शिवु खनाल । दाङ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)संसदको दुई तिहाई भन्दा जनता शक्तिशाली हुने टिप्पणी गरेका छन् । शनिबार दाङको लमहीमा आयोजित पार्टीको एकता तथा सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताले चाहे भने छिनभरमै दुई तिहाईको सरकार ढल्ने स्मरण गराउँदै जनता नै शक्तिशाली हुने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चुनाव जित्नु मात्रै ठूलो कुरा नभएको र जनता खुसी हुनुपर्ने भदौ २३ र २४ को जेनजी आन्दोलनले देखाइदिएको बताए ।
‘मैले पहिल्यैदेखि पनि भन्दै आइरहेको थिएँ । अहिले पनि भनिरहेको छु । जनताको सामु चुनावबाट प्राप्त दुई तिहाइ पनि काम लागेन । जनताको मन नजितेर सुखै छैन,’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले भने । उनले तत्कालिन सरकार र प्रधानमन्त्री ओलीको हठ र जनतालाई हेपेका कारण सरकारबाट बाहिरिनु परेको बताए । सो अवसरमा प्रचण्डले जनताले हेलिकप्टरबाट लुकेर ज्यान बचाउनुपर्ने अवस्था आउँदासमेत ओली नसुध्रिएको बताए ।
आफूले नेपालमा बामपन्थी धुवीकरण चाहेको र सोही अनुसार पार्टीहरू एकताको पहल गरेको उनको भनाइ थियो । विभिन्न पार्टीहरूको एकता चुनाव जित्नको लागि मात्रै नभएको उनले बताए । प्रचण्डले ढिलो चाँडो सबै कम्युनिस्ट पार्टीमा रहेकाहरू नेपाली कम्युनिस्ट पार्टीमा जोडिने विश्वास व्यक्त गरेका थिए । एकता तथा सन्देश सभालाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनबाट पार्टी देशको पहिलो पार्टी बन्ने ठोकुवा गरे ।
उनका अनुसार पछिल्लोपटक भएको जेनजी आन्दोलनमा राजनीतिमा व्यापक रुपान्तरणको माग गरेको छ । जेनजी आन्दोलनको माग अनुसार नै नेपालका कम्युनिस्ट पार्टीहरूबीचमा धु्रवीकरण सुरु गरिएको उनले बताए । अब नेपाली कम्युनिस्ट पार्टीलाई उत्पादनसँग जोडेर लैजानेसमेत बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘पार्टीलाई उत्पादनमा लगेर जानुपर्ने सुझाव पनि आएको छ । जनताको वास्तविक समस्यालाई नियालिरहेको रहेको छौँ । त्यही आधारमा रहेर पार्टीलाई उत्पादमा केन्द्रित गर्छौँ ।’
कार्यक्रममा पूर्वगृहमन्त्री वामदेव गौतमले सबै राजनीतिक दलहरू विगतबाट पाठ सिकेर सच्चिएर अघि बढ्नुपर्ने तर्क गरेका थिए । उनले अबको देशको मुख्य राजनीतिक शक्ति नेकपा नै भएको दाबी गरे । यस्तै पूर्वगृहमन्त्री भीम रावलले नेपालको राष्ट्रियताको रक्षाको लागि पार्टीले मुख्य एजेण्डा बनाउने बताए । सोही अवसरमा बोल्दै नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशको एकता सन्देश सभाले पार्टीको उपस्थिती हिजो र आजको मूल्यांकन गर्न सहज हुने विश्वास व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्