गत वर्ष रु २४ करोड ५० लाखभन्दा बढीको सुन्तला उत्पादन भएकोमा यसपटक उत्पादन ३२ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपाने जानकारी दिए । जिल्लामा यस वर्ष रु २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको थियो ।

तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटमा उत्पादित सुन्तला बजार लैजान व्यवस्थापन गर्दै किसान । तस्बिरः कृष्ण न्यौपाने/रासस
जनार्दन घिमिरे । गुल्मी ।
जिल्लामा यस वर्ष रु २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यसपटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो । गत वर्ष रु २४ करोड ५० लाखभन्दा बढीको सुन्तला उत्पादन भएकोमा यसपटक उत्पादन ३२ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपाने जानकारी दिए । जिल्लामा यस वर्ष रु २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषकले यसपटक अपेक्षा गरेअनुसार सुन्तला उत्पादन नभएको बताएका छन् ।सुन्तलाखेतीबाट यहाँका कतिपय कृषकले वार्षिक रु पाँच लाखभन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेका छन् । जिल्लामा उत्पादित सुन्तलामध्ये यसपटक रु दश करोड मूल्य बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात हुने कार्यालयले जनाएको छ । गुल्मीबाट गत वर्ष रु १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएकोे थियो ।
सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरूले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग÷किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मलखाद तथा सिँचाइ नहुनुु, समयमा सुन्तलाको बोट काँटछाँट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले बताए । यहाँका कृषकहरूले परम्परागतरूपमा सुन्तलाखेती गर्दैै आएका छन् । परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फँेद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपलधाराका कृषक शिवलाल खनालले बताए ।
सुन्तला बगैँचामा समयमै मलखादको व्यवस्थापन र सूक्ष्म तत्वको प्रयोग गर्ने हो भने उत्पादनमा वृद्धि हुने उनको भनाइ छ । जिल्लामा अधिकांश कृषकहरूले सुन्तला बगैँचामा बिजु बिरुवाहरू रहेका छन् । यहाँका सुन्तला बगैँचाहरूमा ९५ प्रतिशतभन्दा धेरै बिजु बिरुवाका बोट छन् । कलमी बोटहरूले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवाको प्रयोग गर्दै आएका हुन्।
जिल्लामा सुन्तलाको कूल ८८५ हेक्टर क्षेत्रफलमध्ये हाल ६१५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गर्दछ । व्यावसायिक रूपमा भने सुन्तलाखेती गर्ने कृषकको सङ्ख्या त्यति धेरै छैन । जिल्लाका ९३ वडामध्ये ३६ वडामा सुन्तला जातका फलफूल जोन कार्यक्रम लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कृषि इन्जिनियर विष्णुप्रसाद पोख्रेलले बताए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा तथा सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खले लगायतका ठाउँमा चक्लाबन्दी गरी व्यावसायिक सुन्तलाखेती सुरु गरिएको छ ।
गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुने भएका कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुँदै आएको छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाबाट व्यापारी घरमै पुगेर सुन्तलाको बगँैचा खरिद गर्ने गर्दछन् । अहिले बजारमा गुल्मीको सुन्तलाको थोक मूल्य रु ४० देखि खुद्रा मूल्य रु १०० सम्म रहेको छ । सुन्तला जात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ ।
कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रममार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ ।
सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँट लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले बताए । जिल्लामा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मीदरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने सुन्तलाको मुख्य पकेट क्षेत्रको रूपमा रहेका छन् ।
बेनीकोटमा सुन्तला ढुवानीमा समस्या
व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो । सुनकोटका रूपमा परिचित बेनिकोटबाट अहिले दिनहुँ पाँच गाडी सुन्तला जिल्लाबाट बाहिरिने गरेको स्थानीय कृषक लेखबहादुर थापाले बताए । जोखिमपूर्ण बाटो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने खतरा उत्तिकै रहेको उनको भनाइ छ ।
उनले भने, ‘यहाँ सुन्तलाका बोट नभएका घर छैनन् । एक घरमा कम्तीमा २० बोटदेखि बढीमा आठ सय बोटसम्म लगाएर व्यवसायिकरूपमा खेती गर्दै आएका छन् ।’ यतिबेला सुन्तला किनबेचका लागि गाउँमा ठेकेदार पुगेर खरिद गरी गाडीमार्फत काठमाण्डौँ, चितवन, पोखरासम्म ढुवानी गरिरहेका थापाले बताए । मंसिरको पहिलो सातासम्म किसान धान भित्र्याउन व्यस्था भएकाले यतिबेला करोडौँको सुन्तला बिक्री व्यस्त देखिन थालेका छन् ।
कृषक फलबहादुर थापाले सबैभन्दा बढी रु १६ लाख ५० हजारको सुन्तला बेचेको बताए । उनी सोही वडास्थित सिद्धबेनी माविका पूर्वशिक्षक पनि हुन्। स्थानीय तारा थापाले यस वर्ष रु तीन लाख ८० हजार र कालबहादुर रानाले रु चार लाखको सुन्तला बेचेको जानकारी दिए । सुन्तला खरिद गर्न ठेकेदार गाउँमा पुग्ने गरेकाले केही सहज भएको उनीहरूको भनाइ छ । ‘सुन्तलाको मोलमोलाइ गरेपछि बोट किन्ने प्रचलन छ । मूल्य कायम भएपछि सम्बन्धित ठेकेदारले फल टिप्ने र ढुवानी गरेर लैजाने हुँदा बिक्रीमा सहज भएको छ,’ ताराले भने ।
स्थानीय कृषक मनसिंह थापाले रु दुई लाख १० हजारको सुन्तला बेचेका छन् । सुन्तलाखेती गर्न थालेपछि बारीमा बर्सेनि बिरुवा विस्तार गर्न थालेको उनले बताए । दिनबहादुर थापाले रु तीन लाखको सुन्तला बेचे । घरमा फल खरिद गर्ने व्यापारी आउने भएकाले बिक्री तथा ढुवानीको समस्या नभएको उनको भनाइ छ । ‘सडक असहज हुँदा खरिदकर्ताले गुनासो गर्ने गरेका छन्,’ उनले भने, ‘सडकका कारण खरिदकर्ताले ढुवानीमा कठिनाइ भोग्नु परेको छ ।’
यसवर्ष यहाँका अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको कोटगाउँका दिपक थापाले बताए । उनले भने, ‘पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको छु ।’ बेनीकोटका स्थानीयले यस वर्ष रु दुई करोड बढी सुन्तलाबाट आम्दानी गरेका छन् । सुन्तलाखेतीको रूपमा परिचित यो स्थान सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा पर्दछ ।









प्रतिक्रिया दिनुहोस्