कृषि तथा पशुजन्यको समस्या र समाधानबारे छलफल



खजुरा (बाँके) ।

प्रदेश सरकार, स्थानीय तह तथा निजी क्षेत्रसँगको सहकार्यमा बाली वस्तु विशेष अनुसन्धान तथा प्रविधि परियोजनाको प्रारम्भिक बैठक मंगलबार बाँकेको खजुरामा गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय खजुरा बाँकेको आयोजनामा भएको प्रारम्भिक बैठकमा कृषि तथा पशुजन्य क्षेत्रको मुख्य समस्या र समाधानकाबारेमा चर्चा गरिएको थियो ।

आवश्यकताहरूको सूचीकृत गरी प्राथमिकीकरण गर्ने, सूचीकृत समस्याहरूको समाधानका उपलब्ध प्रविधिहरू र प्रसार पद्दति छनोट गर्ने, समस्याको समाधानका लागि तालिम र स्थान निर्धारण गर्ने, प्रविधि प्रदर्शनीको स्थान छनोट गर्ने, किसान समूह र तालिमको विषयवस्तु निर्धारण गर्ने उद्देश्य राखिएको उक्त परियोजनामा उल्लेख गरिएको कृषि अनुसन्धान निर्देशनालयका सूचना अधिकारी हेमा पौडेलले जानकारी दिइन् । लुम्बिनी प्रदेशमा किसानलाई जानकारी दिन नवीनतम् जातहरूको प्रदर्शनी र उत्पादनलाई मुख्य ध्यान दिन आग्रह गरिएको थियो ।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक डा. सकील अहमदको अध्यक्षतामा भएको प्रारम्भिक बैठकमा बोल्दै नेपाल कृषि अनुसन्धान परिषद् योजना महाशाखा प्रमुख टेकप्रसाद गोतामेले कृषिको अनुसन्धान, विकास र प्रवद्र्धन गर्न सबैको सहअस्तित्व हुन पर्नेमा जोड दिए । योजना महाशाखा प्रमुख गोतामेले कृषिमा काम गर्ने सरोकारवालाहरूले नै एक आपसमा सहअस्तित्व कायम गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उनले किसानलाई मुख्य भागमा राखेर योजना बनाई काम गर्न निर्देशन दिए । नयाँ प्रविधिको विकास गरी नयाँ किसान माझ पुग्न पर्नेमा जोड दिए । महाशाखा प्रमुख गोतामेले नयाँ योजना बनाउँदा थप बजेट बढाएर काम गर्न सकिने भएकाले अहिले पुरानै बजेटले कार्यक्रम सम्पन्न गर्न र उपलब्धि हासिल गर्न अनुरोध गरे ।

कृषि विकास निर्देशनालय बुटवलका कृषि प्रसार निर्देशक रामप्रसाद पाण्डेले निर्धारण गरिएका कार्यक्रमलाई प्रभावकारी बनाउन पूर्णरूपमा काम गर्न जरुरी रहेको बताए । योजना बनाउँदा नै राम्रो बनाए आधा काम सफल भएको मानिने भएकाले योजनाको विषयमा ध्यान दिन अनुरोध गरे । बेमौसमी खेतीलाई प्रवद्र्धन गर्नुपर्ने उपस्थित किसानहरूले माग गरेका थिए । कृषि उत्पादन भन्दा लगानी अधिक लाग्ने हुँदा किसानहरूलाई हौसला दिन जरुरी रहेको कृषि प्राविधिकहरूले बताएका थिए ।

धान गहुँमा सिफारिस गरिएका जातहरू पनि किसान माझमा पुग्न नसकेको गुनासो पोखे । थोरै जात सिफारिस गर्ने तर त्यसको प्रचार राम्रो गर्न सकेको खण्डमा किसान माझमा सहजै पुग्न सक्ने उपस्थित प्राविधिकहरूले बताएका थिए । भारतीय बीउसँग प्रतिस्पर्धा गर्न परेको कारण चुनौती थपिएको सहकारीका व्यवस्थापकले बताए । किसान घट्ने क्रममा रहेको भन्दै उनीहरूले दुखेसो पोखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार