पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई विस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतको रूपमा रहेको छ ।
स्याङ्जा ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका छन् । ५७ वर्ष पहिला कोदो, मकै फल्ने बारीमा बुवाले थालेको सुन्तला खेतीलाई विस्तार गर्दै उनले आम्दानी लिन थालेका हुन् । कोदो, मकैबाटभन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने सम्भावना देखेर थालिएको सुन्तला खेती अहिले आम्दानीको मुख्य स्रोतको रूपमा रहेको छ ।
विसं २०७५ सालदेखि व्यावसायिक रूपमा सुन्तला खेती गरेका सेनले सुन्तलाको बगँैचा विस्तारमा जोड दिँदै हाल ३६ रोपनीमा व्यावसायिक रूपमा खेती गर्दै आएका छन् । उनले यसवर्ष ३०० सुन्तलाका बोटमा फलेको सुन्तला बिक्रीबाट १५ लाख बढी आम्दानी गरेका हुन् । ‘छत्तिस रोपनी क्षेत्रफलमा फैलिएको सुन्तला बगैँचामा रहेको बोटहरूमध्ये यसवर्ष ३०० बोटमा मात्रै उत्पादन भएको हो,’ उनले भने, ‘स्थानीय स्याङ्जाकै सुन्तला व्यापारीलाई बोट नै १५ लाखमा ठेक्कामा दिएको हुँ ।’
स्थानीय सुन्तला व्यापारीले बगैँचाबाट सुन्तला टिप्ने, ढुवानी तथा बजारीकरणको काम गरेका हुन् । बगैँचामा पुराना ३०० र नयाँ एक हजार ५० गरी एक हजार ३५० वटा सुन्तलाका बोट रहेका छन् । नयाँ बोट फल्नेक्रममा रहेकाले आगामी वर्षमा उत्पादन र आम्दानी सँगसँगै वृद्धि हुँदै जाने उनले बताए । उनको बगँैचामा स्थानीय जातका सुन्तला र धनकुटाबाट ल्याएर लगाएका ‘खोकु’ जातका सुन्तलाका बोटहरू छन् ।
‘यहाँ उत्पादन भएको सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन,’ उनले भने, ‘उत्पादन हुनुप¥यो स्थानीय तथा पोखरालगायतका ठाउँका व्यापारी बगैँचामै आउने गरेका छन् ।’ किसानले सुन्तलाको बोट नै वा फुटकरमा दुवै तरिकाले सुन्तला बिक्री गर्ने गरेका छन् । बारीमा निर्वाहमुखी रूपमा उत्पादन हुने कोदो तथा मकैले गुजारा चलाउँदै आएका स्थानीय कोदो तथा मकैको विकल्पका रूपमा गरिएको सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गइरहेका छन् ।
‘बुवाले सुरुमा परीक्षणका रूपमा २५ वटा बोट लगाउनुभएको थियो, केही वर्ष राम्रो फल्यो अनि विस्तारै बोट मर्दै गए,’ उनले भने, ‘पहिला लगाएका बोटहरू मरेपछि फेरी मैले गोरखाबाट कलमी बेर्ना ल्याएर लगाएँ त्यो पनि पाँच–छ वर्षमै बोटहरू मरे, २८७ वटा बोट जरैदेखि फालिदिएँ ।’ सुन्तला कृषक सेनले जस्तै ठुलाडिहीका ३१ घर परिवार व्यावसायिक सुन्तला खेतीमा लागेका छन् ।
प्रत्येक घरले एकदेखि १५ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्दै आइरहेका छन् । सुन्तलामा पटक–पटक असफल हुँदै गर्दा पनि हरेस नखाइ निरन्तर रूपमा अगाडि बढेका सेनले कृषि प्राविधिकको सल्लाहबमोजिम बेर्ना तथा अन्य सरसल्लाहअनुसार पुनः सुन्तला खेती गरेका थिए ।
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरू पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मंसिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरू भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् ।
झण्डै २० जनाको समूहमा गाउँकै ठेकेदारमार्फत बेनी नगरपालिका–४ बास्कुनामा सुन्तला टिप्न आएका धादिङको रुबीभ्याली गाउँपालिका–५ रिका दिलीप घलेले सुन्तला टिप्ने कामबाट मौसमी रोजगारी मिलेको बताए । ‘पढाइ र घरखर्च चलाउने पैसा जुटाउनका लागि सुन्तला टिप्न आएको हो,’ उनले भने, ‘तीन महिना काम गरेपछि घर फर्किएर ११ कक्षाको पढाइलाई निरन्तरता दिने हो ।’
यहाँका बगैँचामा सुन्तला टिप्न आउनेमा अधिकांश धादिङ र गोरखाका मजदुर छन् । जिल्लाभर २०० भन्दा बढीले सुन्तला टिप्ने रोजगार पाएका बताइएको छ । यहाँका बगैँचामा फलेका सुन्तला टिप्ने र बजार पठाउन हिजोआज किसान तथा मजदुरलाई भ्याइनभ्याइ छ । सुन्तला टिप्ने काम गर्ने उनीहरूले खाना खाएर मासिक रु १५ देखि २० हजार तथा दैनिक रु ७०० देखि ८०० ज्याला पाउने गरेका छन् ।
बोटमा सुन्तला टिप्ने, ग्रेडिङ, गाडीमा लोड र अनलोड गर्न मजदुरको आवश्यकता पर्छ । सुन्तलाखेती गरेका किसानका साथै स्थानीय र अन्य जिल्लाका मजदुरहरूलाई रोजगारी मिलेको बेनी–३ राखुका भवीकला रानाले बताइन् । गत वर्ष म्याग्दीबाट रु ३३ करोड मूल्य बराबरको चार हजार ७८१ मेट्रिकटन सुन्तला बिक्री भएको थियो । जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख सञ्जिव बास्तोलाले यस वर्ष पनि गत वर्षको मात्रामा सुुन्तला उत्पादन हुने अनुुमान गरिएको बताए । राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् । जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्