अख्तियार कञ्चनपुरमा शिक्षा र स्थानीय तहका उजुरी धेरै



कैलाली ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालू आर्थिक वर्षको मंसिर दोस्रो सातासम्म ४४४ वटा उजुरी दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ४६२ उजुरीसमेत गरी हालसम्म कूल ९०६ उजुरी दर्ता भएको आयोगको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी चेतराज भट्टका अनुसार, दर्ता भएका उजुरीमध्ये सबैभन्दा धेरै शैक्षिक क्षेत्रसँग सम्बन्धित छन् ।

चालू आवको मंसिर दोस्रो सातासम्म शिक्षासम्बन्धी १७४ उजुरी दर्ता भएका छन् । विद्यालयको दिवा खाजामा अनियमितता, शिक्षक सरुवा, भवन निर्माण, सामग्री खरिद, पुस्तकालयसम्बन्धी भ्रष्टाचारलगायतका विषयमा उजुरी परेको उनले बताए । त्यस्तै, स्थानीय तहसँग सम्बन्धित १०३ उजुरी दर्ता भएका छन् । वन तथा वातावरण क्षेत्रका १०६, भौतिक पूर्वाधारसम्बन्धी ११४ र स्वास्थ्य क्षेत्रका ५३ उजुरी दर्ता भएको भट्टले जानकारी दिए । उनका अनुसार, करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित छन् ।

नीतिगत भ्रष्टाचार तथा पूर्वाधार निर्माण र सामग्री खरिदका नाममा हुने अनियमिततासम्बन्धी उजुरी बढी परेको उनले उल्लेख गरे । जिल्लागत रूपमा हेर्दा, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाबाट सबैभन्दा धेरै उजुरी दर्ता भएका छन् । चालू आर्थिक वर्षमा कैलालीबाट २२० उजुरी दर्ता भएकोमा ६६ फछ्र्यौट भएका छन् भने १५४ उजुरीमाथि छानबिन भइरहेको छ । कञ्चनपुरबाट १६६ उजुरी दर्ता भएकोमा ६७ फछ्र्यौट भएका छन् भने ९९ उजुरी बाँकी छन् ।

अछामबाट ९० उजुरी दर्ता भएकोमा १९ फछ्र्यौट भई ७१ उजुरीमाथि अनुसन्धान जारी छ । बैतडीबाट ८० उजुरी दर्ता भएका छन्, जसमध्ये १५ फछ्र्यौट भएका छन् भने ६५ बाँकी छन् । दार्चुलाबाट ७४ उजुरी दर्ता भएकोमा १५ फछ्र्यौट र ५९ बाँकी छन् । बझाङबाट ६७ उजुरी दर्ता भएकोमा १५ फछ्र्यौट भएका छन् भने ५२ उजुरीमाथि अनुसन्धान भइरहेको छ ।

डोटीबाट ६४ उजुरी दर्ता भएकोमा १३ फछ्र्यौट र ५१ बाँकी छन् । डडेल्धुराबाट न्यून उजुरी दर्ता भएको जनाउँदै भट्टले ५५ उजुरीमध्ये २१ फछ्र्यौट र ३४ बाँकी रहेको जानकारी दिए । हालसम्म दर्ता भएका कूल ९०६ उजुरीमध्ये २५४ फछ्र्यौट भएका छन् भने ६५८ उजुरी प्रक्रियामा रहेका छन् । ‘दर्ता भएका ९०६ उजुरीमध्ये २५४ फछ्र्यौट भएका छन् भने ६५८ मुद्दा प्रक्रियामा छन्,’ सूचना अधिकारी भट्टले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख वेदप्रकाश भण्डारीका अनुसार, करिब १५० उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्ला र ८८ वटै पालिकाबाट भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी यस कार्यालयमा दर्ता हुँदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार