रूख कटानको अनुमती नपाउँदा प्रसारण लाइनको काममा ढिलाई



नन्दराम जैशी । सुर्खेत ।

सुर्खेत–दैलेख १३२ केभी विद्युत प्रसारण लाइन विस्तारका लागि रूख कटानको अनुमती नआउदाँ आयोजनाको काममा ढिलाई भइरहेको छ। अझै रूख कटानको अनुमती नआउँदा आयोजनाको कामले दुई वर्षसम्म पनि गति लिन नसकेको हो । सुर्खेतको सुब्बाकुना सवस्टेशनबाट सुरु भई दैलेखको चुप्रा गएर टुङ्गिने यो प्रसारण लाइन विस्तारको काम हालसम्म ४० प्रतिशत सम्पन्न भएको छ । तर रूख कटानको कानुनी अल्झनका कारण आयोजनाले गति लिन सकेको छैन ।

३२ किलोमिटर लम्बाई रहने प्रसारण लाइनमा १०२ वटा एङ्गल टावर निर्माण गर्नुपर्ने छ । २०८० मा निर्माण व्यवसायी सिग्मा काठमाडौँसँग सम्झौताभई काम अघि बढेपनि काम सुस्त गतिमा भइरहेको छ । सम्झौता अनुसार कूल ८० करोड लागत रहेको आयोजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकामा विस्तार गर्न लागिएको हो । आयोजना प्रमुख रविकुमार चौधरीले सुर्खेत–दैलेख खण्डमा साना ठूला गरी झण्डै १९ हजार बढी रूख कटान गर्नुपर्ने बताए ।

उनका अनुसार रूख कटानको फाइल संघीय वन तथा वातावरण मन्त्रालयमा पेश गरिएपनि हालसम्म अनुमति प्राप्त भएको छैन । हालसम्म सुर्खेतको धुलियाविटमा एक र दैलेखको गुराँस गाउँपालिकाको घोडावास क्षेत्रमा तीन गरी चार वटा एंगल टावर निर्माण सम्पन्न भएको उनले बताए । ‘रूख कटानको अल्झन नसुल्झिएपछि अहिले जंगल क्षेत्र छोडेर अन्य स्थानमा ५० प्रतिशत टावरका फाउण्डेशन तयार गरिएको छ’ चौधरीले भने, ‘दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, चुप्रामा बन्ने सवस्टेसन निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ, तर सम्झौता मितिमा रूख कटानको अनुमती प्राप्त नभएपछि आयोजनालाई एक वर्ष समय थप लाग्ने देखिन्छ ।’

लामो समयदेखि रूख कटानको कानुनी अल्झन व्यहोरेको कोहलपुर–सुर्खेत १३२ केभीको समस्या अब सुर्खेत–दैलेख खण्डमा सरेको छ । ७० करोड लागतको कोहलपुर–सुर्खेत प्रसारण आयोजना निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार २०७६ मा सम्झौताभई काम अघि बढेको थियो । तर प्रसारण लाइन विस्तार हुने क्षेत्रका रूख कटान गर्न बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज लामो समयदेखि बाधक बन्दै आएका थिए ।

२०७८ मै सम्पन्न भइसक्नुपर्ने आयोजनाले सबै खाले कानुनी र स्थानीयस्तरका विवादबाट उन्मुक्ति पाएको छ । आयोजनाका अनुसार आगामी मंसिर मसान्तभित्र सुर्खेतको सुब्बाकुना सवस्टेशनमा चार्ज गर्ने अन्तिम तयारी छ । कर्णाली प्रदेशमा ठूलो क्षमताको विद्युत बोक्नसक्ने प्रसारण लाइन निर्माण थालिएको यो पहिलो पटक हो । कर्णालीबाहेक अन्य प्रदेशमा ५० कै दशकमा यस्ता प्रसारण आयोजना विस्तार भइसकेका छन् ।
पहिलो खण्ड अन्तर्गत कोहलपुर–सुर्खेत प्रसारण लाइनबाट सुब्बाकुना सवस्टेशनमा झारिने बिजुली दोस्रो खण्ड सुर्खेत–दैलेख प्रसारण लाइनमा जोडिने छ ।

सुर्खेत–दैलेख प्रसारण लाइन अन्तर्गत दैलेखमा निर्माण हुने सवस्टेशनबाट पुनः कालीकोट र जुम्लासम्म प्रसारण लाइन विस्तार हुनेछ । जसमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–१, बेलघारी स्थित सवस्टेसनबाट सुरु भई सोही जिल्लाको नारायण नगरपालिका, नौमुले गाउँपालिका हुँदै कालीकोट पु¥याइने छ । यस्तै कालीकोटको तिलागुफा नगरपालिका महावै गाउँपालिका हुँदै जुम्ला पु¥याइने छ । जुम्लाको हिमा, तातोपानी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिका वडा नम्वर ९ स्थित बयलकटियामा बन्ने सवस्टेसनमा गएर आयोजना टुङ्गिनेछ ।

कूल ८२ दशमलव १४ किलोमिटर लामो रहने डबल सर्किटसहितको प्रसारण लाइन निर्माण गरिनेछ । जसमा २७९ वटा टावरहरू निर्माण गरिने छ । यस आयोजना अन्तर्गत दैलेख–कालिकोट र जुम्ला जिल्लामा १३२÷३३÷११ केभी सवस्टेसनहरू निर्माण हुने जनाइएको छ । आयोजना निर्माणको लागि कूल १५० दशमलव ३३ हेक्टर जमिन आवश्यक पर्ने विद्युत् विकास विभागले जनाएको छ । जसमध्ये २७९ टावरहरूका लागि स्थायी रूपमा करिब १२ दशमलव चार हेक्टर जग्गा आवश्यक पर्नेछ ।

यस बाहेक विद्युत्मार्गको अधिकार क्षेत्रभित्र राइट अफ वे अन्तर्गत १३२ दशमलव ६९ हेक्टर जग्गा आयोजनालाई आवश्यक पर्नेछ । प्रसारण लाइनको क्षेत्राधिकार विद्युत् नियमावली, २०५० मा तोकिए बमोजिम न्यूनतम दुरीमा नघटाई प्राविधिक दृष्टिकोण बाट १८ मिटर (मध्य बिन्दुबाट नौ÷नौ मिटर दायाँबायाँ) कायम गरिने छ । प्रसारण लाइनको निर्माण कार्य साढे दुई वर्ष भित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार