कोहलपुर (बाँके) ।
इलाका प्रशासन कार्यालय कोहलपुरमा टोकन प्रणाली लागू गरिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूलाई सेवा दिन सहज होस् भन्ने उद्देश्यले टोकन प्रणाली लागू गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै कार्यालयमा टोकन प्रणाली लागू गरिएको जनाएको छ ।कार्यालय प्रमुख अन्तिम सिंजालीका अनुसार सेवाग्राहीलाई छिटो छरितो र सहज सेवा प्रवाहका लागि टोकन प्रणाली लागू गरिएको हो ।
कार्यालयमा सेवा लिने सेवाग्राहीहरूको अत्यधिक चाप भएका कारण सेवामा सहजताका लागि टोकन प्रणाली लागू गरिएको कार्यालय प्रमुख सिंजालीको भनाइ छ । उनले इलाका प्रशासन कार्यालय कोहलपुरबाट जारी हुने नयाँ नागरिकता तथा प्रतिलिपि नागरिकताको सेवामा सेवाग्राहीको अत्यधिक चापका कारण यस्तो प्रणाली लागू गरिएको बताइन् ।
कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘टोकनअनुसार आ–आफ्नो पालोमा सेवा प्रवाह हुने व्यहोरा जानकारी गराइन्छ ।’ टोकनको लागि बिहान १० बजेदेखि नाम टिपाउन सकिनेछ । यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले पनि विद्युतीय टोकन प्रणाली लागू गरिसकेको छ ।
जिल्ला प्रशासनमा सबैभन्दा बढी सेवाग्राहीको चाप हुने नागरिकता र प्रतिलिपि शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखामा टोकन प्रणाली लागू गरिएको हो । पछिल्लो समय सेवाग्राहीको बढी चाप हुने गरेको राष्ट्रिय परिचयपत्र बनाउने कामका लागि सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै सम्पूर्ण सेवा एउटै भवनबाट सुरु गरिएको छ । यसै सन्दर्भमा इलाका प्रशासन कार्यालय कोहलपुरले समेत टोकन प्रणाली लागू गरेको हो ।









प्रतिक्रिया दिनुहोस्