कोहलपुर (बाँके) ।
बाँकेमा एक युवक आफ्नी पूर्वपत्नी आफूसँगै बसेको अवस्थामा मरेको र आफूले जंगलमा लिएर राखेको खबर लिएर प्रहरीकोमा पुगेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर २ पितमारीका १९ वर्षीय नारायण परियार उक्त खबर लिएर इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेका हुन् । घटना यही मंसिर १२ गते हो । परियार आफूसँगै बसेको अवस्थामा पूर्वपत्नीको मृत्यु भएको भन्दै कोहलपुर प्रहरीकोमा पुगेका थिए।
प्रहरीलाई परियारले आफूहरूसँगै भएको बेला मृत्यु भएपछि जंगलमा लिएर राखेको बताए । त्यस्तो अनौठो खबर सुनेपछि प्रहरी नै आश्चर्यमा परे । त्यसपछि उनीहरूले परियारसँग घटनाबारे विस्तृत जानकारी लिए । तत्काल प्रहरी लगत्तै घटनास्थल पुग्यो । त्यहाँ पुग्दा परियारले भनेकी एक २१ वर्षीया युवती जंगलमा मृत अवस्थामा भेटिइन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक रामनारायण गुप्ताका अनुसार त्यसरी मृत अवस्थामा फेला पर्ने खजुरा गाउँपालिका–६ सिमलघारीकी २१ वर्षीया देविसरा खत्री हुन् ।
मृतक खत्री बैजनाथ–१ स्थित गाभर नजिकैको देउराली सामुदायिक वनको जंगलमा बोरा र झारपातले ढाकेको अवस्थामा भेटिएको गुप्ताले बताए । उनका अनुसार मृतक खत्रीको टाउको, दाइने आँखा र निधारमा चोट देखिएको थियो । प्रहरी निरीक्षक गुप्ता भन्छन्, ‘१२ गते दिउँसो एउटा युवक आश्चर्यजनक खबर लिएर आए । बुझ्दै जाँदा घटना साँचो रहेछ । उनी अहिले प्रहरी हिरासतमा छन् । घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’
हाल प्रहरी हिरासतमा रहेका परियारले प्रहरीलाई बताएअनुसार मृतक खत्री र परियारको अन्तरजातीय विवाह भएको थियो । केही समयअघि आफूहरूको सम्बन्धविच्छेद भएको परियारले बताएका छन् । ‘सम्बन्धविच्छेद भएपनि भेट भइरहन्थ्यो । पटकपटक भेट्ने गरेका थियौँ । पछिल्लोपटक हामीसँगै भएको बेलामा दुःखद घटना भयो’ परियारले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा भनेको कुरा उद्धृत गर्दै प्रहरी निरीक्षक गुप्ता भन्छन् ।
प्रहरीका अनुसार खत्री र परियार मंसिर ९ गते राति मिनी गाभरस्थित एक होमस्टेमा सँगै बसेका थिए । भेट भएपछि परियारले बियर मगाए । दुवैजनाले बियर खाए । नसा लागेपछि परियार निदाए, पछि उठ्दा ती महिला मृत अवस्थामा देखेको परियारको भनाइ छ । राति एक्कासी खत्रीको मृत्यु भएको देखेपछि आफू डराएको परियारले प्रहरीलाई बताएका छन् । ‘हाम्रो त्यस्तो कुनै झगडा, रिस केही पनि थिएन ।
सामान्यरूपमा सधैँ भेट हुन्थ्यौँ । मरेपछि डर लाग्यो । जंगलमा लगेर राखेँ । आफूले कुनै अपराध नगरेकाले यहाँ आएँ,’ प्रहरीसँग परियारले भनेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार खत्रीले आफूले हत्या गरेको भने अस्वीकार गरेका छन् । गुप्ताले परियारले प्रहरीसँग आफूसँगै बसेकी देविसराले लागूऔषधसमेत सेवन गरेको बताएको मिसन टुडेलाई जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मृतक खत्री नियमित सेवनकर्ता रहेको देखिएको समेत उनले बताए ।
१२ गते मृत अवस्थामा भेटिएकी खत्रीको शव परियारले बुझिसकेका छन् । १३ गते नै पीडितका तर्फबाट मृतककी आमाले किटारी जाहेरी दिएको कोहलपुर प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी कुरा खुल्दै जाने उनले बताए। प्रहरी हिरासतमा रहेको परियारमाथि अदालतबाट पाँच दिनको म्याद भएर आएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्