‘फागुन २१ मै निष्पक्ष र भयरहित निर्वाचन हुन्छ’



कैलाली ।

गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै समयमा निष्पक्षरूपमा निर्वाचन हुने दाबी गरेका छन् । कैलालीको धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फागुन २१ गते नै निर्वाचन हुने दाबी गरेका हुन् । ‘यो सरकारको मुख्य जिम्मेवारी सुशासन कायम गर्ने र निर्वाचन गर्ने हो, म्यान्डेट पनि चुनावकै पाएका छौँ,’ गृहमन्त्री अर्यालले भने, ‘निष्पक्ष, भयरहित र शान्तिपूर्ण चुनाव तोकिएकै समयमा हुन्छ ।’

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण निर्माण गर्न सरकारका सबै संयन्त्र परिचालन भएको बताए । राजनीतिक दललाई पनि निर्वाधरूपमा चुनावी गतिविधि गर्ने वातावरण बनाउन वर्तमान सरकार सक्रिय भएको मन्त्री अर्यालको दाबी थियो । ‘यो साझा सरकार हो, हामी कसैलाई पनि विभेद गर्दैनौँ,’ अर्यालले भने, ‘कुनै पनि दलको चुनावी गतिविधिमा अवरोध हुँदैन ।’ उनले बाहिर रहेका लुटिएका हतियार र फरार कैदीबन्दी फिर्ता ल्याएर छोड्ने प्रतिबद्धता जनाए ।

‘लुटिएका हतियार धेरै ठूलो सङ्ख्यामा फिर्ता ल्याइसेका छौँ,’ गृहमन्त्री अर्यालले भने, ‘केही अझै बाहिर छन् । त्यो पनि जफत गर्ने कुरा तीव्ररूपमा अघि बढिरहेको छ । जेजति हतियार र कैदीबन्दी बाहिर छन् फिर्ता ल्याउन विशेषरूपमा अप्रेसन चलाउँछौँ र चलाइरहेका पनि छौँ । फरार कैदीबन्दी र बाहिर रहेका हतियारका कारण निर्वाचन नै बिथोलिने तहको अवस्था अहिले छैन ।’

लुटिएकामध्ये सात सय २७ थान हतियार फिर्ता ल्याइसकेको जानकारी दिँदै उनले जोखिमयुक्त हतियार अब कम मात्रामा बाहिर रहेको बताए । त्यस्तै, चार हजार पाँच सय ५२ कैदीबन्दी फिर्ता हुन बाँकी रहेको र तीमध्ये गम्भीर प्रकृतिका कर्तव्य ज्यान, ज्यान मार्ने, अंगभंग कसुरका कैदीबन्दीको सङ्ख्या कम रहेको गृहमन्त्री अर्यालले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा पूर्णरूपमा प्रतिबद्ध रहेको बताए । उनले संघीय सरकारसँग सहकार्य गर्दै काम गर्न प्रदेश सरकार सधैँ तत्पर रहेको स्पष्ट पारे । मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधन–स्रोत सम्पन्न तथा मनोबल उच्च बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउनेतर्फ सरकार लाग्नु पर्नेमा जोड दिए ।

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुनेछ भन्ने विश्वास व्यक्त गरे । भदौ २३ र २४ गतेका आन्दोलनका विषयमा बोल्दै शाहले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको उल्लेख गरे । भ्रष्टाचारविरुद्ध कानुन ल्याउँदा सोही दलका व्यक्तिहरू बढी समय कस्टडीमा बस्नुपरेको उदाहरण दिँदै उनले भ्रष्टाचार हुने क्षेत्र पहिचान गरी कडाइका साथ सुधार प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए ।

साथै उनले २०४६ र २०६३ पछि मुलुकमा भएका धेरै सकारात्मक परिवर्तन भएको र नकारात्मक पक्ष मात्र टिप्पणी गर्नु अनुचित रहेको उल्लेख गर्दै उपलब्धिपूर्ण कामहरूको पनि मूल्यांकन गर्न सबै सरोकारवालालाई आग्रह गरे । मुख्यमन्त्री शाहले मुलुकलाई चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नु पर्ने बताए ।

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भयरहित निर्वाचनको वातावरण बन्न नसकेको बताए । ‘पार्टीका गतिविधिमा अवरोध भइरहेको छ,’ मन्त्री सार्कीले भने, ‘गृह मन्त्रालयले राजनीति दलहरूसँग संवाद गर्न आवश्यक छ ।’ सुरक्षा गोष्ठीमा उद्घाटन सत्र सकिएसँगै बन्द सत्र सुरु भएको थियो । दोस्रो सत्रको सुरुवातमा जिल्लागत प्रदेशगत सुरक्षा चुनौतीबारे प्रस्तुतीकरण भएको थियो । गृह मन्त्रालयका तर्फबाट सुरक्षा तथा समन्वय महाशाखा प्रमुखले प्रस्तुती गरेका थिए ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिलामन्त्री सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालको मन्तव्यपछि गृहसचिव दंगालले कार्यक्रम समापन गरेका थिए । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सुरक्षाको वस्तुगत अवस्था, समस्या तथा चुनौतीहरू, अपराध नियन्त्रण, सीमा सुरक्षाबारे छलफल भएको बताइएको छ ।

गोष्ठीमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे पनि छलफल भएको थियो । गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार