कोहलपुरको बेथिति र भ्रष्टाचारविरुद्ध रावलको ‘एकल अनसन’



उनी वडा नम्बर १३ र कोहलपुर नगरपालिकामा रहेको बेथिति र भ्रष्टाचार अन्त्य हुनुपर्ने मागसहित ‘एकल अनसन’मा छन् ।भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने मागसहित उनले एकल रूपमा अनसन सुरु गरेका हुन् । आफ्नो माग पूरा गर्न भन्दै उनी विगत तीन दिनदेखि हरेक दिन नगरपालिकाको मूल गेट अगाडी एउटा पम्पलेट बोकेर उभिन्छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँके कोहलपुरको मुख्य चौराहादेखि करिब ५ सय मिटर अगाडी छ, कोहलपुर नगरपालिकाको नगर कार्यपालिका कार्यालय । केही दिनदेखि नगरपालिकाको मूल गेटको अगाडी उभिरहेका देखिन्छन्, एक युवा । उनले कालो रङको हाफ रिसर्ट लगाएका छन् । एक गहुँगोरो वर्ण भएका अन्दाजी ३०–३२ वर्षका ती युवा हुन्, कोहलपुर नगरपालिका वडा नम्बर १३ का दुर्गाबहादुर रावल ।

उनी वडा नम्बर १३ र नगरपालिकामा रहेको बेथिति र भ्रष्टाचार अन्त्य हुनुपर्ने मागसहित ‘एकल अनसन’मा छन् । भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने मागसहित उनले एकल रूपमा अनसन सुरु गरेका हुन् । आफ्नो माग पूरा गर्न भन्दै उनी विगत तीन दिनदेखि हरेक दिन नगरपालिकाको मूल गेट अगाडी एउटा पम्पलेट बोकेर उभिन्छन् । हरेक दिन उनी बिहान ११ बजे त्यहाँ आउँछन् । उनको अनसन ४ बजेसम्म हुन्छ । उनी हातमा पम्पलेट बोकेर दिनभर गेट अगाडी उभिन्छन् ।

‘कोहलपुर नगरपालिका वडा नम्बर १३ मा भएको बेथिति र भ्रष्टाचार बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर ।’ पम्पलेटमा लेखिएको छ । सामाजिक अभियन्तासमेत रहेका रावल भन्छन्, ‘मेरो अनसन बेथिति र भ्रष्टाचारविरुद्ध हो । केही दिन वडा कार्यालयमा अनसन बसेँ । केही दिनदेखि कोहलपुर नगरपालिकाको गेटमै उभिएर धर्ना दिइरहेको छु ।’ उनले वडा नम्बर १३ मा चरम बेथिति रहेको बताए ।

त्यहाँको शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा बेथिति रहेको र आफूले लामो समयदेखि खबरदारी गर्दै आएको उनको भनाइ छ । स्थानीय सरकारबाट विनियोजित हुने बजेट, प्रदेश र संघीय सरकारबाट आउने विभिन्न योजनामा वडा सरकारले चरम दुरुपयोग गर्ने गरेको उनले बताए। ‘योजना कार्यान्वयनमा सीमितता छ । नागरिकहरूलाई धेरै योजनाबारे जानकारी नै नदिने चलन छ । उपभोक्ता समितिमा जनप्रतिनिधि आफैँ बस्छन् । योजनामा दलीयकरण रोक्नुपर्छ भनेर माग गर्दै आइरहेको छु,’ उनले भने ।

सुरुमा उनले आफ्ना मागका विषयमा वडा कार्यालयमा लिखित रूपमा जानकारी दिएका थिए । तर वडाले चासो नै नदेखाएका कारण आफू नगरपालिकामा अनसन बस्न आउनु परेको रावल बताउँछन् । वडा नम्बर १३ मा तटबन्धन निर्माणमा भ्रष्टाचार भएको उनले दाबी गरे । वडा नम्बर १३ मा रहेको विद्यालयमा भएको बेथितिका विषयमा उनले लामो समय संघर्ष गरेका थिए ।

यस्तै वडा नम्बर १३ मा सहकारीमा भएको बेथितिविरुद्ध उनले खबरदारी गरे । अहिले ती क्षेत्रमा भएको बेथिति र दलीयकरण अन्त्य भएको रावलले बताए । यस क्षेत्रमा धेरै वर्षदेखि बेथिति छ । यसका विरुद्ध आफूले लामो समयदेखि संघर्ष गर्दै आएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जालबाट समेत आफूले यसका विषयमा खबरदारी गरिरहेको रावलको भनाइ छ ।

जति खबरदारी गर्दासमेत माग सुनुवाइ नभएपछि आफू अनसन नै बसेको उनको भनाइ छ । ‘मैले वडामा भएका विषयमा भौतिक रूपमा भेटेरै, लिखित रूपमा पनि वडा सरकारलाई ध्यानाकर्षण गरिरहेको हुन्छु । पछिल्लो पटक पनि वडाध्यक्ष ज्यूलाई भेटेर आफ्ना कुरा राखेको हुँ । उहाँले मेरा कुरा सुन्नु भएन । त्यसैले यस्तो कदम चाल्नुपर्ने बाध्यता आइलाग्यो,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।

वडामा न्याय नपाएर नगरपालिकाले आफ्ना माग सम्बोधन गर्छ कि भन्ने आशासमेत रहेको उनको भनाइ छ । आफू निरन्तर अनसनमा रहेको भन्दै आफ्ना माग पूरा नहुँदासम्म एकल अनसन जारी रहने रावलले बताए । धेरै दिनसम्म माग पूरा नभएर वडा नम्बर १३ का अन्य स्थानीयसमेत आन्दोलनमा सहभागी हुने उनले चेतावनीसमेत दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २ गते बुधबार