उपभोक्तालाई आयआर्जनमा जोड्दै सामुदायिक वन



शिवु खनाल । दाङ ।

दाङको अजम्मरी सामुदायिक वनले उपभोक्ता सदस्यहरूलाई सीपमूलक तालिम सिकाउँदै आएको छ । पछिल्लो समय सामुदायिक वनले उपभोक्तालाई वन संरक्षण ज्ञानसँगै आयआर्जनमा जाड्न थालेको छ । स्थानीय स्रोतसाधनको प्रयोग गरी स्वरोजगार र महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ डि.जि.याम. नेपाल तथा डब्लु.आर.आर.एन.को आर्थिक सहयोग तथा अजम्मरी सामुदायिक वनको आयोजनामा बाँसबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी एकमहिने तालिमको आयोजना गरिएको हो ।

बुधबार लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गरेका हुन् । बाँसबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गरी उपभोक्तालाई स्वरोजगार बनाउने उद्देश्यले सीप सिकाउन थालिएको छ । सीप सिकेपछि महिलाले बनाउने सामग्री वडाले बजारीकरण गर्ने सुबेदीले प्रतिबद्धता जनाए । उनले लमही नगरपालिकासँग समन्वय गरि नौवटै वडामा तयार भएका सामग्री संकलन गरेर बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुबेदीले उपभोक्तालाई प्राथमिकतामा राखेर सीपमूलक तालिम सञ्चालन गरिएकोप्रति खुसी व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित सामुदायिक वनले बाँसबाट बनाइने विभिन्न सामाग्रीहरू उत्पादनका लागि जनशक्ति उत्पादन गरिरहेको छ,’ उनले भने, ‘यसले एकातिर आयआर्जनमा टेवा पु¥याउनेछ भने अर्कोतर्फ हाम्रा उत्पादनहरू स्वदेश तथा विदेश निर्यात हुँदा नगरपालिकाको पहिचान हुने विश्वास गरेका छौँ ।’

सीपले गाउँघरमा खेर गएका बाँसबाट विभिन्न सामाग्री बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने आशा जागेको स्थानीय शेरबहादुर चौधरीको भनाइ छ । उत्पादन गरिएका सामान बिक्रीवितरण गर्न सकिए पारिश्रमिक राम्रो पाइने हुनाले आफूले सीप सिकिरहेको उनले बताए ।जसअन्तर्गत अहिले स्थानस्य उपभोक्ताले लमहीमा रहेको जैविक विविधता ग्रीनपार्क क्षेत्रभित्र बाँसबाट विभिन्न सामाग्रीहरू उत्पादन गर्न सुरु गरिरहेका छन् ।

सैद्धान्तिक ज्ञान (सिप)लाई व्यवहारमा रुपान्तरण गरेर उपभोक्तालाई उत्पादनमा जोड्न सामुदायिक वनमा बाँस हस्तकला उद्यम कार्यक्रम सञ्चालन गरिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले बताए । उनले उपभोक्तालाई बाँसबाट उत्दापन हुने सामाग्रीबारे जानकारी दिने र उनीहरूलाई श्रमसँग जोडेर व्यावसायिक बनाउका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताए ।

उनले भने, ‘पछिल्लो समय सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानलाई पनि सँगै अगाडी बढाउने उद्देश्यले वनले उद्यमसँग उपभोक्तालाई जोडिएको छ । बढ्दो वैदेशिक रोजगारीलाई रोक्दै उद्यमबाट उत्पादन बढाउने र रोजगारीको सिर्जना गर्न उपभोक्तालाई अहिलेबाटै उद्यममा प्रोत्साहन गरिएको हो ।’ रिजालले हाल १५ महिला र पुरुष र सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ हेक्वा अर्जुनखोलाबाट ५ जना गरि २० जनाले बाँसबाट विभिन्न हस्तकलाका सामग्री बनाउने सीप सिकिरहेको बताए ।

‘यहीँको स्रोत साधनको उपयोगबाट उद्यम चलाउने योजना छ,’ उनले भने, ‘यसबाट वनका उपभोक्ता सदस्य उद्यमी तयार हुनुहुन्छ ।’ स्थानीय आवश्यकता र सम्भावना पहिचान गरेर उद्यम विकासमा सामुदायिक वनले सघाउने उनको भनाइ छ । उनका अनुसार सामुदायिक वनले उपभोक्ताहरूको वास्तविक तथ्याङ्कमार्फत उपभोक्ताको समस्या पहिचान गरेर समाधानका उपाय खोजिरहेको छ । यस समूहले स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ ।

जनशक्तिलाई उत्पादनसँग जोडेर आफ्ना उपभोक्तालाई रोजगारीसँग जोड्ने लक्ष्यका साथ उक्त कार्यक्रम अघि बढाइएको हो । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए । वन समूहले आफ्ना उपभोक्ता सदस्यहरूलाई आत्मनिर्भर बनाउन हस्तकला सीप सिकाउने योजना अगाडी सारेको उनको भनाइ छ । चालू आवमा उद्यममा लाग्न इच्छुक समूह र संस्थालाई ज्ञान, सीप, प्रविधि र उपकरण विभिन्न उद्यम कार्यक्रमहरू सञ्चालन गर्दै आएको सामुदायिक वनले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २७ गते बिहीबार