कोहलपुर (बाँके) ।
बाँके इसाई समाजको आयोजनामा क्रिसमसको पूर्वसन्ध्यामा कोहलपुरमा बृहत् ¥याली, शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम हुँदैछ। लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुने भएको हो । कोहलपुरको न्युरोडस्थित खुला मैदानमा आयोजना हुने कार्यक्रममा शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम हुने बाँके इसाई समाजका अध्यक्ष शेरबहादुर बोहोराले बताए ।
उनका अनुसार क्रिसमसको पूर्वसन्ध्यामा कोहलपुरमा जिल्लाभरका क्रिश्चियन धर्मावलम्बीहरूको सहभागिता रहने छ । कार्यक्रमबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बोहोराले बुधबार बिहान १० बजे बृहत् ¥याली हुने र त्यसपछि औपचारिकसभा आयोजना गरिने बताए । सभाको प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना रहनेछन् ।
सभामा बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, कोहलपुर नगरपालिकाका नगरप्रमुखसहितका जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुख र क्रिश्चियन धर्मावलम्बीहरूको उल्लेख्य सहभागिता रहने उनले बताए । पत्रकार सम्मेलनमा अध्यक्ष बोहोराले भने, ‘क्रिश्चियन धर्मावलम्बी भनेका येशू ख्रिष्टलाई परमेश्वरका पुत्र र मुक्तिदाता मान्ने अनुयायीहरू हुन् ।
उनीहरूले येशूको शिक्षाअनुसार जीवन जिउँछन् । बाइबललाई पवित्र ग्रन्थ मान्छन् । क्रिसमस (येशूको जन्मदिवस)जस्ता पर्वहरू धुमधामसँग मनाउँछन् । क्रिसमसको पूर्वसन्ध्यामा यस्तै कार्यक्रम आयोजना गर्न लागिएको हो ।’ बुधबार आयोजना हुने कार्यक्रममा दिव्य प्रवचनका लागि काठमाडौँबाट बालकृष्ण शर्मा आउने कार्यक्रम रहेको समेत अध्यक्ष बोहोराले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका व्यवस्थापक नोखराज रावतले जिल्लाभरीका क्रिश्चियन धर्मावलम्बीहरूको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनका अनुसार जिल्लाका आठ वटै स्थानीय तहबाट कार्यक्रममा सहभागिता रहन्छ । पत्रकार सम्मेलनमा कोहलपुर इसाई समाजका अध्यक्ष बालकृष्ण विक, जिल्ला उपाध्यक्ष नन्दलाल घर्ती लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्