‘प्रहरी हुँ’ भन्दै हतकडी लगाएर चोरी गर्ने चार जना पक्राउ



काठमाडौँ ।

प्रहरीको परिचय दिएर हत्कडी लगाई नगद तथा अन्य सामान लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । लुटपाटमा संलग्न सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौंको टोखा नगरपालिका निवासी ३८ वर्षीय सविन खवास, पर्साकाे ठोरी गाउँपालिका–४ घर भई हाल काठमाडौंको गौरीघाट बस्ने ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भई काठमाडौंकाे वनस्थली बस्ने ४६ वर्षीय शेरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेकाे छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।  प्रहरी उपरीक्षक भट्टराईका अनुसार शेरबहादुर मोक्तान बस्दै आएको वनस्थीस्थित कोठामा उनका साथी जग्गा खरिदसम्बन्धी कामका लागि पुगेका थिए । त्यसक्रममा करिब पाँचदेखि छ जनाको समूह त्यहाँ पुगेर आफूहरू प्रहरी भएको परिचय दिएको थियो ।

उक्त समूहले उनीहरूलाई हत्कडी लगाई साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा बैंकका चेकहरू लुटेर फरार भएको प्रहरीको भनाइ छ ।घटनाको अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि लुटपाट सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुमार्फत थप अनुसन्धान भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार