औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै राखिने



श्यामलाल पोखरेल । बुटवल ।

बुटवलमा रुपन्देही उद्योग संघले यही पुस ३ गतेदेखि १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । १७ गतेसम्म चल्ने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको मंगलबार प्रदर्शनीस्थलमा पत्रकार सम्मेलन गरी आयोजकहरूले जानकारी गराएका छन् । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मुख्य नारासहित आयोजना गरिने प्रदर्शनीको उद्देश्य अर्थतन्त्रलाई चलायमान बनाउने र कृषि, पर्यटनलाई जोड्ने रहेको छ ।

बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै स्टलहरूमा राखिने आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले पत्रकार सम्मेलनमा बताएका छन् । कृषि, प्रविधि तथा पर्यटनलाई पहिलो प्राथमिकतामा राखिएको उक्त प्रदर्शनीमा छिमेकी देश भारतको उत्तर प्रदेशको गोरखपुर, लखनउका उद्योगीहरूलाई आमन्त्रणा गरी नेपाल उद्योग परिसंघको आयोजनामा त्यहाँ पत्रकार सम्मेलन गरिएकोे संघका अध्यक्ष पराजुलीले बताए ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरूका लागि छुटछुट्टै १० वटा पेभिलियनका स्टलहरू राखिने छ । त्यस्तै औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका ३ सय ५० स्टलहरू राखिने पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदर्शनीमा ८ लाख दर्शकले अवलोकन गर्ने र २० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार हुने मूल आयोजक समितिका संयोजकसमेत रहेका पराजुलीले जानकारी गराए ।

उनका अनुसार महोत्सवको पूर्वसन्ध्यामा पुस २ गते विभिन्न भेषभूषा र झाँकीसहित औद्योगिक ¥याली निकालिने र ३ गते दिउँसो २ बजेर ठिक १६ मिनेटमा अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उत्पादक र उपभोक्तालाई एक आपसमा जोडेर हरेक प्रकारका स्वदेशी उत्पादनहरूको बजारीकरण गर्ने राष्ट्रिय औद्योगिक प्रदर्शनी उद्देश्य रहेको बताउँदै अध्यक्ष पराजुलीले भने ‘अहिले आर्थिक मन्दीको अवस्थालाई चलायमान बनाउने हाम्रो अर्को प्रमुख उद्देश्य हो । यसमा सबै क्षेत्रको साथ सहयोग र समर्थन आवश्यक छ ।’

प्रदर्शनी सफल बनाउन ६५ सदस्य रहेको मूल समिति, ५१ सदस्य विशेष सल्लाहकार समिति, २ सय ५१ सल्लाहकार समिति र विभिन्न ३० वटा उपसमिति गठन गरिएको रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले जानकारी दिए । नेपाल पत्रकार महासंघको सहयोगमा फोटो प्रदर्शन गरिनेछ । रुपन्देही क्षेत्रका पर्यटकीयस्थल, पुराना उद्योगहरू, पुरातात्विक महत्वका स्थलहरूका फोटाहरू प्रदर्शन गरिने नेपाल पत्रकार महासंघ रुपन्देहीले जनाएको छ ।

प्रदर्शनी अवलोकनका लागि सर्वसाधारण नागरिकका लागि प्रतिव्यक्ति टिकल रु ७५, विद्यार्थीका लागि रु ५० र वृद्धवृद्धा, अपांगहरूलाई टिकट निःशुल्क गरिएको छ । उक्त प्रदर्शनीमा विभिन्न विधामा अन्तक्र्रिया तथा गोष्ठीहरू आयोजना गरिने छ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम दैनिक रूपमा सञ्चालन गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार