नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले कार्यालय प्रयोजनका लागि सवारी साधन भाडामा लिने भएको छ । केही सवारी साधनहरू भदौ २४ गते आगजनी गरेर नष्ट गरिएपछि दैनिक कामकाजमै समस्या आइरहेको दाबी गर्दै एउटा सवारी साधन भाडामा लिने प्रक्रिया अन्तिम चरणमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।
तत्काल बजेट व्यवस्था भई नयाँ सवारी साधन खरिद गर्नसक्ने अवस्था नभएकोले सवारी एउटा स्कोरपियो लिन लागिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले जानकारी दिए । उनका अनुसार अहिले एउटा पुरानो गाडी मर्मत गरी सञ्चालनमा ल्याइरहेकोमा उक्त गाडी धेरै बिग्रने समस्या आएको बताए । ‘सकेसम्म पुरानै गाडीबाट काम चलाऔँ भन्ने प्रयास गरेको हो । तर, त्यो गाडी बिग्रेर धेरै दुःख दिन थालेपछि हाललाई कार्यालयको कामको प्रयोजनमा प्रयोग गर्नेगरी स्कोरपियो भाडामा लिन लागिएको हो,’ शर्माले मिसन टुडेसँग भने ।
सवारी साधन भाडामा लिनका लागि पहिलोपल्ट १५ दिनका लागि समय दिएर प्रस्ताव आह्वान गरिएकोमा कसैले पनि प्रस्ताव पेश नगरेपछि कात्तिक २१ गते पुनः ७ दिनको म्यादसहित अर्काे सूचना जारी गरिएको थियो । उक्त सूचनापछि दुईवटा प्रस्ताव पेश भएको र ती प्रस्तावमाथि निर्णय हुन बाँकी रहेको शर्माले जानकारी दिए । सूचनाअनुसार मासिक अधिकतम एक लाख ३० हजार रूपैयाँ भाडा लिनेगरी प्रस्ताव माग गरिएको छ ।
जसअनुसार चालू आर्थिक वर्षभित्र १० लाख ४० हजार रूपैयाँ उक्त साधनको भाडामा मात्रै खर्च हुनेछ । यसअघि असोज ३० गतेको कार्यपालिका बैठकले अधिकतम पाँच लाखको सीमाभित्र रही ७ सिटे एक थान स्कोरपियो भाडामा लिने निर्णय गरेको थियो । जेनजी आन्दोलपछि बनेको सरकाको अर्थ मन्त्रालयले असोज ७ गते गरेको खर्च कटौतिको निर्णयअनुसार नयाँ सवारी खरिद नगरी उपलब्ध सवारी सधानबाटै व्यवस्थापन गर्ने उल्लेख छ ।
२३ गतेको जेनजी प्रदर्शनका लागि संयोजनकारी भूमिका खेलेका सौरभ शाह कार्यालयको कामको प्रयोजनका लागि एउटा सवारी साधन आवश्यक रहेपनि उक्त सवारी साधन पदाधिकारीले प्रयोग गर्न नहुने बताए । उनले भने, ‘नेताहरू त जनताको सेवाका लागि गएको हो । सुविधा भोगका लागि होइन । गाडी भाडामा लिएर जनप्रतिनिधिले प्रयोग गर्ने हो भने त्यो सही हुँदैन ।’









प्रतिक्रिया दिनुहोस्