श्यामलाल पोखरेल । बुटवल ।
खाना पकाउनका प्रयोग हुने एलपीजी ग्याँस सबैजसोका भान्सा कोठामा अनिवार्यजस्तै भएको छ । दाउरा, कोइला, भुसको प्रयोगभन्दा एलपीजी ग्याँस प्रयोग हुन थालेको छ । दाउरा, कोइला, भुसको प्रयोगहरू पनि समयको मागसँगै एलपीजी ग्याँस प्रयोग गर्न थालेका छन् । हिमाली र पहाडी क्षेत्रका विकट वस्तीका घरहरूमा पनि एलपीजी ग्याँस प्रयोग बढेको छ ।
खाना पकाउन छिटो छरितो हुने र भाँडा काला वा नरङ्सिने भएकाले सिलिण्डरसहितको एलपीजी ग्याँस बढी मात्रामा प्रयोगमा आएको छ । पकाउन छिटो छरितो हुने र भाँडा काला वा नरङ्सिने सकारात्मक पक्ष भएपनि यसलाई सही ढंगले प्रयोग गर्न नजाने ठूलो दुर्घटनामा पनि निम्तने गरेको छ । कैयौँ गृहिणीहरूको ज्यानसमेत गएको घटना ठाउँठाउँमा घटिरहेका पनि छन् ।
सिलिण्डरसहितको एलपीजी ग्याँस सही ढंगले प्रयोग गर्नपर्छ भन्ने सबैलाई सन्देश दिनका लागि बुटवलमा एलपीजी ग्याँस प्रयोगसम्बन्धी आधारभूत प्रशिक्षण दिइएको छ । विशेषगरी महिला गृहिणीहरूलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले एलपीजी ग्याँसको सुरक्षित प्रयोग र यसबाट जोगिन सकिने आधारभूत विषय तथा यसको प्रयोगमा थोरै हेलचक्रयाईँ गरेमा ज्यानसमेत जाने खतरा भएकाले सबैलाई सचेत बनाउने उद्देश्यले आधारभूत विषयमा प्रशिक्षण दिइएको हो ।
एकदिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षक महेश पन्तले एलपीजी ग्याँस प्रयोग गर्न हुने र नहुने विषयका बारेमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए । बजार वा पसलबाट ग्याँस सिलिण्डर ल्याउँदा नै आधारभूत मापदण्ड अध्ययन गरेर सिलिण्डर ल्याउन सुझाव दिएका छन् । गृहिणीहरूलाई व्यावहारिक रूपमा प्रयोगात्मक अभ्यास गर्दै ग्याँस प्रयोग गर्नुभन्दा अगाडी भान्साको झ्याल, ढोका सधैँ खुला राख्नुपर्ने, चुलोलाई सिलिण्डरभन्दा माथि राख्नुपर्ने बताए ।
ग्याँस पाइप तथा अन्य जोर्नी र भल्वहरू लिक भए नभएको बारेमा बेलाबेला चेकजाँच गर्नुपर्ने, सिलिण्डरलाई सधैँ ठाडो राख्नुपर्ने र ढलाएर कहिल्यै प्रयोग नगर्न उनले सुझाव दिए । प्रशिक्षक पन्तले थोरै होसियार भए केही समस्या नआउने र समस्या आउन लागेको भएपनि जानकारी हुने बताउँदै भने, ‘काम सकिसकेपछि पहिले रेगुलेटर र त्यसपछि मात्रै चुलाको नट बन्द गर्नुपर्छ । बलिरहेको ग्याँसस्टोभ छाडेर कहीँ जानु हुँदैन । केटाकेटीलाई जथाभावी ग्याँस चुल्हो चलाउन दिनु हुँदैन । सिलिण्डरको माथि कुनै प्रकारका सामान नराख्ने र त्यसलाई खुला राख्नु पर्छ ।’
पन्तले सिलिण्डर फेर्दा आगाको स्रोतहरू बन्द भएको ढुक्क भएपछि मात्रै फेर्नुपर्ने बताउँदै सावधानी नअपाइकन हतारमा सिलिण्डर फेर्दा दुर्घटना हुन सक्ने भएकाले हतारमा गल्ती गरेर फुर्सदमा नपछुताउन आग्रह गरे । आगाको झिल्का आउने बस्तुहरू जस्तैः बिजुलीको स्वीच, लाइटर, सलाई चलाउन नहुने भन्दै उनले सिलिण्डरबाट रेगुलेटर छुटाउन र भल्वमा सेफ्टीक्याप लगाउन भुल्न नहुने बताए ।
उनले समयमै सावधानी अपनाउन सके एलपीजी ग्याँसमा आगो लाग्न नसक्ने र कुनैपनि दुर्घटना नहुने उल्लेख गरे । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले एलपीजी ग्याँसको प्रयोगमा हुने लापरवाही र हेलचेक्रयाईँबाट हुने दुर्घटनाबाट बच्न सकिने बताए । उनले प्रशिक्षणमा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सिलिण्डरसहितको एलपीजी ग्याँस प्रयोग गर्दा महिला गृहिणीले मात्रै नभएर हरेक पुरुषहरू पनि यसको प्रयोगमा पूर्णजानकार हुन आवश्यक रहेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र महासचिव मुक्तिप्रसाद अधिकारीले घरघरका भान्सा कोठाहरूमा सिलिण्डर ग्याँस प्रयोगमा आधारभूत मापदण्ड प्रयोग भएको छ कि छैन भनेर चेकजाँचका कार्यक्रमहरू अभियानको रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्थापनाकालदेखि नै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले यस्ता व्यावहारिक खालका प्रशिक्षणहरू चलाउँदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्