सरसफाइदेखि कक्षाकोठा अनुशासन, समयतालिका, शिक्षक उपस्थितिसम्म सबको स्पष्ट, व्यवस्थित र पारदर्शी प्रणाली कायम राख्न आवश्यक छ ।
डिजिटल अनुशासन अन्तरगत मोबाइल प्रयोगको समय, उद्देश्य, जिम्मेवारी—विद्यालयमा डिजिटल–अनुशासन कार्यक्रम आवश्यक छ । सूचना हेरचाह, तथ्यजाँच, गलत सामग्रीबाट बच्ने सीप सिकाउनुपर्छ। समस्या समाधान, सहकार्य, नेतृत्व, भावनात्मक बुद्धिमत्ता , सामाजिक संवेदनशीलता यी सिकाइ बिना अनुशासन अपूर्ण हुन्छ। अवसर र जिम्मेवारी बराबर दिने ।जस्तै ः– विद्यार्थीलाई नेतृत्व गर्ने अवसर (अबिकक अबउतबष्ल, भखभलत यचनबलष्शभच) दिँदा उनीहरू स्वानुशासित बन्छन्। जिम्मेवारी दिएर विश्वसनीय बनाउन सकियो । गल्ती गरे पनि सुधारको मौका दिनु समेत पर्छ । विद्यालयमा अनुशासन कायम गर्नु केवल नियम बनाउने काम होइन । यो अभिभावकको घरको संस्कार शिक्षकको कक्षाकोठाको व्यवहार र प्रधानाध्यापकको संस्थागत नेतृत्व यी तीनवटा धारको संयुक्त प्रभाव हो। अनुशासन डर मात्र होइन व्यक्तिगत उत्तरदायित्वको जागरण हो। नैतिकता उपदेश होइन । व्यवहारद्वारा सिकाइएको जीवनकला हो। जिम्मेवारी बोझ होइन । स्वतन्त्रता हासिल गर्ने कौशल हो।यदि यी तीनै पक्ष एकै दिशामा उभिन्छन् भने ,आजका विद्यार्थी पुस्ता केवल अनुशासित मात्र होइन, सक्षम, मानवीय र भविष्यप्रति प्रतिबद्ध नागरिक बन्नेछन्। हामी सबैको उद्देश्य यहि होइन र ?









प्रतिक्रिया दिनुहोस्