राजापुर गोलीकाण्डः लुम्बिनीका पूर्वमुख्यमन्त्री चौधरीका भाइ पेस्तोलसहित पक्राउ



कोहलपुर ।

बर्दियाको राजापुर नगरपालिका–४ राजापुर गाउँमा भएको घटनाका मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन् । मंसिर २१ गते राजापुर गाउँमा रहेको हमार थारू घर एण्ड रेस्टुरेन्टमा दाङ तुलसीपुर उपमहानगरपालिका– ५ का अन्दाजी २८ वर्षीय निरज चौधरीलाई गोली हानी हत्या गरिएको थियो ।

सो घटनाका मुख्य आरोपी रेस्टुुरेन्टका सञ्चालक दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन् । घटनालगत्तै फरार रहेका चौधरीलाई बिहीबार बिहान ३ बजे जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले कैलारी गाउँपालिका–२ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् । उनी केही वर्षदेखि बर्दियाको राजापुरमा व्यवसाय गर्दै आएका थिए । हत्या गरिएका निरज नेपाली काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहेका चौधरीको स्वामित्वमा रहेको जग्गामा सञ्चालित पोल्टी फर्म रेखदेखका लागि राजापुर लगिएका थिए ।

महावीर र निरजबीच आर्थिक लेनदेन विवाद रहेको बर्दिया प्रहरीले जनाएको छ । महावीरले अमेरिका पठाइदिने भन्दै निरजसँग पैसा लिएका थिए । अमेरिकाको ग्रीन कार्ड होल्डर महावीरले अमेरिका पठाउन नसकेपछि निरजले पैसा मागेको र सोही विवादमा महावीरले गोली प्रहार गरेर हत्या गरेको बर्दिया प्रहरीले जनाएको छ । निरजको कन्चटमा गोली लागेको थियो ।

उनको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । हत्या भएको दिन बिहान पनि निरजले महावीरसँग पैसा मागेका थिए । उनलाई गोली हानेर महावीर मोटरसाइकल चढेर फरार भएका थिए । प्रहरीले महावीरसँगै मोटरसाइकल र पेस्तोलसमेत बरामद गरेको छ ।
उनलाई कैलाली प्रहरीसँगको समन्वयमा बर्दिया ल्याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए । उनका अनुसार महावीरले निरजसँग अमेरिका पठाइदिने भन्दै पैसा लिएका थिए ।

पैसा नदिएपछि उनीहरुबीच विवाद भएको थियो । विवादका बीच महावीरले गोली हानेर हत्या गरिदिए । घटनामा सहयोगी भूमिका खेलेको आरोपमा बर्दिया प्रहरीले महावीरकी साली रामकुमारी थारु उनका ५० वर्षीय श्रीमान् बुद्धि थारू र छोरा २२ वर्षीय राहुल थारूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

हमार थारू घर एण्ड रेस्टुरेन्ट रामकुमारीको नाममा रहेको छ । रेस्टुरेन्टमा महावीरको लगानी रहेको अनुसन्धानबाट खुलेको छ । निरजका बुवा रामबुझाउना थारूले मंगलबार नै किटानी जाहेरी दिएका थिए । निरजका बुवाआमा भारतमा काम गर्छन् । छोराको हत्या भएपछि उनीहरू नेपाल आएर प्रहरीमा किटानी जाहेरी दिएका थिए । पोस्टमर्टमपछि मंगलबार नै शव बुझेर उनीहरूले निरजको अन्त्येष्टि गरिसकेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार