शिवु खनाल । दाङ ।
नेपालमा बर्सेनि प्रायः एक सय ५० प्रजातिका पर्यटक चराको आगमन हुन्छ । बसाइँसराइ सूचकका रूपमा पनि हेरिइने हाँसका ३४ प्रजातिमध्ये ३० प्रजाति उत्तरी एसियाको साइबेरिया लगायतका विभिन्न भागबाट हिउँदे याममा जाडो छल्न यहाँ आउँछन् । उत्तरी ध्रुवमा हिमपातको प्रारम्भसँगै सुरक्षित वासस्थान र चरन खोज्दै रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान क्षेत्रका चराका विविध प्रजातिले नेपाललाई आफ्नो भ्रमणको गन्तव्य बनाउँदै आएका छन् ।
‘रूख सुडसुडिया’ र ‘टिमटिमा’ नामक जलचरा चीनको उत्तरी भूभागबाट नेपाल भित्रिने गर्छ भने युरोपेली, मङ्गोलियन, तिब्बती तथा कोरियाली चराहरू पनि बसाइँ सरेर आउँछन् । यसरी बसाइँ सरेर हिउँदमा आउने पर्यटक चराहरूले प्रायः देउखुरीलगायत क्षेत्रमा आफ्नो हिउँदे बास बिसाउँछन् । देउखुरीको राप्ती नदी पर्यटक चराका लागि सुरक्षित वासस्थान हो भने नदीको छेउछाउ पनि चराका लागि घुमफिर र चरनयोग्य क्षेत्र मानिन्छन् ।
साथै राप्ती नदी चरा अवलोकनार्थ उपयुक्त गन्तव्य क्षेत्र पनि हो । यस्तै पछिल्लो समय यहाँ वासस्थान खलबलिँदा चराको सङ्ख्या घट्दै गएको छ । यहाँ कतिपय चराको सङ्ख्या न्यून भइरहेको छ भने केही चरा लोपोन्मुख अवस्थामा पुगेका छन् । चराहरू लामो यात्राको प्रयास गर्ने, आराम गर्ने त छँदैछ, पछिल्लो समय जलवायु परिवर्तनका हिसाबले पनि समस्या भइरहेको छ ।
‘चरा संकटमा पर्नुका प्रमुख कारणमध्ये वासस्थानको विनाश, जलवायु परिवर्तन, भौतिक पूर्वाधार पनि हुन्,’ वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले भन्छन्, ‘चरा खतराको सूचक मात्रै होइन, अवसर पनि हो । यिनको संरक्षणका लागि सोच्नुपर्ने आवश्यकता छ ।’ यसका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्वबारे आमनागरिकलाई जानकारी गराएर संरक्षण अभियान सञ्चालन गर्नुपर्ने चराविज्ञ आनन्द चौधरीको धारणा छ । आगन्तुक चराका लागि अतिआवश्यक वासस्थानको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेत बनाउने विषयमा सबैले लाग्नुपर्ने उनको सुझाव छ ।
राप्ती नदी र आसपास क्षेत्रमा जलपन्छी गणना सुरू
देउखुरीतर्फ भएर बग्ने राप्ती नदी र आसपासका क्षेत्रमा सोमबारदेखि जलपन्छीकोे गणना सुरू भएको छ । यस वर्षको गणना जनवरी ४ देखि सुरू भएको भएपनि देउखुरी क्षेत्रमा भने सोमबारबाट गणना गर्न थालिएको हो । ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीहरूको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन हरेक वर्ष जलपन्छी गणना गरिने नेपाल पन्छी संरक्षरण संघका परियोजना अधिकृत भुपाल नेपालीले बताए ।
पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराहरूको तथ्यांक संकलन गरिने अधिकृत नेपालीले बताए । देउखुरीको भालुवाङ्तर्फबाट राप्ती नदी हुँदै बाँके राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएका देउखुरीका राप्ती नदी आसपाससम्म गरी चार समूहमा चरा गणना गरिने अधिकृत नेपालीको भनाइ छ । आन्तरिक रूपमा समेत देशका विभिन्न स्थानबाट बसाइँसराइ गरी चराहरू यस क्षेत्रमा आउने गरेको उनले बताए ।
उत्तरी ध्रुवमा हिउँ परेपछि यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा, जलेवालगायत विभिन्न प्रजातिका चराहरू हुने गरेको उनको भनाइ छ । विशेषगरी पानीमा रहने चराहरू यहाँ बसाइँसराइ गरी आउने गरेका छन् । देउखुरीतर्फको राप्ती नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । राप्ती नदीमा रैथाने, साइबेरिया, चिन, बर्मा, मंगोलिया, रुस, कोरिया, थाइल्यान्ड लगायतका देशहरूबाट आगन्तुक चराहरू यस क्षेत्रमा आउने गरेको परियोजना अधिकृत नेपालीले बताए ।
वर्ड लाइफ इन्टरनेशनलको सहयोगमा नेपाल पन्छी संरक्षरण संघद्वारा सञ्चालित देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरूको संरक्षणहरूका लागि स्थानीय सरकार र समुदायको संलग्नतामा सञ्चालित परियोजनाअन्तर्गत जाडो सिजनमा आउने चराहरूको गणना, चराको अवस्था, जोखिम र चरा पहिचान गर्नको लागि राप्ती नदी महत्वपूर्ण स्थान मानिएको हो ।
डाक्टर आनन्द चौधरी, परियोजना अधिकृत भुपाल नेपाली, अमृत नेपाली, फिल्ड अफिसर इश्वरीप्रसाद चौधरी, पृथ्वी चौधरी, परियोजना अधिकृत सुरज बस्नेत गणकहरूको सहयोगमा तीन महिनासम्म चरा गणना गरिनेछ । गतवर्ष जनवरी महिनामा भएको गणनामा विभिन्न देशबाट चिसो छल्नका लागि देउखुरीमा चराहरू आएको तथ्यांकमा देखिएको छ ।
देउखुरीमा ३ सय १९ प्रजातिका चराहरू देखापरेका थिए । पछिल्लो समय ३ सय ४४ प्रजातिका चराहरू देखापरेको पन्छी संरक्षण संघको तथ्यांकमा रहेको छ । सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरे हाँस, स्वेत माछा कलहाँस भेटिएका थिए । नेपालमा पाइने कूल चरामध्ये दुई सयभन्दा बढी प्रजातिका चरा पानीमा आश्रित रहेका छन् ।
यसमध्ये एक सय प्रजाति आगन्तुक चरा रहेका छन् । जाडोमा आउने आगन्तुक चरा नदी छेउछाउ, सिमसारमा बस्ने गर्दछन् । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरूको उपस्थिति बाक्लो हुने गरेकाले चरा गणना गर्ने गरिएको छ । यो समयमा बाहिरबाट जलपन्छीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् ।








प्रतिक्रिया दिनुहोस्