नेपालगन्ज ।
माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत १६ वटा पार्टी तथा समूहहरु एकीकृत भएर नवगठित नेपाली कम्युष्टि पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले एकताबद्ध भएर लाग्न पार्टीआबद्ध नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । बिहीबार नेपालगन्जमा आयोजित बाँके जिल्लास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आफूहरुले गरेको कम्युनिष्ट एकता देशलाई सही दिशामा लैजाने उद्देश्यले गरिएको बताए ।
उनले पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र आफूले देशका पछिल्ला आन्दोलनमा निर्णायक भूमिकामार्फत राजनीतिक कोर्स परिवर्तन गरेको र पछिल्लो एकता पनि त्यसैको अर्काे कडी भएको दाबी गरे । उनले पार्टीले अंगीकार गरेको समाजवादको सिद्धान्तले गरिब वर्गको उत्थान, समृद्धि र सुशासनलाई मुख्य कार्यभार मान्ने भएकोले अब नेकपाले नै देशलाई सही निकास दिन सक्ने पनि दाबी गरे ।
उनले राजनीनि नयाँ र पुरानो उमेरले नभै राजनीतिक कार्यक्रमले हुने पनि बताए । उनले भने, ‘युवा पनि खराब हुन सक्छन् । बुढाहरु पनि खराब हुन सक्छन् । मुख्य कुरा राजनीतिक कार्यक्रम हो ।’ नेता नेपालले पछिल्लो समय नेकपालाई जनताको ठूलो समर्थन मिलिरहेको र एकतापछिका कार्यक्रमहरुमा उत्साहपूर्ण सहभागिता रहेको बताए ।
उनले नेकपा बुढाहरुको मात्रै पार्टी हो भन्ने भाष्य गलत भएको बताउँदै भने, ‘हाम्रो पार्टीमा जेनजी पुस्ताका युवाहरु धेरै संलग्न भइरहेका छन् । त्यसैले यो युवाहरुको पनि पार्टी हो । महिलाहरुको पनि पार्टी हो ।’ नेता नेपालले आफूहरुले सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी जस्ता मुद्दाहरुलाई प्राथमिकता दिएर काम गर्ने पनि बताए ।
उनले आफू प्रधानमन्त्री भएको बेला गरिबलाई आवासका लागि जनता आवास कार्यक्रम, युवा स्वरोजगार कोषजस्ता योजनाहरु अघि सारेको पनि उल्लेख गर्दै राज्यको दायित्व कोही पनि नागरिक गास, वास र कपासबाट वञ्चित हुन नपर्ने वातावरण निर्माण गर्ने हुनुपर्ने बताए । उनले सरकारले गरिब जनताको पीडा सुन्नुपर्नेमा त्यसलाई बेवास्ता गर्ने प्रवृत्तिले समस्या सिर्जना गरेको बताए ।
नेपालले नेपालसँग अथाह प्राकृतिक स्रोत रहेको तर सरकारमा बस्नेहरु खराब भएका कारण गरिबीको अवस्थामा रहनुपरेको पनि बताए । यद्यपि पुराना राजनीतिक शक्तिहरुले केही कामै गरेनन् भने भाष्य भने गलत भएको उनको तर्क छ । कार्यक्रममा हिन्दी र उर्दू भाषाका शायरीहरुबाट सहभागीहरुलाई उत्साहित बनाउने पर्यत्न गरेका नेपाल सहभागी एक ज्येष्ठ नागरिकलाई इंगित गरेर भावुक बनेका थिए ।
कार्यक्रममा बोल्दै नेकपाका नेता एवं पूर्वमन्त्री शक्ति बस्नेतले अहिले भएको कम्युनिष्ट पार्टीहरुको एकता नेपालको इतिहासमा एक ऐतिहासिक मोड भएको बताए । यसअघि पनि कम्युनिष्ट एकता भएर असफल भएको स्मरण गर्दै उनले अहिले भएको एकता प्राकृतिक भएकोले असफल नहुने दाबी गरे ।
बस्नेतले भने, ‘कम्युनिष्ट आन्दोलनमा जहिलेपनि खराब प्रवृत्तिको विरोधमा रहँदै आएका नेता तथा राजनीतिक शक्तिहरु एक ठाउँमा आएका छौँ । महत्वपूर्ण कालखण्डमा सहकार्य गरेका नेताज्यूहरु हामीसँग हुनुहुन्छ । त्यसकारण यो एकता प्राकृतिक हो । यो एकता असफल हुँदैन ।’ उनले अहिले देशका जल्दाबल्दा समस्याहरुबाट निकास दिन एकता गरिएको बताउँदै त्यही सन्देश लिएर जनतामाझ जान नेता कार्यकर्ताहरुसँग आग्रह गरे ।
पार्टीका बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने केन्द्रीय सदस्यहरुले पनि पार्टी एकताले अहिलेको अलमलको अवस्थाबाट निकास दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा पार्टी प्रवेश गरेका केही युवाहरुलाई सहसंयोजक नेपालले स्वागत गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्