चन्दननाथ नगरपालिका–१ का कालो न्यौपानेले भने, ‘बाजे बज्यैको पालामा गाइने झोडा, मागल, धारु, रत्याउली, छैटी, बालोलगायत गीत लोप अहिले सुनिन छाडेका छन् । विगतमा वनपाखामा गुञ्जिने देउडा गीत, ठाडी भाका, सवालजवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएका छन् ।’
रामप्रकाश विक । जुम्ला ।
जिल्लाको परम्परागत संस्कृति समाजको प्रतिविम्बका रूपमा रहेको छ । जसले समाजका हरेक पाटा पक्षका बारेमा बोल्ने गरेको छ । त्यसैले समाजको एक अभिन्न अंगका रूपमा संस्कृति इतिहास बनेको छ । पुर्खाहरूको पौरख, रीतिरिवाज र चालचलनको पर्याय ठानिने जुम्ली संस्कृति पछिल्लो समयमा आधुनिकताको बढोत्तरिसँगै परम्परागत भेषभुुषा हराउन थालेको छ । जिल्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँका गङ्गाराम गिरीले आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गरे ।
‘पुरानो पुस्ता सकिँदै जानु र नयाँ पुस्तामा परम्परागत संस्कृति हस्तान्तरण हुुन नसक्दा समस्या भएको छ,’ उनले भने, ‘सहरकेन्द्रित आधुनिक संस्कृति एकपछि अर्को गर्दै ग्रामीण समाजमा पनि प्रवेश गरेको छ भने यहाँको पहिरनमा पनि आधुनिकता झल्कन थालेको छ ।’ उनका अनुसार जुम्लामा गाइने झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, ढाल नाच, बालो चम्फा नाच संकटमा पर्ने अवस्थामा छन् । मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएको उनी बताउँछन् ।
‘कर्णाली खस सभ्यताको केन्द्रसँगै भाषाको उद्गमस्थल पनि हो । तर कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै जाँदा यहाँको अस्तित्व संकटमा पर्न थालेको हो,’ संस्कृतविद् रमानन्द आचार्यले भने, ‘पुरानो पुस्ताले युवापुस्तामा संस्कृति हस्तान्तरण गर्न सक्दैनन्, नयाँ पुस्ताले पुरानो संस्कृति सजिलैसित ग्रहण गर्न मान्दैन् । यी दुई पुस्ताको आन्तरिक वैमनस्यले गर्दा परम्परागत संस्कृति धरापमा परेको छ ।’
जिल्लाको पातारासी गाउँपालिकाकी लग्नमाया बोहोराले पश्चिमेली संस्कृति र सहरी क्षेत्रको पहिरनले जिल्लाको पुख्र्यौैली संस्कृति र पहिरन ओझेलमा परेको बताइन् । ‘पछिल्लो पुस्ता शरीरभरी ढाक्ने लुगा लगाउँदैनन् । विदेशी संस्कृतिको महिमा गाउँछन् । आफ्नो संस्कृतिप्रति घृणा गर्छन्,’ उनले भनिन्, ‘त्यसको परिणाम अहिले यहाँको संस्कार र संस्कृति लोप हुने अवस्थामा पुगेको छ । त्यसैले संस्कृति र सभ्यता संकटमा पर्दा पुर्खाहरूको चिनो धरापमा पर्ने देखिन्छ ।’
पछिल्लो पुस्ताका युुवाहरू बजारमा निस्केका आधुनिक गीत संगीतमा रमाउनेदेखि लोकसंस्कृतिप्रति वास्ता नगर्नेसम्मको चलन रहेको संस्कृतविद्हरू बताउँछन् । चन्दननाथ नगरपालिका–१ का कालो न्यौपानेले भने, ‘बाजे बज्यैको पालामा गाइने झोडा, मागल, धारु, रत्याउली, छैटी, बालोलगायत गीत लोप अहिले सुनिन छाडेका छन् । विगतमा वनपाखामा गुञ्जिने देउडा गीत, ठाडी भाका, सवालजवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएका छन् ।’
उनका अनुसार जिल्लामा विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजा लगायतमा गाइने गीत लोप हुँदैछन् । ‘दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुनिन्छ । दशक अघिसम्म १०–१५ जना महिला आपसमा सवालजवाफ गर्दै गीतमा रमाउने गर्थे,’ उनले भने, ‘तर अहिले जुम्लाका गाउँबस्तीमा महिलाले लगाउने गुन्युचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको छ । घरमै उत्पादित ठेटुवाबाट बनेका दौरासुरुवाल पुरुष लगाउँथे र महिलाले धोतीचोलोसमेत ठेटुवाकै हुन्थ्यो, त्यो चलन पनि हरायो ।’
पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् । बढ्दो आधुनिकीकरण र बाजा संरक्षण अभावका कारण पञ्चेबाजा संकटमा परेको गाउँका धामीझाँक्रीहरू बताउँछन् । हिजोआज गाउँमा विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको छ भने विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन् । पछिल्लो समय सुन र चाँदीका विभिन्न गहनासमेत गाउँघरमा देखिन छाडेका छन् । गाउँबस्तीमा ६० वर्ष कटेका वृद्धवृद्धाले समेत बिरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन् ।
‘खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, साङ्ला, मुगामाला, डोरी, ढुंग्री, कालो, पहेँलो, सेतो पोते, कपुर्ने मालालगायत पुराना गहना गाउँमा लगाउन छाडेको वर्षौँ बित्यो,’ पातारासी–४ की सम्झना बोहोरा भनिन्, ‘संस्कृतिसँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुड्डे नाच लोप हुने अवस्थामा छ । मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको हो ।’
उनका अनुसार एक दशकअघि मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पञ्चेबाजा खुुबै घन्किथे । तर, हिजोआज गाउँमा विवाह भएनभएको बारेमा थाहा पाउन एक हप्ता समय लाग्छ । पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भइ रत्यौली खेल्ने, मागल चुट्कीला गाउने परम्परा थियो भने जन्तीलाई पानी खन्याउने चलन पख्र्यात थियो ।
बिहेको पछिल्लो दिन दौरा लगाएर हातमा डमरुजस्तै देखिने हुड्को समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला)हरूका कथा भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने प्रचलन जुुम्लामा थियो । तर आजभोलि पछिल्लो पुस्तालाई हुड्कोबारे केही थाहा छैन भने पुराना संस्कृति संरक्षण गर्नेप्रति सरोकारवालाको ध्यान जान सकेको छैन् ।









प्रतिक्रिया दिनुहोस्