बाँकेमा एमाले प्रतिनिधि छनौट विवादमा



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने एमालेको ११औँ महाधिवेशनका लागि बाँकेबाट १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ । बाँकेमा रहेका ३ संघीय निर्वाचन क्षेत्रबाट विभिन्न कलस्टरबाट प्रतिनिधि छनौट गरिएको छ । नेकपा एमाले बाँकेको निर्वाचन समिति खुला, महिला, दलित र युवा कलस्टरबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको छ ।

जसअन्तर्गत खुलातर्फ ३ क्षेत्रबाट २÷२ जनागरी ६ जना प्रतिनिधि छनौट गरिएको छ । क्षेत्र नम्बर १ बाट खुलातर्फ बलराम भट्टराई र कुश्माखर बस्याल छनौट भएका छन् । भट्टराई नेकपा एमाले बाँकेका सचिव र बस्याल निर्वाचन क्षेत्र १ का संयोजक हुन् । यस्तै क्षेत्र नम्बर २ बाट निरक गुरुङ र हलिम शाह छनौट भएका हुन् । प्रतिनिधि छनौट भएका गुरुङ नेकपा एमाले बाँकेका अध्यक्ष हुन् । क्षेत्र नम्बर ३ बाट खुलातर्फ रत्न खत्री र मानबहादुर रुचाल ठकुरी छनौट भएका छन् ।

खत्री लुम्बिनी प्रदेशसभा सदस्य तथा जिल्ला उपाध्यक्ष छन् भने रुचाल बैजनाथ गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
यसैगरी महिलातर्फ तीनवटै निर्वाचन क्षेत्रबाट ५ जना महिला छनौट भएका छन् । क्षेत्र नम्बर १ बाट बसन्ती अधिकारी र सुधा चौधरी छनौट भएका छन् । नेकपा एमाले कोहलपुरकी पूर्वअध्यक्षसमेत रहेकी अधिकारी लुम्बिनी प्रदेशसभा सदस्य हुन् । क्षेत्र नम्बर २ बाट हिरा खराल महिला कलस्टरबाट प्रतिनिधि छनौट भएकी छन् ।

क्षेत्र नम्बर ३ बाट एकमाया विक र भूमिसरा धिताललाई प्रतिनिधिमा छनौट गरिएको छ । विक खजुरा गाउँपालिका र धिताल जानकी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । यस्तै ४० वर्षमुनिका युवा कलस्टतर्फ क्षेत्र नम्बर १ बाट खेमराज शर्मा, २ नम्बरबाट मोहित शाह र क्षेत्र नम्बर ३ बाट बिमल मल्ल चयन भएका छन् । शर्मा युवा संघ नेपालका पूर्वसचिव तथा बाँके जिल्ला कमिटी सचिवालय सदस्य हुन् भने शाह नेपालगन्जका नगर अध्यक्ष हुन् ।

मल्ल बाँके एमालेका विद्यार्थी इन्चार्ज हुन् । तीन कार्यकाल बाँके एमालेका जिल्ला सदस्य रहिसकेका उनी अनेरास्ववियुका पूर्वसचिवालय सदस्य हुन् । यस्तै निर्वाचन क्षेत्रबाहेक बाँकेबाट पार्टीको आयोजक समिति, विभिन्न आयोगमा प्रतिनिधित्व गर्ने थप १० जना महाधिवेशन प्रतिनिधिका रूपमा स्वतः छनौट भएका छन् । त्यसरी प्रतिनिधि छनौट हुनेमा नेकपा एमालेका साविक केन्द्रीय सदस्य शान्ति ढकाल, सूर्य ढकाल, हारुन हलवाई र दीपा शर्मा छन् ।

केन्द्रीय अनुशासन आयोगका सदस्य तथा संविधानसभा सदस्य देवराज भार, लेखा आयोगको सदस्य रहेकी विजया धिताल र किसान महासंघको प्रतिनिधित्व गर्दै निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य आरती पौडेल, मंगला जैसी र डोलनाथ खनाल रहेका छन् । दलित कलस्टरबाट संविधानसभा सदस्य दलबहादुर सुनारलाई छनौट गरिएको छ ।

निर्वाचनको माग गर्दै केन्द्रमा उजुरी

जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि छनौट भएको घोषणापछि बाँकेमा विवाद देखिएको छ । क्षेत्र नम्बर २ मा संगठन विभागको निर्देशन र पार्टीको सर्कुलरविपरीत एकलौटीरूपमा मनोमानी ढंगले प्रतिनिधि छनौट गरिएको भन्दै उजुरी परेको हो । क्षेत्र नम्बर २ मा दुई दर्जनबढी नेता कार्यकर्ता प्रतिनिधिका लागि आकांक्षी थिए ।

तर, पार्टी कमिटीले लोकतान्त्रिक प्रक्रियालाई लत्याएर एकलौटीरूपमा नाम सिफारिस गरिएको भन्दै विरोध भएको हो । क्षेत्र नम्बर २ मा पार्टी विधान र सर्कुलर, संगठन विभागका निर्देशन तथा आकांक्षीहरूको मागअनुसार लोकतान्त्रिक प्रक्रियाबाट प्रतिनिधि छनौटको माग गर्दै संगठन विभाग र प्रदेश कमिटीमा लिखित उजुरी परेको छ । असन्तुष्ट पक्षका १६ जनाले लिखितरूपमा विधि र प्रक्रियामार्फत पुनः प्रतिनिधि छनौट हुनुपर्ने मागसहित उजुरी दिएका हुन् ।

असन्तुष्ट पक्षका नेता तथा नेकपा एमाले नेपालगन्ज नगरकमिटीका पूर्वअध्यक्ष दत्तप्रसाद आचार्यले क्षेत्र नम्बर २ मा कुनैपनि प्रक्रिया र रित नपु¥याएर अनधिकृतरूपमा प्रतिनिधि छनौट र सार्वजनिक गरिएको भन्दै विरोध जनाएका छन् । उनका अनुसार ११औँ राष्ट्रिय महाधिवेशनका लागि पार्टी केन्द्रको प्रतिनिधि छनौट कार्यविधिको पूर्णरूपमा उल्लंघन गर्दै बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा कुनैपनि निर्वाचन प्रक्रिया प्रारम्भ नगरी मनोमानीरूपले प्रतिनिधि छनोट गरिएको छ ।

उनले भने, ‘सार्वभौम संगठित सदस्यहरूको चुन्न र चुनिन पाउने अधिकारलाई जबरजस्ती खोसिएको छ । आ–आफ्ना नजिकका मानिसहरूको नामलाई सर्वसम्मत भनी विधिविपरीत घोषणा गरिएको छ, यस्तो अवैध कार्यको घोर भत्र्सना गर्दछु ।’ यस्तै नेता अशोक कर्माचार्यले समेत सर्वसहमतिको नाममा केही नेताले आफ्नो स्वार्थ पूरा गर्नको लागि पार्टीका नेता कार्यकर्ताहरूको मानमर्दन गरिएको आरोप लगाएका छन् ।

यसैगरी नेकपा एमाले बाँकेका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले लोकतान्त्रिक विधि प्रक्रियामा भन्दा बाहिर गएर पार्टी एकताबद्ध र सबल हुन नसक्ने बताएका छन् । ‘लोकतान्त्रिक प्रक्रियामार्फत प्रतिनिधि छनौट गर्नुपर्ने नियमको बर्खिलापमा एकलौटी निर्णय गरिएको छ । चुनाव हुनुपर्ने भन्दै माग गर्दासमेत अटेरी गरिएको छ,’ उनी भन्छन् । प्रतिनिधि दाबेदार ऐनबहादुर हमाल भन्छन्, ‘पार्टी संगठनलाई कमजोर बनाउने गरी निश्चित गुटले एकलौटी गर्न खोजेको छ । निर्वाचन प्रक्रिया प्रारम्भ नै नगरी सार्वभौम संगठित सदस्यहरूको चुन्न र चुनिन पाउने अधिकारलाई जबर्जस्ती खोसिएको छ ।’

‘छनौट नहुनेले विरोध गरे, सर्वसहमति भएको छ’

नेकपा एमाले बाँकेले प्रतिनिधि छनौट प्रक्रिया सर्वसहमतिमा टुंगिएको दाबी गरेको छ । पार्टी केन्द्रको निर्देशन र सम्पूर्ण क्षेत्रका प्रतिनिधिहरूको सहमतिमा तीनवटै निर्वाचन क्षेत्रमा सर्वसम्मतरूपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको दाबी छ । नेकपा एमालेका साविक केन्द्रीय सदस्य सूर्य ढकालले प्रतिनिधि छनौटका विधिअनुसार तीनवटै क्षेत्रबाट अन्य जिल्लालाई समेत राम्रो सन्देश दिनेगरी प्रतिनिधि छनौट गरिएको बताए ।

उनका अनुसार प्रतिनिधि छनौटपूर्व गरिने सम्पूर्ण विधि प्रक्रिया पूरा गरेरै प्रतिनिधि छनौट गरिएको हो । ‘केन्द्रीय, प्रदेश, सचिवालय र क्षेत्रीय कमिटीले सर्वसहमतीबाट जाने भने । पार्टीको अहिलेको आवश्यकतालाई मध्यनजर गर्दे सबैको भावनाअनुरुप निर्णय भएको छ । सम्बन्धित व्यक्तिको योग्यता र भूमिकाको आधारमा छनौट गरिएको छ,’ ढकालले भने ।

दुई नम्बर क्षेत्रमा प्रतिनिधिमा आकांक्षा राख्नु भएका र छनौट हुन नसकेकाहरूले विरोध गरेको भन्दै आमरूपमा बाँकेमा कुनै विवाद नभएको उनले स्पष्ट पारे । यसैगरी नेकपा एमाले बाँकेका उपाध्यक्ष रत्नबहादुर खत्रीले पनि निर्वाचन क्षेत्र मातहतका सम्पूर्ण कमिटी, प्रतिनिधि र नेता कार्यकर्ताहरूको आमसहमतिमा प्रतिनिधि छनौट गर्न सफल भएको बताए ।

उनका अनुसार त्यसरी सर्वसहमतिबाट छनौट भएकाहरूको सूची केन्द्रमा पठाइएको छ । उनले भने, ‘दुई नम्बरमा साथीहरूले विरोध गर्नुभएको छ । धेरैको आकांक्षा थियो । सबै अट्न सक्ने अवस्था भएन । उजरी हाल्नुभएको सुनेको छु । सम्बन्धित पक्षले के भन्छ, सोहीअनुसार काम हुन्छ ।’

‘जिल्लामै विवाद मिलाउन भनेको छु’

राधाकृष्ण कँडेल
अध्यक्ष, नेकपा एमाले, लुम्बिनी प्रदेश
लुम्बिनीका केही जिल्लामा सर्वसहमत भयो । केही जिल्लामा चुनाव भयो । केही जिल्लामा विवादसमेत भएको छ । बाँके जिल्लाको क्षेत्र नम्बर २ मा विवाद भएको बुझिएको छ । प्रदेश कमिटीमा लिखित उजुरी आएको छ । विवाद समाधानको लागि प्रयास गरिरहेका छौँ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १५ गते सोमबार