सुदूरपश्चिममा बढ्दै लागूऔषधको समस्या



सुदूरपश्चिम ।

सुदूरपश्चिम प्रदेश अहिले एक गम्भीर सामाजिक संकटको सामना गर्दैछ । तथ्यांक र स्थानीय अनुभवहरूले देखाउँछन् कि यस प्रदेशमा लागूऔषधको समस्या दिनानुदिन बढ्दै गएको छ । सबैभन्दा बढी जोखिममा परेका वर्ग भनेका युवा हुन्, जसले भविष्यको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष असर पार्दै छन् । यो अब केवल प्रहरीको चुनौती मात्र नभएर सम्पूर्ण समाजको साझा जिम्मेवारी बन्न पुगेको छ ।

यसै सन्दर्भमा भिजन सुदूरपश्चिमले सातौँ श्रृंखला बहस छलफल आयोजना गरेको थियो । बहसको विषय थियो– ‘बढ्दो लागूऔषधः न्यूनीकरणका लागि साझा प्रयास ।’ कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ, प्रहरी अधिकारी, समाजसेवी, स्वास्थ्यकर्मी र स्थानीय प्रतिनिधिहरूले आफ्नो अनुभव र सुझाव साझा गरे ।

प्रमुख वक्ता, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भने, ‘यदि युवाहरू यसरी लागूऔषधमा मुछिन्छन् भने यो समाजका लागि ठूलो दुर्भाग्य हुनेछ ।’ उनका अनुसार, युवापुस्तामा लागूऔषधको प्रयोग बढ्नुको कारण सामाजिक असुरक्षा, परिवारको अभाव, बेरोजगारी र सीमित शिक्षा अवसर हुन् । उनले थपे, ‘यसलाई रोक्न अभिभावक, समाज, विद्यालय र प्रहरीको संयुक्त प्रयास अपरिहार्य छ । केवल कानुनी कारबाहीले मात्र समस्या समाधान हुँदैन ।’

प्रहरी निरीक्षक बिष्टका अनुसार धनगढी उपमहानगरपालिकाले वडास्तरीय बजेट समयमै उपलब्ध गराउन नसकेको अवस्था छ । तर प्रहरीले शून्य सहनशीलताका साथ लागूऔषध अपराध नियन्त्रणमा काम गरिरहेको छ । ‘कारोबारी पक्राउ परे पनि पैसा लिएर छोड्ने कोही भए कारबाही हुन्छ । अब कुनै सम्झौता छैन,’ उनले भने । साथै, प्रहरीका अनुसार सामाजिक सञ्जाल, देखासिकी र मित्रमण्डलीको प्रभावले पनि युवाहरूलाई लागूऔषध प्रयोगतर्फ प्रेरित गरेको छ ।

यसलाई रोक्नका लागि सचेतना कार्यक्रम, विद्यालय भ्रमण र जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ । नेपाल–भारत सीमामा लागूऔषधको ओसारपसार पनि बढ्दो छ । सुदूरपश्चिमका प्रहरी हरेक दिन सीमा क्षेत्रमा सक्रिय छन् । नेपाली पक्षले सीमा बैठकमा भारतीय पक्षसँग सहकार्य माग्दै आएको भए पनि अहिलेसम्म ठोस परिणाम देखिएको छैन ।

अभियुक्तहरूले सीमावर्ती भारतीय बजारसँग आफ्नो सम्बन्ध विस्तार गर्दै सुदूरपश्चिममा लागूऔषधको पहुँचलाई सहज बनाइरहेका छन् ।सुदूरपश्चिम पुनस्र्थापना फाउन्डेसनका सञ्चालक समीर मल्ल भन्छन्, ‘केवल उपचार र स्याहारले समस्या समाधान हुँदैन । ‘पुनस्र्थापना भनेको सामाजिक, भौतिक र आर्थिक रूपमा सक्रिय बनाउनु हो । यदि पुनस्र्थापना नहुँदा युवाहरू फेरि लागूऔषधतर्फ फर्किन्छन् ।’ उनले बताए कि सुदूरपश्चिममा १९ सुधार केन्द्र सञ्चालनमा छन्, तर केवल सुधार गृहमा राख्नु पर्याप्त छैन ।

मल्लका अनुसार सुधार केन्द्रमा उपचार र स्याहारका साथै क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नु अत्यावश्यक छ । युवा वर्गलाई सीप र रोजगारमुखी प्रशिक्षण दिएबिना उनीहरू पुनः लागूऔषधमा फस्ने सम्भावना उच्च हुन्छ । ‘मात्र जेल वा सुधारगृहले लागूऔषध समस्या समाधान गर्न सक्दैन । समाज र परिवारको भूमिकाले पनि पुनस्र्थापनामा ठूलो योगदान दिन सक्छ,’ उनले भने ।

निसर्ग हस्पिटलका मनोचिकित्सक डाक्टर प्रभात सापकोटाले जनशक्ति अभावका कारण लागूऔषधमा संलग्न युवालाई उपचारको दायरामा ल्याउन कठिनाइ भएको बताए । उनले भने, ‘हामी लागूऔषधलाई रोगको रूपमा हेर्छौँ, तर चिकित्सकीय निगरानी पर्याप्त छैन ।पुनस्र्थापनापछि निगरानी नहुँदा धेरै युवा फेरि लागूऔषधमा फर्किन्छन् । सुधार केन्द्रमा चिकित्सकको निरन्तर निगरानी अत्यावश्यक छ । औषधि सेवनको निगरानीबिना पुनस्र्थापना अपूर्ण रहन्छ ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०८२–०८३ सम्ममा प्रदेशभर २३५ जनालाई लागूऔषध मुद्दामा पक्राउ गरिएको छ । यसमा ९ महिला र बाँकी पुरुष रहेका छन् । बरामद गरिएका लागूऔषधमा हिरोइन ३४१ ग्राम ५०२ मिलिग्राम र चरेश १५ किलो ९६५ ग्राम रहेका छन् । जिल्लागत विवरणअनुसार सबैभन्दा बढी कैलाली (१२१) र कञ्चनपुर (७८) प्रभावित छन् ।

अन्य जिल्लाहरूमा बझाङ, दार्चुला, डडेल्धुरा, बैतडी, डोटी र बाजुरामा क्रमशः कम अभियुक्त पक्राउ परेका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा प्रदेशभर ६९३ मुद्दा दर्ता भई १०,०४३ जनालाई पक्राउ गरिएको थियो । कैलालीबाट ६५८ र कञ्चनपुरबाट २५९ जना पक्राउ परेका थिए। तथ्यांकले देखाउँछ कि तराईका यी दुई जिल्लामा लागूऔषधको कारोबार लगातार बढ्दो छ ।

सीमा सुरक्षा र अवैध कारोबार

नेपाल–भारत सीमा क्षेत्रमा लागूऔषध ओसारपसार व्यापक रूपमा भइरहेको छ । अभियुक्तहरूले सीमावर्ती भारतीय बजारसँग आफ्नो सम्बन्ध विस्तार गर्दै सुदूरपश्चिममा वितरण बढाइरहेका छन् । यसले लागूऔषध नियन्त्रणलाई थप चुनौतीपूर्ण बनाएको छ । प्रहरी अधिकारीका अनुसार सीमा सुरक्षा, समाजको सचेतना र अभियानिक निगरानीलाई अझ सुदृढ बनाउन आवश्यक छ ।

विशेषज्ञहरूको मतअनुसार केवल प्रहरी प्रयासले मात्रै लागूऔषध नियन्त्रण सम्भव छैन । अभिभावक, शिक्षक, समाजसेवी र स्थानीय सञ्चार माध्यमले सक्रिय भूमिका खेल्नुपर्छ । सचेत समाज र सकारात्मक वातावरण सिर्जना गरेर मात्र युवाहरूलाई लागूऔषधबाट टाढा राख्न सकिन्छ । समीर मल्ल भन्छन्, ‘सामाजिक र आर्थिक पुनस्र्थापना भए मात्र युवाहरू लागूऔषधबाट टाढा रहन्छन् । यसका लागि समुदाय, विद्यालय र परिवारको सहकार्य अत्यावश्यक छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार